१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

न्युकासल युनाइटेडको प्रस्ताव इमरेद्वारा अस्वीकार

बीबीसी

लन्डन — प्रशिक्षक उनाइ इमरेले प्रिमियर लिग क्लब न्युकासल युनाइटेडको प्रस्ताव अस्वीकार गर्दै भिल्लारियलमै बस्ने निर्णय गरेका छन् ।

न्युकासल युनाइटेडको प्रस्ताव इमरेद्वारा अस्वीकार

आर्सनलका पूर्वव्यवस्थापक इमरेलाई न्युकासलले मंगलबार स्टिभ ब्रुसको स्थानमा पहिलो रोजाइमा राख्दै नयाँ प्रशिक्षक बन्ने प्रस्ताव राखेको थियो । न्युकासलले एक साताभित्रै स्पेनी प्रशिक्षकलाई पाउने आस गरेको थियो । तर, इमरेको निर्णयपछि न्युकासलले फेरि व्यवस्थापक खोजीलाई निरन्तरता दिनुपर्ने भएको छ । अब उनको विकल्पमा एडी होवे र पाउलो फोन्सेका हुन सक्छन् ।

स्पेनी फुटबल विज्ञ बलागका अनुसार इमरेले क्लबको अनिश्चित रणनीति र कमजोर योजनाका कारण प्रस्तव अस्वीकार गरेका हुन् । इमरेको टिमले निकै दबाबका बाबजुद मंगलबार च्याम्पियन्स लिगको प्रतिस्पर्धामा योङ ब्वाइजलाई २–० ले हराएको थियो । यसअघि टोटेनहमका नयाँ प्रशिक्षक एन्टोनियो कोन्टे, बार्सिलोनाका लिजेन्ड जाभी र जर्मनीका पूर्वव्यवस्थापक जोचिम लोले पनि न्युकासलको प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।

इमरेको नेतृत्वमा गत सिजन भिलारियलले फाइनलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै युरोपा लिग उपाधि जितेको थियो । भिल्लारियल पुग्नुअघि उनले १८ महिना आर्सनल सम्हालेका थिए । आर्सनलले उनलाई नोभेम्बर २०१९ मा बर्खास्त गरेको थियो । उनले सेभियामा सन् २०१३–१६ मा रहँदा लगातार तीनपल्ट युरोपा लिग जितेका थिए । त्यसपछि पेरिस सेन्ट जर्मेन पुगेका उनले त्यहाँ लिग वान र फ्रेन्च कप (२ पल्ट) को उपाधि हात पारेका थिए ।

यो सिजनको ला लिगामा भिल्लारियल ११ खेलमा २ जितमात्रै निकालेर १३ औं स्थानमा छ । तर, योङ ब्वाइजमाथिको जितले च्याम्पियन्स लिगको समूह ‘एफ’ को शीर्षस्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गरेपछि उसलाई उत्साहित बनाउने अपेक्षा गरिएको छ । योसँगै भिल्लारियलले अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ ।

प्रकाशित : कार्तिक १७, २०७८ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?