कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मरियमको जोस

कोर्टमा खाली खुट्टा खेल्दै गर्दा उनलाई सजिलो पटक्कै थिएन
मधु शाही, रुपा गहतराज

बाँके — भलिबल कोर्टमा सबै साथीहरू जर्सी, जुत्ता लगाएर उत्रिइरहेका थिए । नरैनापुर गाउँपालिका–६ जमुनीकी मरियम मुकेरी भने लगाएको फित्तेवाल चप्पल फुकालेपछि खाली खुट्टामै देखिइन् । उनले जर्सी सेट त लगाइन् । घुँडा छोपिने गरी टाउजर पनि लगाएकी थिइन् । अनुहारमा थोरै डर र धेरै लाज बोकेर उनी कोर्टमा भलिबल खेल्न उत्रिइन् ।

मरियमको जोस

मरियम १२ कक्षामा पढ्छिन् । तर उनलाई मैदानमा खेल्ने कुरा त परै जाओस्, खुलेर घुँडा देखाउने लुगा लगाउनमै लाज लाग्छ ।

उनी त्यो भेगमा बस्छिन्, जहाँ बुर्काबिना किशोरीहरू बाहिर निस्कँदैनन् । १६ वर्षीया उनलाई नेपालगन्ज आउन पनि सजिलो थिएन । मुस्लिम समुदायकी मरियम धेरै हिम्मत जुटाएर खेल्न आएकी हुन् । परिवारको मन बुझाएर समाजको कुरा काट्ने बानीको नजरअन्दाज गर्दै उनी मैदानसम्म आएको सुनाउँछिन् ।

जयकिसान माविमा पढ्ने उनी मुस्लिम समुदायबाट खेल्न हिम्मत जुटाउने एक्ली किशोरी हुन् । ९ खेलाडीको टिममा मरियमले मात्र त्यो समुदायको प्रतिनिधित्व गर्छिन् ।

शुक्रबारदेखि पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । मरियमले खेल्ने अवसर पाएको सम्भवतः यो पहिलो खेल थियो । रातो माटोको कोर्टमा खाली खुट्टा भलिबल खेल्दै गर्दा मरियमलाई सजिलो पटक्कै भएको थिएन । तर, दर्शक भने उनको खेलप्रतिको उत्साह देखेर चकित थिए । पालिकाले तीन दिनअघि मात्रै प्रतियोगितामा सहभागी हुने जानकारी दिएको थियो ।

उनले स्कुलमा आक्कलझुक्कल बलको मुख देख्न पाएकी थिइन् । त्यसकै आधारमा उनलाई भित्री मनदेखि भलिबल खेल्न रहर जाग्यो । स्कुलमा पनि उनीहरूलाई खेलप्रति खासै प्रोत्साहन गरिँदैन । मरियम सुनाउँछिन्, ‘खेल्दा जुत्ता लगाउनुपर्छ भन्नेसम्म थाहा थिएन, चप्पल थियो त्यही लगाएर आएँ ।’

यद्यपि पहिलो पटक नेपालगन्ज आएर खेल्न पाउँदामै उनी दंग थिइन् । जिल्ला खेलकुद विकास समिति बाँकेले ग्रामीणस्तरदेखि महिला खेलाडी उत्पादन गर्ने हेतुले पहिलो पटक भलिबल प्रतियोगिता गरेको हो । जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, नरैनापुर, बैजनाथ, राप्तीसोनारी, कोहलपुर, डुडुवा, जानकी र खजुरा गाउँपालिका गरी ८ पालिकास्तरीय प्रतिस्पर्धा गराइएको थियो । पहिलो दिन शुक्रबार महिला खेलाडीको आत्मविश्वास, सिकाइ र मिहिनेत मापन गर्न सकिन्थ्यो ।

सबैभन्दा बढी चासो डुडुवा र नरैनापुर गाउँपालिकाका खेलाडीको थियो । यी दुई गाउँपालिकामा मधेसी र मुस्लिम समुदायको बाहुल्य छ । त्यसमा महिला खेलाडीलाई खेलमैदानसम्म ल्याउनु नै आफैमा चुनौतीपूर्ण कार्य थियो । हिम्मत जुटाएर मैदानमा आएकी नरैनापुरकी लक्ष्मी पाण्डे भन्छिन्, ‘खेल्न मन लाग्छ, खेलाउने कोही छैनन् ।’ लक्ष्मीले भनेजस्तै प्रतियोगिताको पहिलो खेलमा उनीहरू भलिबलको सामान्य नियमसमेत नबुझेर धेरै पटक हैरानी बेहोरे । उनीहरू कोर्टमा बिगार्दै र सिक्दै खेलिरहेका थिए ।

लक्ष्मीले भने तयारी राम्रो नभए पनि खेल्न पाउँदा खुसी भएको सुनाइन् । प्रशिक्षक अनि गुरुहरूले अभिभावकलाई मनाएपछि उनी बल्ल खेल्नलाई नेपालगन्ज आउन पाएकी हुन् । उनीसँगै अभिभावक बनेर हजुरबुबा सँगै आइपुगेका छन् । एकातिर मुस्लिम समुदायमा छोरीलाई खेल्न पठाउने चलन नै छैन । अर्कोतिर गाउँपालिकाले पनि उनीहरूलाई कसरी खेलाडी बनाउने योजना नै ल्याउँदैन ।

स्थानीय युवा अरसद मिकरानीले भने, ‘स्थानीय सरकारले खेलकुदमा लगानी बढाएमा यो समुदायबाट पनि राम्रा खेलाडी उत्पादन गर्न असम्भव छैन ।’ नरैनापुरले बैजनाथसँग पराजित भए पनि राम्रो प्रदर्शन गरेको थियो । ‘दुई दिनको अभ्यासमा टिम तयार गर्न सफल भएका हौं यो हाम्रा लागि सिकाइ पनि हो,’ स्थानीय शिक्षक अरुण यादवले भने, ‘अर्कोपल्ट प्रशिक्षणमै राम्रो लगानी गरेर खेलाडी उत्पादन गर्छौं ।’

प्रतियोगिता संयोजक समितिका उपाध्यक्ष कृष्णा पाठकले विभिन्न सामाजिक संस्कार र संस्कृति बोकेको समाजमा महिला खेलाडी उत्पादन गर्न सजिलो नभएको अनुभव सुनाइन् । पालिकाले खेल प्रवर्द्धनमा रुचि देखाउन थालेपछि नरैनापुरजस्तो विकट पालिकाबाट खेलाडी खेल्न आउनु ठुलै उपलब्धि रहेको उनको दाबी थियो । ‘छोरी खेल्न पठाउने संस्कारको विकास हुन जरुरी छ,’ उनी भन्छिन्, ‘यो कार्यक्रमको उद्देश्य पनि यही हो ।’

जिखेविसकी उपाध्यक्ष पाठक आफै पनि भलिबलकी पूर्वखेलाडी हुन् । नेपालगन्जमा आयोजना हुँदै आएको प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबलका लागि घरेलु टोलीको आवश्यकता खट्किरहेका बेला यस्तो प्रतियोगिताबाट त्यो आवश्यकता छिट्टै पूरा हुने उनले सुनाइन् । आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहले वडातहसम्म लुकेका प्रतिभाको खोजी गरेर बाँकेमा महिला भलिबल टिम तयार गरिने बताए । जिल्लास्तरीय टिम बनाउन क्यालेन्डर नै बनाएर प्रतियोगितालाई निरन्तरता दिने योजना सुनाए ।

विजेतालाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । सान्त्वना स्थानका लागि १० हजार राखिएको छ । पहिलो खेलमा कोहलपुरले राप्तीसोनारीलाई २–१ सेटमा हरायो । बैजनाथले नरैनापुरलाई २–०, खजुराले डुडुवालाई २–० र नेपालगन्जले जानकीलाई पनि २–० को सेटमा हराएका थिए । शनिबार ८ खेल हुनेछ ।

प्रकाशित : कार्तिक १३, २०७८ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?