१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राष्ट्रिय टोलीलाई तरुणको सम्मान

कान्तिपुर संवाददाता

काठमाडौँ — माल्दिभ्समा सम्पन्न साफ फुटबल च्याम्पियनसिप उपविजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाली कांग्रेसको तरुण विभागले नगदसहित सम्मान गरेको छ । दलको ६८ औं स्थापना दिवसका अवसरमा बुधबार कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँड, तरुण विभाग प्रमुख शंकर भण्डारीलगायतले टोलीलाई सम्मान गरेका हुन् ।

राष्ट्रिय टोलीलाई तरुणको सम्मान

राष्ट्रिय टोलीका २३ खेलाडीलाई जनही १० हजार र प्रशिक्षकलगायत १० अफिसियललाई जनही ५ हजारका दरले पुरस्कार दिइएको थियो । कार्यक्रममा कप्तान किरण चेम्जोङ उपत्यकाबाहिर र अन्य केही खेलाडी यू–२३ एसियन कप छनोट खेल्न ताजकिस्तानमा रहेकाले टोलीका सबै खेलाडी उपस्थिति रहेनन् । टोलीका सुजल श्रेष्ठले साफ उपविजेता हैसियतमा गरिएको सम्मानबाट अझै राम्रो प्रदर्शन गर्ने उत्साह मिलेको बताए । उनले खेलाडीलाई क्षणिक सम्मानभन्दा दीर्घकालीन योजना, उचित पूर्वाधार र संरक्षणमा ध्यान दिए त्यो झन ठूलो सम्मान हुने धारणा राखे । उनले ५ महिनाको तयारीपछि यो सफलता हासिल भएको स्मरण गराए ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले सीमित सुविधाबीचमा खेलाडीले ऐतिहासिक सफलता हासिल गरेकोमा गर्व गर्नुपर्ने बताए । ‘हामी प्रतियोगितामा भारतसँग दुईपल्ट हार्‍यौं । यसले हाम्रो टिममा धेरै सुधार गर्नुपर्नेछ भन्ने देखाउँछ,’ गृहमन्त्रीसामु शेर्पाले आवश्यकता औंल्याए, ‘तर हामीसँग फुटबलको पूर्वाधार कमजोर छ । भएको रंगशाला पनि अन्तर्राष्ट्रिय मापदण्ड पुग्दैन । हामीसँग पूर्वाधार नभएर आफ्नो टोलीको खेल भुटानमा गर्नुपर्ने बाध्यात्मक र लाजमर्दो अवस्था भोग्नुपरेको छ ।’

सरकारले सहयोग गरेको खण्डमा नेपालको फुटबल विकास र व्यवसायीकरण सम्भव रहेको उनको दाबी थियो । सरकारको सहयोग वृद्धि भएमा नेपालमा महिला र पुरुषको लिग कम्तीमा ८ महिनासम्म सञ्चालन गर्न सकिने उनको भनाइ थियो । ‘सबैले घरेलु फुटबल लिग छोटो भयो भनेर गुनासो गर्नुहुन्छ । तर आर्थिक रूपमा हामी लामो समयसम्म लिग गर्ने अवस्थामा छैनौं । हामीलाई सरकारबाट ४ करोड आउने गरेको छ । त्यो रकम बढेर १२ करोड भयो भने वर्षको ८ महिना लिग सम्भव छ,’ उनले भने । गृहमन्त्री खाँडले खेलको माध्यमबाट नेपालीलाई खुसी दिन सफल भएकामा राष्ट्रिय फुटबल टोलीलाई धन्यवाद दिए । उनले साफमा च्याम्पियन बनेको खण्डमा सबै खेलाडीलाई राष्ट्रिय पदक दिइनेसमेत घोषणा गरे ।

प्रकाशित : कार्तिक ११, २०७८ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?