आर्मी र फ्रेन्ड्स क्वाटरफाइनलमा
काठमाडौँ — त्रिभुवन आर्मी भेट्रान्स र फ्रेन्ड्स भेट्रानले जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् । दशरथ रंगशालामा जारी प्रतियोगिताअन्तर्गत बुधबार फर्पिङ स्पोर्ट्स क्लबलाई ४–१ ले पराजित गरी आर्मी समूह ‘ए’ को विजेता बन्यो । पहिलो खेलमा आर्मीले फुटबल फेलोसिपलाई ७–१ ले हराएको थियो ।
आर्मीका राजु तामाङले दुई गोल गरे । उनले ११ र ५५ औं मिनेटमा गोल गरे । विकर्ण श्रेष्ठले ४७ औं र त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षकसमेत रहेका नवीन न्यौपानेले ५० औं मिनेटमा गोल गरेका थिए । फर्पिङका नीरज श्रेष्ठले इन्ज्युरी समयमा एक गोल फर्काए ।
आफ्नो पहिलो खेलमा फुटबल फेलोसिपलाई हराए पनि फर्पिङको नकआउट प्रवेशको सम्भावना समाप्त भइसकेको छ ।
समूह ‘बी’ बाट एनआरटीले वीआर ब्रदर्शलाई १–० ले पराजित गर्यो । एनआरटीका नरेन्द्रमान श्रेष्ठले ४७ औं मिनेटमा निर्णायक गोल गरे । खेल जिते पनि एनआरटी क्वाटरफाइनलमा पुग्न असफल भयो । उत्कृष्ट उपविजेताका रूपमा पनि सम्भावना सकिएको छ । यो समूहबाट भनीमण्डल लगातार दुई जितसाथ क्वाटरफाइनल पुगिसकेको छ । वीआर ब्रदर्शले कुनै अंक जोड्न सकेन ।
बौद्ध फुटबललाई ५–० ले पराजित गरी फ्रेन्ड्स भेट्रान्सले समूह ‘सी’ बाट क्वाटरफाइनल स्थान सुरक्षित गरेको छ । क्वाटरफाइनल पुग्न फ्रेन्ड्सलाई बुधबारको खेल ५–० ले नै जित्नुपर्ने थियो । फ्रेन्ड्सका डम्बरविक्रम शाहले २४ र ५० औं मिनेटमा गोल गरे । मनोज लामाले ५४, श्रीराम श्रेष्ठले ६० र तेज थापामरले इन्ज्युरी समयमा गोल गरे । फ्रेन्ड्सले ४ गोल अन्तिम १० मिनेटमा गरेको हो ।
फ्रेन्ड्सले समूहको आफ्नो पहिलो खेलमा सानो गौचरन नाइट किङ क्लब (एसएनकेसी) सँग २–२ को बराबरी खेलेको थियो । एक जित र एक बराबरीपछि समान ४ अंक भए पनि गोलअन्तरका आधारमा फ्रेन्डस् भाग्यमानी बनेको हो । एसएनकेसीले यसअघि बौद्धमाथि ४–० को जित रचेको थियो ।
प्रकाशित : कार्तिक १०, २०७८ २१:४९