२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मुख्य प्रशिक्षक जिम्मेवारीलाई तीन वर्षसम्म निरन्तरता दिन अल्मुताइरी तयार

कान्तिपुर संवाददाता

काठमाडौँ — अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक जिम्मेवारीलाई तीन वर्षसम्म निरन्तता दिन तयार भएको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोसिएसनका अधिकारीहरुसँग छलफलपछि नयाँ सम्झौतामा हस्ताक्षर गर्न तयार बताएका छन् ।

मुख्य प्रशिक्षक जिम्मेवारीलाई तीन वर्षसम्म निरन्तरता दिन अल्मुताइरी तयार

'कर्मा छिरिङ शेर्पा र कतार फुटबल एसोसिएसनका अधिकारीहरुसँगको बैठकपछि अखिल नेपाल फुटबल संघसँग नेपालको जिम्मेवारीलाई तीन वर्ष निरन्तरता दिन नयाँ सम्झौता गर्ने मैले निर्णय गरेको छु र कतार फुटबल एसोसिएसनलाई समर्थन तथा नेपाल फर्किनका लागि गरेको सबै विषयका लागि धन्यावाद छ', अल्मुताइरीले फेसबुकमा लेखेका छन् ।

'नयाँ मिसनको सफलताको कामना गर्न चाहन्छु ... आगामी २ वर्षका लागि लक्ष्य र योजनाहरु आगामी केही दिनमै प्रकाशित गर्ने छु', उनले लेखेका छन्, 'तपाईंहरुसँग मेरो प्रतिबद्धता भनेको नेपालको भविष्य राम्रो हुने छ तर त्यसका लागि समय चाहिन्छ ।'

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । तर प्रतियोगिता सकिएपछि अल्मुताइरी नेपाल फर्किएका थिएनन् ।

नेपाली फुटबलले अहिलेसम्म जति पनि प्रशिक्षक पाएका छन् त्यसमा पढाइका हिसाबमा अल्मुताइरी अब्बल प्रशिक्षक नै हुन् । उनीसँग एएफसीको प्रो लाइसेन्स छ । यो ‘ए’ लाइसेन्स भन्दामाथिको हो । कतारी फुटबल संघको सहयोगमा उनी नेपालमा आएका हुन् । कुवेती प्रशिक्षकको सबैभन्दा राम्रो गुन भनेकै आफ्नो टिम र आफ्ना खेलाडी भनेपछि ज्यानै फाल्नु हो । खेलाडीसँग कुरा गर्ने हो भने उनीहरू अल्मुताइरीको प्रशंसा नै गर्छन् । उनी गत चैत एक वर्षका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

प्रकाशित : कार्तिक १०, २०७८ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?