ट्वान्टी-२० विश्वकप : दक्षिण अफ्रिकाको पहिलो जित

स्टार खेलाडी क्विन्टन डी ककले घुँडाले टेकेर रंगभेदविरुद्धको ऐक्यबद्धता जनाउन अस्वीकार गरे
एएफपी

दुबई — दक्षिण अफ्रिकाले मंगलबार ट्वान्टी–२० विश्वकपमा डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रिकाको यो जित भने उसका स्टार खेलाडी क्विन्टन डी ककले घुँडाले टेकेर ऐक्यबद्धता जनाउन अस्वीकार गर्नुले ओझेलमा परेको छ । 

ट्वान्टी-२० विश्वकप : दक्षिण अफ्रिकाको पहिलो जित

एडेन मारक्रमले ५१ रन बनाएपछि दक्षिण अफ्रिकाले १ सय ४४ रनको लक्ष्य सफलतापूर्वक पछ्याएको थियो । मारक्रमले ४३ रन बनाएका रस्सी भान डेर डुसेनसँग तेस्रो विकेटका लागि ८३ रनको साझेदारी गरे ।

यो नटआउट साझेदारीका कारण दक्षिण अफ्रिका १० बलको खेल बाँकी छँदै सुपर १२ को चरणमा यो जित निकालेको हो । दक्षिण अफ्रिका आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो । दुईपल्टको च्याम्पियन वेस्ट इन्डिजको भने यो लगातार हार हो । क्रिकेट दक्षिण अफ्रिकाले आफ्ना खेलाडीलाई दुबईमा खेलअगाडि रंगभेदविरुद्धको ऐक्यबद्धता जनाउने क्रममा घुँडाले टेकेर प्रदर्शन गर्नु भनेको थियो । तर डी ककले व्यक्तिगत कारण देखाएर त्यसो गर्न अस्वीकार गरेर खेल नै छाडे । उनको स्थानमा टेम्बा बाभुमाले खेले । बाभुमाले ओपनिङमा ब्याटिङ गरेका थिए ।

त्यसअघि वेस्ट इन्डिजका लागि प्रारम्भिक ब्याटर एभिन लेविसले ५६ रन बनाए । टिमले ८ विकेटमा १ सय ४३ रन बनाएको थियो । कमजोर लक्ष्य तयार पारेपछि वेस्ट इन्डिज अर्को ठूलो अन्तरको हार बेहोर्न बाध्य रह्यो । तीन दिनअगाडि इंग्ल्यान्डसँग पनि टिमले ५५ रनमात्र बनाएर यस्तै एकपक्षीय हार आत्मसात गरेको थियो ।

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर ड्वाइन प्रिटोरियस ३ विकेट लिएपछि वेस्ट इन्डिजले खुलेर खेल्न सकेन । लेन्डल सिमोन्सले माथिल्लोक्रममा ३५ बल सामना गरेर १६ रनमात्र बनाए । कप्तान किइरोन पोलार्डले २० बलमा उपयोगी २६ रन जोडे । उनी प्रिटोरियसकै सिकार बने । ह्याट्रिक गर्ने क्रममा रहेका प्रिटोरियसको तेस्रो बलमा ड्वाइने ब्राभोले चौका प्रहार गरे । सुस्त सुरुआतपछि लेविसले कागिसो राबाडा र स्पिनर मारक्रम आक्रामक रूपमा प्रस्तुत भए ।

बायाँहाते ब्याट्सम्यान लेविस यसक्रममा दसौं ट्वान्टी–२०अर्धशतकसम्म पुगे । केशव महाराजको बलमा छक्का प्रहार गरेलगत्तै उनी आउट भए । महाराजले आफ्नो लेफ्टआर्म स्पिन मदतमा निकोलस पूरनलाई १२ रनमा आउट पारे । राबाडाले त्यसपछि सिमोन्सलाई पेभेलियन पठाए । तेस्रोक्रमबाट ओर्लेर चौथोमा ब्याटिङ गरेका क्रिस गेल पनि लामो समय टिकेनन् । उनले १२ रनको कमजोर योगदान दिए ।

जवाफमा दक्षिण अफ्रिकाले बाभुमालाई रनआउटका कारण २ रनमै गुमाएको थियो । तर, रेजा हेन्डरिक्स र भान डेर डुसेनले ५७ रनको साझेदारी गरेर टिमलाई उकासे । हेन्डरिक्स ३९ रन बनाएर अकिल हुसैनको बलमा आउट भए । त्यसपछि भान डेर डुसेन र माक्ररमले दक्षिण अफ्रिकालाई जितसम्म पुर्‍याए । खेल सकेपछि दक्षिण अफ्रिकी क्रिकेट बोर्डले डी ककबारे के निर्णय गर्ने भनेर टिम व्यवस्थापकको प्रतिवेदन पर्खने र त्यसपछि आवश्यक कदम चाल्ने भनेको छ ।

प्रकाशित : कार्तिक १०, २०७८ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?