कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एट्लेटिको र सोसिडाडको बराबरी

एजेन्सी

लन्डन — ‘एल क्लासिको’ मा रियल म्याड्रिडले बार्सिलोनालाई नोउ क्याम्पमा पराजित गरेको दिन ला लिगाको साबिक विजेता एट्लेटिको म्याड्रिडले रियल सोसिडाडसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको छ ।

एट्लेटिको र सोसिडाडको बराबरी

२–० को अग्रता जोगाउन नसकेको सोसिडाड ला लिगाको शीर्षस्थानमा फर्किन भने सफल भयो । २१ अंकसहित शीर्षस्थानको सोसिडाड एक खेल कम खेलेको रियल म्याड्रिडभन्दा १ अंकले अगाडि छ ।

लुइस स्वारेजले घरेलु मैदानमा दुई गोल फर्काएपछि सोसिडाडले अंक बाँड्नुपरेको हो । सन् १९८२ यता पहिलोपल्ट ला लिगाको उपाधि जित्न प्रयासरत सोसिडाडले अलेक्जान्डर इसाकको पासमा अलेक्जान्डर सोर्लोथको गोलमार्फत पहिलो हाफमा अग्रता बनाएको थियो । इसाकले सानदार फ्रिकिक गोलबाट अग्रता दोब्बर पारे ।

तर स्वारेजले ६१ औं मिनेटमा जोआओ फेलिक्सको क्रसमा हेड गोल गरे भने मिकेल मेरिनोले फाउल गरेपछि प्राप्त पेनाल्टीमा गोल गरी ७७ औं मिनेटमा खेल बराबरीमा ल्याए । एट्लेटिको म्याड्रिड ९ खेलबाट १८ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

तेस्रो स्थानको सेभियाले लेभान्टेलाई ५–२ गोलले हराएर शीर्षस्थानको सोसिडाडसँगको दूरी १ अंकमा झारेको छ । बार्सिलोनामाथि २–१ को जित पाएको रियल म्याड्रिडसँग समान २० अंक भए पनि गोलमा सेभिया पछि परेको हो ।

इटाली

युरोपको शीर्ष डिभिजनमा आइतबार राति भएका ‘हाइभोल्टेज’ खेलमध्ये इटालीको सिरी ‘ए’ अन्तर्गत युभेन्ट्स र इन्टर मिलानबीचको खेल पनि एक रह्यो । यो खेलमा वैकल्पिक खेलाडी पाउलो डिबालाले ८९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी टिमको हार जोगाउँदै टिमलाई छैटौं स्थानमा पुर्‍याए ।

इन्टरका डेन्जल डम्फ्राइजले युभेन्ट्सका एलेक्स सान्द्रोलाई बक्सभित्र समाएर लडाएपछि रेफ्रीले मैदान छेउमा रहेको भार मोनिटरमार्फत पेनाल्टीको निर्णय लिएका थिए । रेफ्रीको यो निर्णयबाट रिसाएर अभद्र व्यवहार गरेका इन्टरका प्रशिक्षक सिमोनी इन्जाघीलाई रातो कार्ड देखाइएको थियो ।

डर्बी डी इटालियामा इन्टरका लागि इडेन जेकोले १७ औं मिनेटमा टिमलाई अग्रता दिलाए । हाकान काल्हानोग्लुले बक्सबाहिरबाट गरेको प्रहार बारमा लागेर फर्किएपछि रिबाउन्ड बललाई जेकोले पेनाल्टी एरियाबाट सहज गोल गरेका हुन् ।

नेपोलीले चौथो स्थानको रोमासँग गोलरहित बराबरी खेलेपछि एसी मिलानलाई गोलमा पछि पारेर शीर्षस्थानमा कायम रहन सफल भयो । दुवैको २५–२५ अंक छ । तेस्रो स्थानको इन्टरको १८ अंक छ ।

फ्रान्स

‘एल क्लासिको’ भनेजस्तै फ्रान्सको शीर्ष लिगमा प्रतिष्ठित भिडन्त पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सेबीच हुने गर्छ । आइतबार स्पेनको एल क्लासिकोले फ्रेन्च लिग वानको यो खेललाई छायामा पारेको थियो ।

मार्सेको घरेलु मैदानमा खेलेको सिजनको पहिलो भेट गोलरहित बराबरीमा सकियो । मार्सेका समर्थकको गैरव्यावसायिक हर्कत र भिडियो असिस्टेन्ट रेफ्री (भार) को निर्णयले यसको चर्चा भने बढाइराख्यो ।

दर्शकका कारण दुवै हाफमा खेल केहीबेर रोकिएको थियो । कर्नर प्रहार गर्न लागेका नेयमरमाथि घरेलु समर्थकले पानीको बोतल प्रहार गरेका थिए । दोस्रो हाफमा एक दर्शकले मैदानमै आएर लियोनल मेसीलाई पछाडिबाट अँगालो मारेका थिए । मैदानका सुरक्षाकर्मीले प्लास्टिक सिल्डको सहायताले नेयमरलाई जोगाएर कर्नर प्रहार गर्न लगाइएको थियो ।

भारको प्रयोगमा दुवै टोलीले गरेको एक–एक गोललाई अमान्य घोषित गरिएको थियो । घरेलु खेलाडी सेन्गिज अन्डरमाथि फाउल गरेका पीएसजीका अचरफ हाकिमीलाई रातो कार्ड देखाउन पनि रेफ्रीले भारकै सहायता लिएका थिए ।

नेयमरको क्रसलाई क्लियर गर्ने क्रममा लुआन पेरेजले आफ्नै पोस्टमा गरेको गोल र मार्सेका अर्काडिउज मिलिकले गरेको गोल भारले नै अफसाइड करार गरिदिएको थियो । मेसीको एउटा हेडर बारमा लागेर बाहिरिएको थियो । यो सिजन पीएसजी पुगेका मेसीले लिगमा गोल गर्न सकेका छैनन् । च्याम्पियन्स लिगमा भने तीन गोल गरिसकेका छन् । बराबरीसँगै पीएसजीले लिगको सुरुआती ११ खेलमा अपराजित यात्रा कायम राखेको छ । पीएसजी २८ अंकसहित शीर्षस्थानमा ७ अंकले अगाडि छ ।

प्रकाशित : कार्तिक ९, २०७८ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?