सोल्सायरले रोनाल्डोलाई ‘ड्रप’ गर्लान् ?- खेलकुद - कान्तिपुर समाचार

सोल्सायरले रोनाल्डोलाई ‘ड्रप’ गर्लान् ?

लिभरपुलको हातबाट म्यानचेस्टर युनाइटेडले ५–० को पीडादायी हार बेहोरेपछि थरीथरीका हल्ला चल्न सुरू भएको छ
रोयटर्स

लन्डन — इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेड लिभरपुलको हातबाट ५–० को पीडादायी हार बेहोरेपछि थरीथरीका हल्ला चल्न सुरु भइसकेको छ । त्यसमध्ये एक हो, ओले गनर सोल्सायर म्यानचेस्टरको व्यवस्थापकीय जिम्मेवारीबाट बर्खास्तगीमा पर्नेछन् अनि उनको स्थानका को आउने छन् त ? त्यसबारे पनि विभिन्न अड्कलबाजी सुरु भइसकेको छ । क्लब आफैंबाट भने केही तथ्य बाहिर आएको छैन ।

सोल्सायरले क्लब सम्हालेको तीन वर्ष भइसकेको छ । अब घरेलु लिगमा म्यानचेस्टरले टोटेनहमको भ्रमण गर्नेछ । अनि युरोपेली च्याम्पियन्स लिगमा एटलान्टाको सामना गर्नेछ । त्यसपछि ओल्ड ट्राफोर्डमा आउनेछ म्यानचेस्टर सिटी । त्यसअगाडि यी नर्वेली फुटबल व्यवस्थापकले केही न केही टिममा परिवर्तन ल्याउन आवश्यक हुनेछ । सोल्सायर नेतृत्वमा म्यानचेस्टरले सिटी र पेरिस सेन्ट जर्मेन जस्ता टिममाथि स्वादिला जित हात पारेको छ ।

उनको खास रणनीति ‘काउन्टर’ आक्रमणमा यी जित सम्भव भएका हुन् । फेरि तिनै प्रकारका जित प्राप्तिका लागि प्रयास गर्ने हो भने टिमलाई चाहिनेछ, मार्कस रसफोर्ड, मेसन ग्रिनउड र जाडोन सान्चो । तर, गाह्रो त्यतिबेला हुनेछ, जतिबेला टिमले यही रणनीति अपनाउने प्रयास गर्नेछ । तर टिममा ३६ वर्षीय क्रिस्टियानो रोनाल्डो हुनेछन् अनि रोनाल्डोलाई लिएर समस्या के हो भने उनी पहिला जस्तो तीव्र गतिमा खेल्न सक्ने खेलाडी रहेनन् ।

बरु, उनको स्थानमा एडिसन काभानी उपयुक्त हुन सक्छन् । यो स्थितिमा पोर्चुगाली स्टार रोनाल्डोले ‘सुपर सव’ को भूमिका निभाउन सक्छन् । खेलको अन्त्यतिर रोनाल्डोलाई मैदानमा उतार्ने अनि उनकै तर्फबाट विजयी गोल निकाल्ने । यस्तो स्थितिमा के सोल्सायर आफ्ना स्टार खेलाडीलाई बेञ्चमा राख्न तयार हुन्छन् त ? ठ्याक्कै भन्दा उनी के रोनाल्डोलाई ‘ड्रप’ गर्न सक्छन् त ? दुई महिनाअगाडि मात्र क्लबका आएका रोनाल्डोलाई ‘ड्रप’ गर्नु एउटा उपाय हुन सक्नेछ ।

घरमै हुर्केका खेलाडी चम्केपछि...

जनवरीमा थोमस टचेल स्टानफोर्ड ब्रिज आउँदा डर थियो, कतै घरमै हुर्केका खेलाडीहरूले कम खेल्न पाउने त होइनन् ? ती युवा खेलाडीलाई पहिलो रोजाइको टिममा राख्ने काम भने बर्खास्तगीमा परेका फ्रान्क लाम्पार्डले नै गरेका थिए । टचेलको पहिलो खेलमा मेसन माउन्ट बेञ्चमै रहे । उनको महत्त्व बुझ्न टचेललाई धेरै समय लागेन । चोटबाट मुक्त भएर एक महिनापछि मैदानमा फर्कंदा यिनै मेसन नर्विचविरुद्ध नायक रहे, उनले ह्याट्रिक गरे ।

त्यतिमात्र होइन, चेल्सी एकेडेमीका पुराना खेलाडी हडसन ओडोइ र रिस जेम्सले गोल त गरे नै । ट्रेभोह चालोबाह रक्षापंक्तिमा मजबुत पनि देखिए । पछि रुबेन लोफ्टसले वैकल्पिकका रूपमा मैदानमा छिरेर गोल पनि गरे । टुचेल के मान्छन् भने घरमै हुर्केका प्रतिभाशाली खेलाडी र अन्य क्लबबाट किनिएका राम्रा खेलाडीको ठीक मिश्रण गर्दा त्यसले राम्रो नतिजा नै दिनेछ । यस्तो मिश्रणले टिममा एक प्रकारको उत्साह र सुखद स्थिति पनि ल्याउन गर्छ ।

सेन्ट्रल मिडफिल्डमा फोडेन

सेन्ट्रल मिडफिल्डमा एन्डोराविरुद्ध इंग्ल्यान्डका लागि राम्रो खेलेयता फिल फोडेनले सायद सधैंका लागि त्यही स्थान पाएका छन्, जुन उनका लागि उपयुक्त छ । ब्राइटन एन्ड होभ अल्बानियनमाथि शनिबार प्राप्त ४–१ जितमा उनी म्यान अफ म्याच रहे । यस्तोमा व्यवसथापक पेप ग्वार्डिओलाले पनि अबदेखि उनलाई यही सेन्ट्रल मिडफिल्डको भूमिकामा खेलाउन रूचाउने छन् । सिटीमा यस सिजन उनले अगाडि नै खेलेका छन् र त्यसको नतिजा पनि सुखद छ ।

उनले खेलपछि भनेका छन्, ‘सेन्ट्रल मिडफिल्डमा खेल्दा म अहिले खुबै रमाइरहेको छु । यो भूमिकामा खेल्दा म तल पछाडिसम्म झर्न पनि सक्छु र बललाई आफ्नो नियन्त्रणमा लिएर साथी खेलाडीलाई पास दिन सक्छु । यो मेरो लागि नयाँ भूमिका हो र मैले भन्नैपर्छ, यो भूमिकामा म खुसी छु ।’

एभरटन १३ मिनेटमै ढलेपछि

एभरटनका केही प्रमुख खेलाडी घाइते छन् । तर गुडिसन पार्कमा भएको पछिल्लो खेलमा एभरटन कसरी १३ मिनेटको अन्तरमा नराम्रोसँग पराजित भयो, त्यो व्यवस्थापक राफेल बेनिटेजका लागि पक्कै चिन्ताको विषय हुनेछ ।

खेलको ७८ औं मिनेटसम्म एभरटन २–१ ले अगाडि थियो । त्यही टिम खेल सकिँदा ५–२ ले पराजित रह्यो । त्यस अवधिमा सेट पिसमा दुई गोल भए अनि वाटफोर्डले तीव्र गतिमा आक्रमण पनि गरेको थियो । बेनिटेजले भने, ‘यस्तो हार स्वीकार्य हुन्न ।’

प्रकाशित : कार्तिक ९, २०७८ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्

शिलान्यासको झेल

सम्पादकीय

करिब एक वर्षअघि एकै पटक झन्डै ४ सय अस्पतालको शिलान्यास हुनु आफैंमा उत्साहलाग्दो खबर थियो । विडम्बना भन्नुपर्छ— त्यो उत्साह उदेकमा परिणत हुन धेरै समय लागेन । कतिपय कोणबाट त्यति बेलै आशंका व्यक्त गरिएजस्तै तत्कालीन केपी शर्मा ओली सरकारको अवाञ्छित प्रचारमोहका कारण मात्रै त्यति धेरै अस्पताल एकै पटक शिलान्यास गरिएको अहिले पुष्टि भैसकेको छ । एक वर्ष बित्दा पनि शिलान्यास गरिएका अधिकांश ठाउँमा काम नै सुरु नहुनु यसैको प्रमाण हो । 


यी अस्पतालहरूको निर्माण–आयोजना योजनाबद्ध रूपले बनाएर सबै प्रक्रिया सकिएपछि शिलान्यास गरिएको हुन्थ्यो भने अधिकांश स्थलमा काम सुरु नहुने भन्ने नै हुँदैनथ्यो । आफ्नै पालामा धेरै काम थालिएको प्रचार गर्ने शासकीय मोह झल्किएको यस कार्यमा त्यहीअनुकूल व्यवस्थापकीय ढंग भने कत्ति पनि पुर्‍याएको पाइएन । खालि जनताका आँखामा छारो हाल्न शिलान्यासको प्रपञ्च रचिएकाले अहिले त्यसको यथार्थ उद्घाटित भएको हो । पूर्वप्रधानमन्त्री ओलीले ‘आफ्नो पालामा विश्व रेकर्ड रहने गरी एकैचोटि धेरै अस्पतालको शिलान्यास गरेको’ त अहिले पनि बताउन छाडेका छैनन्, गएको बुधबारै पनि उनले एक कार्यक्रममा दाबी गरे, ‘हामीले एकैचोटि ३९६ वटा अस्पतालको शिलान्यास गरेका छौं, देशैभर । विश्व रेकर्ड हो यो । गिनिज बुकमा यस्ता त कति लेखे हुन्छ–हुन्छ, हामीले त दाबी नगरेर मात्र हो ।’ तर यथार्थ अर्कै छ ।

तथ्यले भने योजनै नबनाई, तयारी नै नगरी एकै पटक धेरै अस्पतालहरू शिलान्यास गर्नेमा चाहिँ ओली सरकारको नाम सुनौलो अक्षरले लेखिने देखाएको छ, जुन मुलुक र नागरिकका निम्ति खुसीको कुरा हुनै सक्दैन । शिलान्यास त त्यति बेला गरिन्छ, जब सबै प्रक्रिया सकिएपछि निर्माण कार्य सुरु गर्नुपर्ने हुन्छ । तर गत वर्ष मंसिर १५ मा एकसाथ ५ देखि १५ बेडसम्मका अस्पताल शिलान्यास गरिएकामा ती भवनहरूले अहिलेसम्म निश्चित आकार लिइसक्नु त परको कुरा, अधिकांश त्यस्ता ठाउँ नै घाँसले पुरिएका छन् । केही स्थानीय तहमा त टेन्डर प्रक्रिया नै बल्ल सुरु भएको छ ।

अवस्था कतिसम्म टीठलाग्दो छ भने, प्रदेश १ मा प्रदेशस्तरीय सरुवा रोग अस्पताल र १४ जिल्लामा ८६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरिएकामा एउटा अस्पतालको पनि जगधरि निर्माण हुन सकेको छैन । कतै जग्गा विवाद, कतै जनप्रतिनिधिबीचको स्वार्थको लडाइँ त कतै आफ्नो मान्छेलाई टेन्डर पार्ने प्रतिस्पर्धाले अस्पताल निर्माण चुनौतीपूर्ण बनेको जनप्रतिनिधिहरूको भनाइ छ । अरू धेरैतिर पनि अवस्था यस्तै छ । कति पालिकामा संघबाट बजेटै पुगेको छैन । बजेट पुगेकामा पनि कुनै न कुनै कारणले काम अघि बढेको छैन । यति हुँदाहुँदै पनि ‘स्वास्थ्य क्रान्ति’ नै भनेर किन एकै पटक शिलान्यासका निम्ति अतिसाह्रो हतार गरिनु अचम्मलाग्दो छ ।

पालिकाहरूमै सुविधासम्पन्न अस्पताल बनाउने सोच आफैंमा सराहनीय थियो/हो । तर यसरी पूर्वतयारीबिनै शिलान्यास गर्दा त्यही सुन्दर सोच नै औचित्यहीनजस्तो बन्न पुगेको छ । यो प्रकरणबाट सरकारले शिलान्यास गर्ने अरू योजनाको विश्वसनीयतामा समेत ह्रास आउने परिस्थिति निर्माण भएको छ । कुनै आयोजनाको शिलान्यास हुनु भनेको काम सुरु भएको प्रमाण नबन्नु र राजनीतिक प्रचारबाजी मात्रै पनि हुन सक्ने दृष्टान्त प्रस्तुत हुनु मुलुकको विकासका निम्ति दुःखद अवस्था हो । नाजायज जस लिन खोज्ने यस किसिमको राजनीतिक धन्दा खेदजनक छ ।

यति बेला सरकारले भएकै अस्पतालहरूलाई जनशक्ति र भौतिक पूर्वाधारले पूर्ण बनाएर गुणस्तरीय सेवा दिने गरी सञ्चालन गर्नुका अतिरिक्त शिलान्यास गरिएका अस्पतालहरूलाई पनि समयमै बनाइसक्न जोड दिनुपर्छ । नयाँ अस्पतालका निम्ति जनशक्तिलगायतका अन्य स्वास्थ्य पूर्वाधारहरूको व्यवस्थापनको गृहकार्य पनि समयमै थाल्नुपर्छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी र पर्याप्त उपकरण अभावमा मुलुकमा विद्यमान सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीले नै स्तरीय सेवा पुर्‍याउन नसकिरहेको तथ्यलाई अहिल्यै स्मरण गर्नुपर्छ । र, नयाँ अस्पताल भवन निर्माण भैसक्दासम्म सञ्चालनका लागि आवश्यक पर्ने सबै तयारी सकिसक्नुपर्छ ।

साथै, यो प्रकरणलाई एउटा पाठका रूपमा लिएर अन्धाधुन्द शिलान्यास–संस्कृतिमै सुधार ल्याउनुपर्छ । निर्माण कार्यको शुभारम्भ मानिने शिलान्यास त्यसै गरिँदैन, गरिनु पनि हुन्न । सम्पूर्ण तयारी सकेर, बजेट आकलन र व्यवस्था गरेर, जग्गा, ठेक्कापट्टा सबै कार्य टुंगो लगाएर मात्रै सार्वजनिक संरचनाहरूको शिलान्यास गरिनुपर्छ । यसलाई निर्माण कार्यको परम्परागत र औपचारिक प्रक्रियागत पक्षको सट्टा राजनीतिक मामिला बनाउने परम्परा तोडिनुपर्छ । किनभने, उल्लिखित प्रकरणले तत्कालीन सरकारको रवाफलाई खोक्रो प्रमाणित मात्र गरेको छैन, राज्यले गर्ने कार्यप्रतिको जनविश्वास घटाउने चिन्ता पनि जन्माएको छ । यसबाट आगामी दिनमा सबै सरकारी निकायहरूले उचित सन्देश ग्रहण गर्न सक्नुपर्छ । शिलान्यास गर्नु भनेको कुनै कीर्तिमान राख्नु होइन, वास्तविक रूपमा काम थाल्नु हो भन्ने मान्यता स्थापित हुनुपर्छ । शासकहरूले ‘बाली न बिरुवा नौ मुरी तोरी’ को आश देखाउन झुटो शिलान्यासको नाटक रच्न छाड्नुपर्छ ।

प्रकाशित : कार्तिक ९, २०७८ ०७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×