बार्सिलोनामा रियल विजयी- खेलकुद - कान्तिपुर समाचार

बार्सिलोनामा रियल विजयी

एएफपी

म्याड्रिड — रियल म्याड्रिडले नयाँ स्वरूपको एल क्लासिकोमा आइतबार बार्सिलोनालाई उसकै घरमा २–१ ले हराएको छ । यो जितपछि रियलले २० अंकसहित शीर्षस्थान कब्जा गरेको छ ।

लिग तालिकामा २० अंकमा रियलसँगै सेभिया र रियल सोसिडाड गरेर तीन टिम रहेका छन् । रियल गोल अन्तरले अगाडि रहेको हो । हारले रोनाल्ड कोम्यानको बार्सिलोना भने आठौं स्थानमा रह्यो । खराब समयबाट गुज्रिरहेको बार्सिलोनाको १५ अंक छ । यसले बार्सिलोनामा कोम्यानको भविष्य पनि धेरै नहुने बलियो संकेत गरेको छ । हारले बार्सिलोना प्रशिक्षक कोम्यानमाथि दबाब अझ बढेको छ र उनी बर्खास्तीमा पर्ने सम्भावना अझ बढेको छ ।

लियोनल मेसी र सर्जियो रामोसबिनाको पहिलो एल क्लासिकोमा रियलका लागि डाविड एलाबाले पहिलो गोल गरे र यो उत्कृष्ट गोल रह्यो । इन्ज्युरी समयमा लुकास भजाक्वेजले दोस्रो गोल थपे । खेलको अन्तिम प्रहारका रूपमा सर्जियो एगुरोले बार्सिलोनाका लागि एक गोल फर्काए । तर त्यति बेलासम्म निकै ढिला भइसकेको थियो ।

यसअघि यस्तै अर्को खेलमा सेभिया लेभान्टेलाई ५–३ पराजित गर्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिन सफल रह्यो । आठ गोलको रोमाञ्चक प्रतिस्पर्धामा प्राप्त जितपछि सेभियाको पनि ९ खेलबाट २० अंक भएको छ । लेभान्टे भने पुछारबाट दोस्रो स्थानमा छ र उसको ५ अंक मात्र भएको छ । सेभियाका तर्फबाट ओलिभर टोरेस, राफा मिर, डिएगो कार्लोस, मुनिर हडाडी र फेर्नान्डोले एक–एक गोल गरे । लेभान्टेका लागि जोसे लुइसले दुई गोल गरे ।

यस्तै एथलेटिको बिलबाओले भिल्लारियललाई २–१ ले हरायो र अंक तालिकाको सातौं स्थानमा उक्लिन सफल रह्यो । बिलबाओको ९ खेलबाट १६ अंक भएको छ । भिल्लारियल भने १३ औं स्थानमा ११ अंकसहित संघर्षरत छ । बिलबाओका लागि इकेर मुनियनले ७७ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे र तीन पूरा अंक दिलाए । राउल गार्सियाले बिलबाओका लागि पहिलो गोल गरेपछि फ्रान्सिस कोक्वेलिनले बराबरी गोल फर्काए ।

प्रकाशित : कार्तिक ८, २०७८ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्

विमल मछिन्द्रबाटै खेल्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — चोटबाट पुनरागमनको तयारीमा रहेका स्ट्राइकर विमल घर्तीमगरले साविक विजेता मछिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने भएका छन् । लिगको नयाँ सिजन कात्तिक २९ गतेदेखि सुरु हुँदै छ ।

करिब १ वर्षदेखि चोटका कारण मैदानबाहिर रहेका विमलले अघिल्लो सिजनको लिग पनि मछिन्द्रबाटै खेलेका थिए । आइतबार आयोजित कार्यक्रममा उनले क्लबसँग नयाँ सम्झौता गरेका छन् । सम्झौता रकम भने खुलाइएको छैन ।

दुई वर्षअघि भएको लिगमा ९० दिनको प्रतिबन्धपछि लिगको अन्तिम खेल खेलेका विमल अघिल्लो वर्षको पुसमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा चोटग्रस्त भएपछि उनी मैदानबाहिर थिए । दायाँ घुँडाको चोटको उपचार कतारमा गरी ९ महिनापछि गएको महिना स्वदेश फर्किएका थिए । विमलको सम्पूर्ण उपचार खर्च अखिल नेपाल फुटबल संघले गरेको थियो ।

लामो समयपछि मैदानमा फर्किएका विमलले सम्झौतापछि लिग उपाधि रक्षाका लागि प्रयास गर्ने बताए । अघिल्लो सिजन एक खेलमात्र खेल्न पाएको स्मरण गर्दै विमलले यसपल्ट सबै खेलमा उत्कृष्ट प्रदर्शनको प्रयास गर्ने बताए । उनले चोटपछिका दिनहरूलाई आफ्नो करियरको कठिन समय भनेका छन् । मछिन्द्रले यो सिजनका लागि राष्ट्रिय टोलीका युवा स्टार मनीष डाँगी र सुनील वलसँग सम्झौता गरेको छ भने विशाल राई, विशाल श्रेष्ठजस्ता खेलाडीहरूसँग सम्झौता नवीकरण गरेको छ ।

प्रकाशित : कार्तिक ८, २०७८ ०८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×