ओल्ड ट्राफोर्डमा लिभरपुलको ‘फाइभ स्टार’ प्रदर्शन

एएफपी

लन्डन — मोहम्मद सलाहको ह्याट्रिकमा लिभरपुलले आइतबार इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ओल्ड ट्राफोर्डमा ५–० ले पराजित गरेको छ । इंग्लिस फुटबलको सबैभन्दा ठूला प्रतिद्वन्द्वीबीचको २ सय २ औं भिडन्तमा योर्गेन क्लोपको टोलीले प्रभावशाली जित हात पारेको हो । 

ओल्ड ट्राफोर्डमा लिभरपुलको ‘फाइभ स्टार’ प्रदर्शन

नाबी केइटा र डिएगो जोटाले लिभरपुललाई सुरुआतमै अग्रता दिलाएका थिए । त्यसपछि सलाह चम्किँदै ह्याट्रिक गोल गरेका थिए । सलाहले ३८ औं मिनेटमा आफ्नो पहिलो गोल गरेका थिए भने पहिलो हाफको इन्जुरी टाइममा दोस्रो थपेका थिए । मध्यान्तरपछिको पाँचौं मिनेटमा उनले आफ्नो ह्याट्रिक पूरा गरे ।

ओले गनर सोल्सायरको युनाइटेडको पीडा यतिमै सीमित भएन । केइटामाथि दुई खुट्टाले ट्याकल गरेपछि पाउल पोग्बाले रातो कार्ड पाए र युनाइटेड ६० औं मिनेटमा १० खेलाडीमा खुम्चियो । पोग्बा दोस्रो हाफको सुरुआतमा मात्र मैदानमा आएका थिए ।

लिभरपुलको ओल्ड ट्राफोर्डमा यो अहिलेसम्मको सबैभन्दा ठूलो जित हो । सन् १९२५ यता लिभरपुलले कुनै पनि मैदानमा युनाइटेडलाई सबैभन्दा ठूलो अन्तरमा पराजित गरेको हो । ‘यहाँ आएर ५–० को नतिजा निकाल्नु ठूलो जित हो, हामीले आफ्नो खेल खेल्न सकेनौं भने धेरै गाह्रो हुन्छ भन्ने थाहा थियो,’ सलाहले भने, ‘उनीहरूले सबै प्रयास गर्छन् भन्ने हामीलाई थाहा थियो । हामी आफ्नो खेल मात्र खेलिरहेका थियौं र अवसरको सिर्जना गरिरहेका थियौं । हामीले त्यही गरेका हौं र केही गोलमा भाग्यमानी पनि थियौं ।’

२००३ मा रियल म्याड्रिडका ब्राजिलियन हस्ती रोनाल्डोयता सलाह युनाइटेडमा ह्याट्रिक गर्ने पहिलो विपक्षी टोलीका खेलाडी हुन् । तीन गोलसहित उनी प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने अफ्रिकी खेलाडी बनेका छन् । चेल्सीका डिडियर ड्रोग्बालाई उछिनेका उनले १ सय ६ गोल पुर्‍याइसकेका छन् ।

२९ वर्षे सलाहले सबै खालेमा गरी लगातार १० खेलमा गोल गरिसकेका छन् भने लिभरपुल पछिल्लो २२ खेलमा अपराजित रहेको छ । लिभरपुल २१ अंकसहित दोस्रो स्थानमा छ । चेल्सी २२ अंकसाथ पहिलो स्थानमा छ ।

यसअघि मिखाइल एन्टोनियाले आफ्नो ऊत्कृष्ट लय कायम राख्दै गरेको निर्णायक गोल मद्दतले वेस्ट ह्यामले टोटनहमलाई १–० ले हरायो । खेल सकिन १८ मिनेट अगाडि एरोन त्रेसवेलको कर्नरलाई उनले गोलमा परिणत गरे । यो सिजन लिगमा उनको यो छैटौं गोल हो । खेलको सुरुतिर ह्यारी केनले सिर्जना गरेको एक मौका खेर जानुबाहेक टोटनहमले पूरा खेल अवधिमा गतिलो आक्रमण बुन्न सकेन र हार बेहोर्न बाध्य रह्यो ।

यो जितपछि वेस्ट ह्यामको १७ अंक भएको छ र सन् २००४–२००५ को सिजनयता उत्कृष्ट सुरुआत हो । टोटनहम भने आफ्नो लन्डन छिमेकीको तुलनामा दुई अंकले पछाडि छ । एभरटन छाडेर सन् २०१३ मा म्यानचेस्टर गएयता ५८ वर्षीय डेविड मोयस आफ्नो बलियो छवि स्थापित गर्न असफल रहँदै आएका थिए । यसपल्ट भने स्कटल्यान्डका यी व्यवस्थापकले आफ्नो पुरानो छनक आत्मसात् गर्न थालेका छन् ।

दिनको अर्को खेलमा जेम्स म्याडिसनले फेब्रुअरीयता गरेको पहिलो गोलमा लेस्टरले ब्रेन्टफोर्डलाई २–१ ले हरायो र पछिल्लो समय हात पारेको लयलाई कायम राख्न सफल रह्यो । ब्रेन्टफोर्डमा पाहुना टिमले योरी टेलेमन्सको गोलले अग्रता लिएको थियो । उनले पेनाल्टी एरियाबाट शक्तिशाली प्रहार गरेका थिए । खेलले एक घण्टा छुँदा ब्रेन्टफोर्ड बराबरी गोल फर्काउन सफल रह्यो । म्याथिस जोरगेन्सनले कर्नरमा हेडबाट गोल गरे ।

गत साता म्यानचेस्टर युनाइटेडमाथि ४–२ को अद्वितीय जित निकालेको लेस्टर नवौं स्थानमा उक्लिन सफल रह्यो । ब्रेन्टफोर्ड भने १२ औं स्थानमा कायम रह्यो । सिजनमा सुस्त सुरुआत लिएको लेस्टरले सुरुआती ६ खेलमध्ये तीनमा हार बेहोरेको थियो । तर पछिल्लो सात दिनमा लेस्टर सिजनमा आफ्नो चुनौती कायम राख्न सफल रह्यो । म्यानचेस्टरलाई हराएयता लेस्टरले मध्यसाता युरोपा लिगमा पनि स्पार्टक मस्कोमाथि ४–३ को जित निकालेको थियो ।

प्रकाशित : कार्तिक ८, २०७८ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?