टी-२० विश्‍वकप : भारतमाथि पाकिस्तानको पहिलो जित

एएफपी

दुबई — पाकिस्तानले ट्वान्टी–२० विश्वकपको आइतबार सुपर–१२ को खेलमा भारतमाथि ऐतिहासिक १० विकेटको जित निकालेको छ । पाकिस्तानले आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीलाई विश्वकप इतिहासमै हराएको यो पहिलोपल्ट हो । 

टी-२० विश्‍वकप : भारतमाथि पाकिस्तानको पहिलो जित

भारतले यसअघि एकदिवसीय र ट्वान्टी–२० विश्वकपका सबै १२ खेलमा पाकिस्तानलाई हराएको थियो । तर अब यो इतिहास फेरिएको छ र पाकिस्तानले अहिले प्राप्त गरेको जित सुदृढ र सम्झनालायक रहनेछ ।

पाकिस्तानको जित एकपक्षीय रह्यो । टस जितेर पहिले बलिङ गर्ने निर्णय पाकिस्तानको सही सावित भयो र त्यसपछि उसले निकै सुदृढपूर्वक जित लक्ष्य पछ्याएको थियो । जितका लागि १ सय ५२ रनको लक्ष्य पाएको पाकिस्तानले बिनाविकेट क्षति १७.५ ओभर खर्चेर आवश्यक रन बनाएको थियो । पाकिस्तानका लागि प्रारम्भिक ब्याटर जोडीमध्ये मोहम्मद रिजवानले ७८ र कप्तान बाबर आजमले ६८ रन जोडे । दुवै ब्याट्सम्यान दबाबमा आएनन् ।

भारत ट्वान्टी–ट्वान्टी क्रिकेटमा १० विकेटले पराजित भएको यो पहिलोपल्ट हो । रिजवानले ५६ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । यस्तै आजमले ५२ बलको सामना गरे र ६ चौका र २ छक्का प्रहार गरे ।

यसअघि साहिन अफ्रिदीले तीन विकेट लिएपछि पहिले ब्याटिङको निम्तो पाएको भारतले ७ विकेटमा १ सय ५१ रन बनाएको थियो । त्यसमा कप्तान विराट कोहलीले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ४९ बलको इनिङ्समा ५ चौका र एक छक्का प्रहार गरे ।

साहिन प्लेयर अफ द म्याच भए । उनले खेलपछि भने, ‘हामी सबै यो जितमा खुसी छौं । आज प्राप्त जितको लयलाई हामी पूरा प्रतियोगितामा कायम राख्न चाहन्छौं ।’ बायाँ हाते फास्ट बलर अफ्रिदीले ३१ रनमा तीन विकेट लिए र आफ्नो पहिलो स्पेलमा घातक बलिङको नमुना पेस गरे । कोहलीले भने आफ्नो ट्वान्टी–२० खेलजीवनको २९ औं अर्धशतक प्रहार गरे र भारतीय इनिङ्स बुन्ने काम गरे । उनी पनि अफ्रिदीकै सिकार बने ।

विश्वकप खेलमा पाकिस्तानले स्टार ब्याट्सम्यान कोहलीलाई आउट गरेको यो पहिलोपल्ट हो । अफ्रिदीले भारतलाई पहिलो धक्का दिने क्रममा स्विङ बलिङको मद्दतले रोहित शर्मालाई एलबीडब्लू आउट पारे । कोहली ब्याटिङका लागि ओर्लिंदा २० हजार दर्शकले स्वागत गरेका थिए । लगत्तै अफ्रिदीको दोस्रो हाफमा केएल राहुल बोल्ड भए । बलले राहुलको थाइ ब्याडलाई चुम्बन गर्दै स्टम्प उडाएको थियो । कोहलीका नयाँ साथी खेलाडी सूर्यकुमार यादवले अफ्रिदीको एक बलमा छक्का प्रहार गरे पनि उनी लामो समय टिक्न सकेनन् ।

विकेटकिपर रिजवानले हसन अलीको बलमा विकेट पछाडि सूर्यकुमारको सुन्दर क्याच लिए । उनले ११ रन मात्र बनाए । त्यसपछि ऋषव पन्तले कोहलीसँग मिलेर १० ओभरमा टिमको स्कोर तीन विकेट गुमाएर ६० रनमा पुर्‍याए । ऋषवले अलीको बलमा दुई लगातार छक्का प्रहार गरेपछि सादब खानको लेग स्पिनमा आउट भए । उनले ३० बलमा ३९ रन बनाए । कोहलीले ४५ बलमा ५० रन पूरा गरे र भारत प्रतिस्पर्धात्मक स्कोर खडा गर्न सफल रह्यो ।

श्रीलंकाले बंगलादेशलाई पन्छायो

चारिथ असालन्काले अविजित ८० रन बनाएपछि श्रीलंकाले ट्वान्टी–२० विश्वकपको सुपर–१२ को खेलमा बंगलादेशको चुनौतीलाई ५ विकेटले पन्छाएको छ । असालन्कासहित भानुका राजापाक्साले ५३ रन बनाएपछि सन् २०१४ को विजेता श्रीलंकाले १ सय ७२ रनको लक्ष्य ७ बल अगाडि पूरा गरेको थियो ।

कुशल पेरेरा १, पथुम निसान्का २४, अभिष्का फर्नान्डो शून्य, वानिडु हसरङ्गा ६ रनमा आउट भएपछि यी दुईले ९ ओभरभित्र पाँचौं विकेटमा ८६ रनको साझेदारी गरेका थिए । प्लेयर अफ द म्याच असालन्काले ४९ बलको इनिङ्समा ५ चौका र ५ छक्का प्रहार गरे । राजापाक्साले ४५ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । बंगलादेशका नसुम अहमद र सकिब अल हसनले २–२ तथा मोहम्मद साइफुदिनले १ विकेट लिएका थिए ।

‘आफ्नो राष्ट्रका लागि विजयी इनिङ्स खेल्न पाएकामा म खुसी छु,’ असालन्काले भने, ‘जब मैले पहिलो बलको सामना गरे पिच राम्रो देखिएको थियो । त्यसपछि मैले स्वाभाविक खेल खेल्न थालें । राजापाक्साले उत्कृष्ट खेले र खेलको स्वरूप परिवर्तन गरे ।’ असालन्का र राजापाक्सा दुवैको क्याच लिटोन दासले छाडेका थिए । राजापाक्सा त्यतिखेर १४ रनमा खेलिरहेका थिए ।

निसान्का र फर्नान्डोलाई आउट गर्दै सकिब ट्वान्टी–२० विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् । भेट्रान अलराउन्डर सकिबले ४१ विकेट पुर्‍याउँदै पाकिस्तानका शाहिद अफ्रिदीको ४० विकेटलाई उछिनेका हुन् ।

यसअघि मुसफिकर रहिमले अविजित ५७ र ओपनर मोहम्मद नइमले ६२ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको बंगलादेशले ४ विकेट गुमाई १ सय ७१ रन बनाएको थियो । ‘मलाई १ सय ७१ रन रक्षा गर्न सकिन्छ जस्तो लागेको थियो, लिटाने रि नाइमले हामीलाई धेरै राम्रो सुरुआत दिलाएका थिए, मुसफिकरले पनि उत्कृष्ट इनिङ्स खेले,’ बंगलादेशका कप्तान महमुदुल्लाह रियादले भने, ‘१० औं ओभरसम्म हामी खेलमा थियौं, त्यसपछि हाम्रो सबै गलत हुन पुग्यो ।’

बंगलादेशले छैटौं ओभरमा ४० रन जोडेपछि पहिलो विकेट झरेको थियो । दास १६ रन बनाई लाहिरू कुमाराको बलमा श्रीलंकाका कप्तान डासुन सनाकाबाट समातिए । १७ औं ओभरमा आउट भएका नाइमले ५२ बल खेली ६ चौका प्रहार गरे । उनले तेस्रो विकेटमा मुसफिकरसँग ७३ रन जोडेका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो छैटौं अर्धशतक बनाएका मुसफिकरले ३७ बल खेली ५ चौका र २ छक्का प्रहार गरे ।

श्रीलंका आफ्ना प्रमुख स्पिनर महिस थिकसानाबिनै खेलिरहेको छ । पहिलो चरणका तीन खेलमा ८ विकेट लिएका २१ थिकसाना पिठ्युँको चोटले सताइएका छन् । यस समूहमा अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्यान्ड अन्य टिम रहेका छन् ।

प्रकाशित : कार्तिक ८, २०७८ ००:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?