२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

विश्‍वकप क्रिकेट : उत्सुकताले भरिएको भारत-पाकिस्तान भीडन्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तान र भारत २०२१ को टी ट्वान्टी विश्वकप च्याम्पियनका लागि आइतबार दुबइमा खेल्दैछन् । २०१९ को वर्ल्डकप लिगपछि उनीहरुको यो पहिलो भीडन्त हो ।

विश्‍वकप क्रिकेट : उत्सुकताले भरिएको भारत-पाकिस्तान भीडन्त

भारी वर्षा र हजारौँ दर्शकको भीडकाबीच दुई वर्षअघिको खेल भारतले नियमित झैँ पाकिस्तानलाई हरायो । तर आइतबारको खेलमा वातावरण नितान्त भिन्न देखिएको छ ।

सुख्खा र गर्मी दुबइमा उनीहरुको यो नवौं टी ट्वान्टी भिडन्तलाई विश्वभरका क्रिकेटप्रेमीहरुले उत्सुकता र अपेक्षासहित नियाल्नेछन् । पाकिस्तान र भारतका दर्शकहरु यो खेल हेर्न कति आतुर छन् भन्ने कुरा कसरी पानि थाहा हुन्छ भने खेलका लागि खुला गरिएका टिकट केही घण्टाभित्रै विक्री भएर सकिएका थिए ।

दुवै देश कम्तिमा एकपटक विजेता बनिसकेका छन् । भारत २००७ मा पाकिस्तानलाई हराउँदै विजेता बनेको थियो । पाकिस्तानले भने २००९ मा श्रीलंकालाई हराएर विश्व विजेता बनेको थियो । विराट कोहलीको कप्तानीमा भारतीय टोलीले पाकिस्तानविरुद्धका सातमध्ये ६ खेल जितेर रेकर्ड राखेको थियो ।

पाकिस्तान विजेता त बनेको छ । तर भारतलाई चाहिँ कहिल्यै हराउन सकेको छैन । जुन कुरा आम दर्शकमाझ एउटा 'मिथ' जस्तै बनिसकेको छ । भारत र पाकिस्तानबीच क्रिकेट खेलमै सिमित देखिँदैन।

दुवै देशका प्रशंसकहरुको प्रतिक्रिया र समर्थनलाई हेर्दा उनीहरुबीच खेल मात्रै देखिँदैन । त्यहाँ आक्रोस र बदलाको भाव प्रवल हुन्छ । विशेषगरी भारत र पाकिस्तानबीच राजनीतिक दुश्मनी र उग्र राष्ट्रवादले उनीहरुको प्रतिष्पर्धालाई प्रतिष्पर्धामै सिमित हुन दिँदैन ।

सीमाका साना भीडन्तदेखि राष्ट्रिय मुद्दासम्म दुश्मनी झेल्दैआएका यी दुई देश ७ दशक लामो इतिहासमा कहिल्यै एक ठाउँमा उभिन सकेका छैनन् । यस अन्तरालमा उनीहरुका दुश्मनी र बदला खेलमैदानमै प्रष्ट देखिन्छ ।

त्यसो त भारतीय खेलाडीका लागि अतिरिक्त सुविधा उपलब्ध छ । जुन अर्को विश्वकप जस्तै ठानिने आईपीएलमा उनीहरु हरेक वर्ष खेल्न पाउँछन् । कोरोना महामारीको अवधिमा यूएईमा सारेर पनि आईपीएल गरिएको थियो ।

जवकि पाकिस्तानले १० वर्षयता कुनै पनि अन्तर्राष्ट्रिय प्रतिष्पर्धा आयाेजना गर्न सकेको छैन । उनीहरुले घरेलु खेलमै चित्त बुझाउनु परेको छ । तैपनि पाकिस्तानले टी ट्वान्टीका ३६ मध्ये २१ खेल जितेको छ ।

हाल न्यूजिल्याण्ड र इङल्याण्डविरुद्धको सिरिज रद्द भएपछि पाकिस्तान यो प्रतिष्पर्धामा भिड्दैछ । भारतले भने पछिल्ला १० खेल जितिसकेको छ । टीट्वान्टीको उद्घाटन खेल सुरु हुनुभन्दा केही दिनअघि मात्रै भारतको घरेलु प्रतिष्पर्धा सम्पन्न गरेको थियो ।

तुलनात्मक रुपमा पाकिस्तानभन्दा भारतको टोली बलियो मानिन्छ । तर खेलसँगै प्रकट हुने बदला र आक्रोशले भारत-पाकिस्तान खेल आम दर्शकमाझ सधैँ उत्सुकता र चासोले भरिएका हुन्छन् ।

प्रकाशित : कार्तिक ७, २०७८ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?