१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

ट्वान्टी–२० विश्वकप : दक्षिण अफ्रिका पराजित

एएफपी

अबुधाबी — मार्कुस स्टोइनिस र म्याथ्यु वेडले अविजित इनिङ्स खेलेपछि अस्ट्रेलियाले ट्वान्टी–२० विश्वकपको सुपर १२ को प्रतिस्पर्धामा शनिबार दक्षिण अफ्रिकामाथि अन्तिम ओभरमा ५ विकेटको जित हात पारेको छ । १ सय १९ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ८१ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो । त्यसमा स्टिभ स्मिथ ३५ र ग्लेन म्याक्सवेल १८ रन बनाएर पेभेलियन फर्किइसकेका थिए ।

ट्वान्टी–२० विश्वकप : दक्षिण अफ्रिका पराजित

स्टोइनिसले २४ रन बनाउँदै देब्रेहाते वेडसँग ४० रनको अविजित साझेदारी गरे । वेडले १० बलमा २ चौकासहित १५ रन बनाए । स्टोइनिसले दुई बलअगाडि विजयी चौका प्रहार गरेपछि अस्ट्रेलियाले १ सय २१ रन बनाएको थियो । स्टोइनिसले १६ बल खेल्दै ३ चौका प्रहार गरे ।

‘मभन्दा डगआउट बढी शान्त देखिन्थ्यो,’ अस्ट्रेलियाका कप्तान आरोन फिन्चले भने, ‘स्टोइनिस र वेडले निकै आरामसँग खेले, अनुभवीले खेल्ने यस्तै हो । म्याक्सवेलले पनि निकै राम्रो गरेका हुन् ।’ फिन्च ५ बल खेल्दै खाता खोल्न नपाई एनरिच नोकियाको बलमा आउट भए । अर्का ओपनर डेविड वार्नरले १५ बलमा १४ रन बनाए ।

मिचेल मार्श १७ बलमा ११ रन बनाई आउट भएका थिए । स्मिथले ३४ बलको इनिङ्समा ३ चौका प्रहार गरे । स्मिथको विकेट पनि लिएका नोकियाले ४ ओभरमा २१ रन खर्चेर २ तथा कागिसो राबाडा, केशव महाराज र ताब्राइज साम्सीले १–१ विकेट लिए । यसअघि प्लेयर अफ द म्याच जोस हेजलउडले ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर २ विकेट लिएपछि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले ९ विकेट गुमाई १ सय १८ रनमात्र बनाउन सकेको थियो । चौथो नम्बरमा ब्याटिङ गरेका एडेन मारक्रमले ३६ बलमा ४० रन बनाई मिचेल स्टार्कको बलमा आउट भए ।

हेनरिच क्लासेन १३ र डेविड मिलर १६ रनमा आउट भए । कप्तान एवं ओपनर टेम्बा बाभुमा १२ रनमा आउट भएका थिए । तल्लोक्रममा राबाडाले २३ बलमा अविजित १९ रन बनाएपछि मात्र दक्षिण अफ्रिकाले स्कोर १ सयमाथि पुर्‍याएको थियो । हेजलउडसँगै स्टार्क र एडम जाम्पाले पनि २–२ विकेट लिए । स्टार्कले ४ ओभरमा ३२ र जाम्पाले २१ रन खर्चेका थिए । म्याक्सवेल र प्याट कमिन्सको नाममा १–२ विकेट रह्यो । ‘हामीले ब्याटिङमा पर्याप्त रन बनाउन सकेनौं, जसले बलरलाई निकै कठिन बनाउँछ । टिमले एकरूपमा प्रयास गरेको हो,’ बाभुमाले भने ।

प्रकाशित : कार्तिक ७, २०७८ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?