१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बहस छेडौं ‘फुटबल साहित्यको’

अचेल त कस्तोसम्म स्थिति आइसक्यो भने एकै खेलमा एउटै टिमले एकभन्दा बढी ढाँचामा फुटबल खेल्ने भइसकेको छ
हिमेश

काठमाडौँ — फुटबलमा ४–३–३, ३–५–२ अथवा ३–४–३ खालि अंक हो कि यसको अरू नै धेरै अर्थ छ ? साफ च्याम्पियनसिप २०२१ का बेला सोधिएको एउटा प्रश्न र त्यसको उत्तरले यसको कौतूहल मेट्ने प्रयास गर्छ ।

बहस छेडौं ‘फुटबल साहित्यको’

पहिलाको बंगलादेशी टिम र अहिलेको बंगलादेशी टिममा के फरक छ त ? माल्दिभ्सका कप्तान अली अस्फाकलाई यो प्रश्न सोधिएको थियो । उनले धेरै विचार गरेनन् । तुरुन्तै जवाफ दिए, ‘यसअघि बंगलादेशी खेलाडीलाई निश्चित शैलीमा खेल्दा आफ्नो भूमिका के हुने हो, त्यो थाहा नै हुँदैनथ्यो ।’

तर अहिलेका बंगलादेशी खेलाडीलाई यसबारे राम्रोसँग थाहा छ, त्यसैले अहिलेको टिमले ‘वास्तविक’ फुटबल खेल्छ । बंगलादेशी फुटबलका मुख्य प्रशिक्षक ओस्कार ब्रोजनले पनि दोहोर्‍याएर दाबी गरे, ‘इतिहासमा के कस्तो भयो, त्यसबारे धेरै चर्चा नगरौं, अबका बंगलादेशी खेलाडीले ठीक ढंगले फुटबल खेल्न जान्छन् । त्यो पनि आफूलाई दिइएको भूमिकाअनुसार ।’ सायद यसैका लागि उनीसँगै उनका पूरा सहयोगीलाई त्यहाँको बसुन्धारा क्लबबाट राष्ट्रिय टिमको जिम्मा दिइएको थियो ।

फेरि यही प्रश्न । यही शैली नेपाली राष्ट्रिय टिमका कति सदस्यलाई राम्रोसँग थाहा छ त ? सुजल श्रेष्ठले यस्तै प्रश्नको उत्तरमा भनेका थिए, ‘यो त धेरै नेपाली खेलाडीका लागि नम्बरमात्र हुनसक्छ ।’ भारतविरुद्धको फाइनलमै यिनै सुजलको प्रदर्शनलाई लिएर पहिलो हाफमा कप्तान तथा गोलरक्षक किरण लिम्बू साह्रै रिसाएर खेलिरहेका थिए । गोलरहित बराबरीको पहिलो हाफमा किरणको कामै सुजलको खेललाई लिएर रिसाउनु जस्तो देखिन्थ्यो ।

सायद किरणको रिस ठीकै थियो । किनभने सुजलले ठीकसँग आफ्नो भूमिका निभाइरहेका थिएनन् कि ? त्यसो भनेको प्रशिक्षकले तय गरेको रणनीतिअनुसार खेल्न चुकिरहेका थिए कि ? या किरणको रिस आफैंमा बेकार थियो ? जेहोस्, यस साफ च्याम्पियनसिपका क्रममा नेपाली खेलाडीहरू कुनै न कुनै मोडमा आफ्नो स्वाभाविक ‘पोजिसन’ मा देखिएनन् । फुटबल लगातार परिवर्तनबाट गुज्रिइरहेको छ । यो क्रम कहिले पनि रोकिने छैन । न त कसैले रोक्ने प्रयास नै गर्नेछ ।

अहिलेको फुटबल भने धेरै हदसम्म प्रशिक्षकको भएको छ । प्रशिक्षकले कस्तो रणनीति बुझ्छ, टिमको प्रदर्शन त्यसमै निर्भर हुन्छ । प्रतियोगिताको लिग चरणमा भारतविरुद्ध नेपालले अत्यधिक रक्षात्मक खेलेको थियो । यसका लागि टिमले लगभग आफ्नो पोस्टमा ‘बसपार्क’ गरेको थियो । यो रणनीतिलाई लिएर धेरै आलोचना भए । तर यो किन ठीक थियो भनेर अब्दुल्लाह अल्मुताइरीसँग ठोस जवाफ पनि छ । यसका लागि अलग्गै बहस चाहिएला, तर ‘टिम फर्मेसन’ अहिलेको फुटबलको मूल मुद्दा भएको छ । यसमा कुनै शंका छैन ।

नेपाली घरेलु फुटबलमै फर्कने हो भने यस्तो टिम संरचना र त्यसअनुसारको रणनीतिबारे पुराना प्रशिक्षक राजुकाजी शाक्य बरोबर बोल्ने गर्छन् । सुन्दा उनी छुच्चो देखिन्छन् । तर उनी जे भन्छन्, त्यो ठीक भन्छन् । अहिले उनले बोलेका शब्द दोहोर्‍याउने हो भने अधिकांश नेपाली खेलाडीलाई कुनै संरचनामा कसरी खेल्ने हो, त्यो थाहा छैन । त्यसैले नेपाली खेलाडीलाई कहिलेकाहीं धेरै सिकाएर पनि काम छैन । राम्रै अनुभव भएका खेलाडीले पनि फरक फरक टिम संरचनाबारे बुझ्दैनन् ।

नबुझेपछि खेल्ने त परको कुरा भयो । यस्तो किन भयो त ? यसको उत्तर खोज्न फेरि माल्दिभ्सको माले फर्कनुपर्छ । त्यहाँ सहभागी टिमका प्रशिक्षकमध्ये सबैभन्दा बढी बोल्ने श्रीलंकाका समिर एल्गिच । उनलाई पनि गुनासो थियो, आफ्ना खेलाडीले यी रणनीति र त्यसअनुसार खेल्ने शैली आफ्ना खेलाडीले नबुझेकामा । उनी भन्थे, ‘यसमा खेलाडीको दोष छैन । खेलाडीलाई खेल्न सुरु गर्दैमा यसबारे पर्याप्त सैद्धान्तिक ज्ञान दिनुपर्छ । बीचमा आएर खेलाडीलाई यस्तो, उस्तो गरेर खेल्नु भन्दा बुझाउन गाह्रो हुन्छ ।’

अल्मुताइरीको प्रिय संरचना हो, ४–३–३ । नेपाल आएलगत्तै उनी भन्थे, अबदेखि नेपालले यही शैलीमा खेल्नेछ । अब यो कस्तो शैली हो त ? यसमा आक्रमण सुरक्षित ढंगले गरिन्छ । तीन खेलाडी आक्रमणमा हुने गर्छन् । रक्षापंक्तिमा उत्तिकै जोड दिइन्छ । विंगरले यस शैलीमा खास भूमिका पाउने गर्छ । जुन टिमले विंगरबाट बल विपक्षी टिमको पेनाल्टी एरियामा फाल्न रूचाउँछ, त्यस्तो टिमका लागि यो निकै उपयुक्त हुन्छ । सायद अल्मुताइरीकै रणनीति पनि यस्तै हो ।

मालेमै अधिकांश समय यस्तो रणनीति देखियो नै । तर यसरी यो शैलीको परिभाषा गर्दैमा वा भन्दैमा ठ्याक्कै बुझिन्न । विशेषतः खेलाडीका लागि यो शैलीमा अभ्यस्त हुन पर्याप्त अभ्यास चाहिन्छ । सैद्धान्तिक ज्ञान हुनु नै पर्‍यो नै । अब यसलाई फुटबलको साक्षरता भने पनि हुन्छ या ‘फुटबलको साहित्य’ । एकपल्ट के सुनिएको थियो भने नेपाली फुटबलका प्रशिक्षक र प्राविधिक निर्देशक दुवै जापानी हुँदा उनीहरूले बहस सुरु गरेका थिए, नेपालका लागि ‘कुन शैली ठीक छ’ भनेर ।

उनीहरूको तर्क थियो, नेपालले जापानी शैलीमा फुटबल खेल्नुपर्छ, किनभने नेपाली र जापानी खेलाडीको शारीरिक बनावट धेरै हदसम्म मिल्छ । फेरि बंगलोदशी फुटबलमै फर्कने हो भने ब्रोजन आउनु अगाडि टिमका प्रमुख प्रशिक्षक थिए, जिम्मी डे । उनी अंग्रेज थिए । आफ्ना खेलाडीलाई इंग्लिस पारामा लामो–लामो क्रस खेल्नमात्र भन्थे । त्यसबाट नतिजा नआएपछि उनी आफै बर्खास्तगीमा परे । एक समय अर्का इंग्लिस प्रशिक्षक ग्राहम रोबर्टस हुँदा पनि नेपाली खेलाडीले यस्तै लामो–लामो पासमा खेल्थे । भलै, नेपाली खेलाडी प्रायः होचा नै थिए ।

विशेषतः युरोपतिर खेलाडी आफ्नो टिमको रणनीति र शैलीअनुसार खेल्न माहिर भइसकेका हुन्छन् । यसको एउटा कारण ती खेलाडीहरू सुरुदेखि नै ठीक ढंगले एक वा त्यो भन्दा बढी शैलीमा खेल्न अभ्यस्त भइसकेका हुन्छन् । फेरि अधिकांश खेलाडीलाई खेल्ने बेला नै प्रशिक्षकको प्रशिक्षण पनि दिइसकिएको हुन्छ । यसको राम्रो उदाहरण त स्टेभन जेरार्ड र फ्रान्क लाम्पार्ड नै हुन् । हाम्रोतिर पनि कम्तीमा राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई प्रशिक्षकको पनि प्रशिक्षण दिने कि ?

अचेल त कस्तोसम्म स्थिति आइसक्यो भने एउटै खेलमा एउटै टिमले एकभन्दा बढी ढाँचामा फुटबल खेल्ने भइसकेको छ । आफू आक्रमणमा छँदा एउटा, आफू रक्षात्मक हुँदा अर्कै । टिम एक गोलले अगाडि छँदा एउटा शैलीले फुटबल खेलिन्छ भने एक गोलले पछाडि छँदा अर्कै शैलीले खेलिन्छ । पहिलो हाफमा एक ढंगले खेलेको टिमले अर्को हाफमा खेल्दा आफूलाई पूर्णतः परिवर्तन गर्नुपर्छ । यस्तो सबै स्थितिमा प्रशिक्षक आफैं निकै गतिलो हुनुपर्छ, साथमा खेलाडी पनि । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले मालेमा छँदै यो कुरालाई माने, खेलाडीलाई फुटबलका सैद्धान्तिक ज्ञानबारे राम्रोसँग प्रशिक्षण नगराई हुन्न । अनौपचारिक कुराकानीमै सही । उनी भन्थे, ‘अब म यो काम पनि गर्छु ।’

विश्वास गरौं, अध्यक्ष शेर्पा यो काममा लागेपछि लागेको लाग्यै हुनेछन्, बीचमा पन्छिने छैनन् । अचेल त खेल अगाडि खेलाडीको सूची तयार पार्दा टिमले खेल्ने संरचना पनि बुझाउनुपर्ने हुन थालेको छ । त्यसैले पनि यस्तो हुन अझ आवश्यक भइसकेको छ ।

अब हाम्रोमा पनि नयाँ संस्करणको लिग सुरु हुनै लागेको छ । त्यसअगाडि ए डिभिजन क्लब–क्लबमा, खेलाडी–खेलाडीमा यसबारे खुलेर बहस हुनु आवश्यक छ । फेरि तिनै श्रीलंकाली प्रशिक्षक एल्गिचको भनाइ सापटी लिने हो भने उनी भन्थे, ‘राष्ट्रिय टिममा आउँदैमा खेलाडीलाई सबथोक बुझाउन सकिन्न । खासमा यो जिम्मेवारी क्लबको हो । क्लबले खेलाडीको सुरुआती दिन फुटबलका सैद्धान्तिक ज्ञानबारे सचेत गराउनुपर्छ ।’ यस्तोमा एन्फाको काम हाम्रा क्लबलाई यसबारे बुझाउनु पनि हुनेछ ।

प्रकाशित : कार्तिक ५, २०७८ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?