१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

ट्वान्टी-२० विश्वकप : बंगलादेश सुपर १२ मा

एएफपी

मस्कट — सकिब अल हसनले ४६ रन बनाउनुका साथै ९ रनमा चार विकेट पनि लिएपछि बंगलादेशले पपुवा न्युगिनीलाई ८४ रनले पराजित गर्दै बिहीबार ट्वान्टी–२० विश्वकपको सुपर १२ चरणमा स्थान बनाएको छ । 

ट्वान्टी-२० विश्वकप : बंगलादेश सुपर १२ मा

जितका लागि पपुवा न्युगिनीले १ सय ८२ रनको लक्ष्य पाएकोमा १९.३ ओभरमात्र टिकेर टोली ९७ रनमै अलआउट भयो । लगातार तीन खेल गुमाएर पपुवा न्युगिनी भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आफ्नो पहिलो खेल गुमाएको बंगलादेशले भने त्यसपछि उत्कृष्ट पुनरागमन रच्दै लगातार दुई खेलमा सजिलो जित निकालेको हो । पपुवाका लागि किप्लिन डोरिगाले नटआउट ४६ रन नबनाएको भए बंगलादेशको जित अन्तर अझै ठूलो हुने थियो । पपुवाले आफ्नो प्रारम्भिक ब्याट्सम्यान असाद भालालाई ६ रनमा गुमाएपछि टिम कुनै पनि समय लक्ष्य पछ्याउने बाटोमा रहेन ।

बंगलादेशी अलराउन्डर सकिब बलिङ आक्रमणमा उत्रेपछि विश्वकपमा डेब्यु गरिरहेको टिम अझ दयनीय स्थितिमा पुगेको थियो । बायाँहाते स्पिनर सकिबले आफ्नो पहिलो ओभरमै दुई विकेट लिए । लगत्तै फेरि दुई विकेट लिए । यसले सकिब ट्वान्टी–२० विश्वकपमा सर्वाधिक ३९ विकेट लिएका साहिद अफ्रिदीको नाममा रहेको कीर्तिमान बराबरी गर्न सफल भएका छन् ।

यसअघि कप्तान महमुदुल्लाहले पनि ५० रनको गतिलो योगदान दिएपछि बंगलादेशले ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । बंगलादेशका आसिफ हुसेनले पनि १४ बलमा २१ रन बनाए । ओपनर लिटोन दासले २९ रन बनाए । कप्तानले समान तीन छक्का र तीन चौका प्रहार गर्दा सकिबबाट पनि ३ छक्काको योगदान रह्यो ।

यस्तै मोहम्मद सइफुद्दिनले ६ बलमा १९ रनको नटआउट प्रदर्शन गरे । उनले दुई छक्का र एक चौका प्रहार गरे । यससँगै प्रतियोगितामा बंगलादेश अहिलेसम्मको सबैभन्दा ठूलो स्कोर खडा गर्न सफल रहेको थियो । बंगलादेश आफ्नो पहिलो खेलमा स्टकल्यान्डसँग पराजित भएको थियो । स्कटल्यान्डको पनि २ जित छ र टोलीले समूह ‘बी’ को अर्को खेलमा ओमानको सामना गर्नेछ । यस खेलले यो समूहबाट सुपर १२ पुग्ने दोस्रो टिमको निर्णय गर्नेछ ।

यसअघि श्रीलंका बुधबार रातिको खेलमा आयरल्यान्डलाई ७० रनले पराजित गर्दै सुपर १२ मा पुगेको थियो । श्रीलंकालाई जित दिलाउन अलराउन्डर वानिडु हसरङ्गाले ४७ बलमा ७१ रन बनाए । यो जितको अर्थ नेदरल्यान्ड्स समूह ‘ए’ बाट बाहिरिएको छ । नामिबियाले अघिल्लो खेलमा डच टिमलाई ६ विकेटले हराएपछि यो समीकरण तयार भएको छ ।

खराब सुरुआत लिएको श्रीलंका एक समय ८ रनमात्र बनाउँदा ३ विकेट गुमाइसकेको स्थितिमा थियो । हसरंगा र प्रारम्भिक ब्याट्सम्यान पाथुम निशन्काले श्रीलंकाली स्कोरलाई अगाडि बढाएर सात विकेटमा १ सय ७१ रन जोड्न मदत गरे । निशन्काले ६१ रन बनाए । जवाफमा आयरल्यान्ड १ सय १ रनमा अलआउट भयो र त्यतिबेला ९ बलको खेल बाँकी नै थियो । शुक्रबार आयरल्यान्ड र नामिबियाबीच हुने खेल विजेताले यो समूहबाट सुपर १२ मा प्रवेश पाउनेछ ।

प्रकाशित : कार्तिक ४, २०७८ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?