कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

करातेमा रम्दै बालबालिका

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिकाका बालबालिकाको कराते खेलप्रति लगाव बढ्दो छ । उनीहरू सितोरिया करातेका प्रशिक्षणमा अहिले व्यस्त छन् । चन्द्रपुर–४ स्थित तुलसीलाल कभर्डहलमा चन्द्रपुरका एक सय बढी बालबालिका र किशोरकिशोरी बिहान–बेलुका कराते प्रशिक्षण लिन्छन् । यस खेलप्रति उनीहरूको रुचि बढ्दो छ । उनीहरू करातेमा अब्बल बन्न मिहिनेत गरिरहेका छन् । 

करातेमा रम्दै बालबालिका

चन्द्रपुर–४ की १० वर्षीया किमस लामा बिहानै कभर्डहल पुग्छिन् । उनी साथीसँग मिलेर झन्डै एक घण्टा बढी समय करातेको प्रशिक्षण गर्छन् । कक्षा ३ मा अध्ययनरत किसम प्रशिक्षण सकेर विद्यालय जान हतारिन्छन् । ‘कराते सिकेर राम्रो खेलाडी बन्छु,’ उनले सुनाइन्, ‘अहिले सानै छु । कराते खेललाई निरन्तरता दिन्छु ।’ उनले बुबाआमाको साथ सहयोगले कराते सिक्न आएको बताइन् । चन्द्रपुरमा १ सय बढी खेलाडी प्रशिक्षणमा छन् । गैंडाटारमा ४० र सन्तपुरमा ४५ जनाले प्रशिक्षण लिइरहेका छन् । उनीहरू सबै प्रशिक्षण सकेर विद्यालय जान्छन् । सुरुमा १० बालबालिकामात्र थिए । अहिले सयको हाराहारीमा पुगेको छ ।

पछिल्लो १० वर्षयता चन्द्रनिगाहपुर क्षेत्रमा कराते र फुटबलप्रति बालबालिकाको मोह बढ्दो छ । फुटबलमा पनि ६० भन्दा बढी बालबालिका दिनहुँ प्रशिक्षण गर्न शेरबहादुर दर्लामी खेल मैदान पुग्छन् । करातेका प्रशिक्षक अशोक पहाडी करातेप्रति बालबालिका र किशोरकिशोरीको मोह बढेको देख्दा खुसी लागेको बताउँछन् । डेढ दशकदेखि उनले निःशुल्क रूपमा प्रशिक्षण दिइरहेका छन् ।

कराते सिक्नकै लागि चन्द्रपुर नगरपालिका–४ वडाको आर्थिक सहयोगमा २ लाख ५० हजारमा म्याट खरिद गरिएको छ । ‘लामो समयदेखि कराते खेललाई निरन्तरता दिइरहेको छु,’ प्रशिक्षक पहाडीले गुनासोसहित भने, ‘राज्यबाट अहिलेसम्म केही सहयोग भएको छैन । तलबभत्ता कुनै सुविधा छैन ।’ पहाडीले चन्द्रनिगाहपुरमा करातेको प्रतियोगिता पनि गराउँदै आएका छन् ।

काठमाडौमा सम्पन्न उपराष्ट्रपति कप राष्ट्रिय चिल्ड्रेन कराते प्रतियोगितामा प्रदेश २ बाट चन्द्रपुर ४ की ११ वर्षीया सुप्रिया पोख्रेलले कांस्य पदक जितेकी थिइन् । उनीबाहेक बिबिका श्रेष्ठ, कुन्साङ डोल्मा लामाले पनि कांस्य पदक जितेका थिए । सुप्रिया आमाबुवा हरिबाबु र सीता पोखरेलको सहयोगले करातेप्रति हौसिएकी हुन । प्रशिक्षक पहाडीले बिहान बेलुका नियमित प्रशिक्षण दिइरहेका छन् । जिल्लामा राष्ट्रिय खेलकुद परिषदको प्रशिक्षक नभए पनि उनले प्रशिक्षण दिएका खेलाडीले प्रदेश २ मै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

२०५८ सालबाट चन्द्रनिगाहपुर र सन्तपुर, गैंडाटारमा नियमित प्रशिक्षण दिने गरेका हुन् । जिल्लामा पहिलेदेखि नै राष्ट्रिय खेलकुद परिषदको प्रशिक्षक नभएको पहाडीले बताए ।

प्रकाशित : कार्तिक ३, २०७८ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?