कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

२२ यार्डमा वसन्तको २२ वर्ष

नेपाली क्रिकेटका ‘क्राइसिस म्यान’ अहिले आफैं संकटमा छन्, नेपाली टोलीसँग अब आफ्नो भविष्य के हुन्छ भनेर
विनोद पाण्डे

काठमाडौँ — वसन्त रेग्मी निकै फरासिला छन् । त्यसैले उनको सबैसँग राम्रो सम्बन्ध छ । टिमका साथी हुन् वा प्रशिक्षण टोली, वसन्तलाई हेर्ने सबैको फरक दृष्टिकोण हुन सक्ला । तर व्यवहारमा उनी सबैका प्रिय छन् । कारण उनी मिजासिलो त्यत्तिकै छन् । साँझ पर्दै गएपछि ‘रसिला’ पनि हुन्छन् । 

२२ यार्डमा वसन्तको २२ वर्ष

नेपाली क्रिकेट टिम छिन्नभिन्न जस्तै छ, गुट–उपगुटले भरिएको छ । वसन्तको भने सबैसँग एकखाले सम्बन्ध छ । त्यो भनेको कसैसँग नराम्रो पनि होइन, एकदमै राम्रो पनि होइन । उनी त्यही भएर स्पष्टसँग भन्छन्, ‘म कुनै कित्तामा छैन ।’

हुन त उनी नेपालको टोलीमा नपरेकै दुई वर्षभन्दा बढी भइसक्यो । उनलाई यसमा खासै ठूलो दुखेसो छैन । ‘मभन्दा राम्रो गर्छन् भने उनीहरूले मौका पाउनुपर्छ,’ वसन्त यही भन्दै विगत पन्छाउन खोज्छन् । कसैले पनि आफूले आफूलाई राष्ट्रिय टोलीबाहिर रहेको सोच्दैनन् । टिमदेखि बाहिर होइन, टिममै छु भन्ने उनको सोच छ । उनी भन्छन्, ‘नेपाली टोलीको १८ मा, १४ वा १२ खेलाडीमै किन नहोस् या बन्द प्रशिक्षणमै मात्र किन नहोस् । जहिल्यै पनि टिमको राम्रोका लागि सोच्छु । टिमलाई जुनै पनि बेला मेरो सल्लाह चाहियो भने त्यो दिने गर्छु ।’

यसो भनिरहँदा उनी नेपाली टोलीको माहोल मिस गरिरहेको भाव पनि पोख्छन् । आफ्नो स्थानमा नयाँ खेलाडीले कस्तो गरिरहेका छन्, त्यो हेर्ने र उनीहरूले सल्लाह मागे सधैं दिने वसन्त सुनाउँछन् । ‘प्लेइङ ११ मा खेल्न पाइनँ भने जहिल्यै पनि टिमलाई मिस गरेको अनुभव हुन्छ, मिस गर्नेबित्तिकै मैले टिमलाई समर्थन नगर्ने भन्ने हुँदैन,’ टिमबाहिर रहँदाको पीडा पोख्छन् उनी ।

वसन्तलाई एउटा यस्तो माहोलले यो स्थितिमा पुर्‍याइदियो कि । सन् २०१९ को अक्टोबरमा नेपाली टोली ओमानमा पाँच राष्ट्रसम्मिलित ट्वान्टी–२० प्रतियोगिता खेल्न जाँदै थियो । वसन्तको नाम अन्तिम सूचीमा थिएन । २००६ देखि राष्ट्रिय टोलीबाट खेल्न थालेयता उनलाई पहिलोपल्ट टोलीबाट हटाइएको थियो । उनले त्यसयता नेपाली टोलीमा पुनरागमनको प्रयास गरिरहेका छन्, तर सफल हुन सकेका छैनन् ।

सन् २०१९ को जुलाईमा नेपालले यूएईसँग दुबईमा तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । उनी पहिलो खेलपछि ‘ड्रप’ भएका थिए । त्यहींदेखि नेपालका तत्कालीन ब्याटिङ प्रशिक्षक उमेश पटवालसँग वसन्तको सम्बन्ध चिसिएको थियो । पटवाल उनको फिटनेसमा समस्या देख्थे, वसन्त भने पटवालको बोल्ने र प्रशिक्षण शैलीमै । पटवालको ८ महिने कार्यकालमा ओमान भ्रमण पनि थियो, जहाँबाट वसन्तका लागि राष्ट्रिय टोलीको ढोका साँघुरिँदै लगभग बन्दको स्थितिमा पुगेको हो ।

‘त्यो मेरा लागि दुःखद क्षण थियो । म निकै भावुक भएको थिएँ, किनभने मैले राम्रो गर्दागर्दै पनि बाहिर भएँ । त्यसपछि पनि मैले मिहिनेत गरिरहेको थिएँ, तर त्यही व्यक्तिका कारण म टिममा आवद्ध हुन सकिनँ । त्यो कुरा सम्झिँदा मलाई अहिले पनि नराम्रो अनुभव हुन्छ,’ वसन्त पटवालतर्फ इंगित हुन खोजे पनि बेनामे दोष थोपार्दै भन्छन्, ‘एकजना व्यक्ति, जसका कारण म आज यहाँ छु ।’ उमेरसँग उनलाई मतलब छैन । ३५ वर्षका भइसके । ‘यो उमेरमा पनि अरू खेलाडीभन्दा राम्रो गर्न सके टोलीमा फर्किने सम्भावना छ,’ उनले भने, ‘राम्रो गर्न सकिएन भने फर्किने कुनै सम्भावना नै छैन भन्ने बुझेको छु ।’

‘म योग्य छैन भने मलाई टिममा नराख्नू भन्दै आएको छु । तर मलाई निकाल्नुको एउटै कारण दिए पुग्छ ?’ उनले प्रश्न गरे । सन् २००० मा पाकिस्तानको कराँची, क्वेटामा भएको यू–१७ एसिया कप उनले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यसको आधारमा उनले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नै २२ वर्ष छोइसकेको छ । अर्थात् वसन्तले २२ यार्डमा २२ वसन्त बिताइसकेका छन् । यू–१७ एसिया कपमा नेपालले एक खेलमात्र जितेको थियो, त्यही जितेको खेल (बहराइनसँग) मा उनी प्लेयर अफ द म्याच भएका थिए । घरेलु क्रिकेट भने उनले त्योभन्दा अघि नै खेल्दै आएका थिए ।

नेपालले २०१८ को विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनुअघिको एक दशक नेपाली क्रिकेट यी देव्रेहाते स्पिनरवरिपरि मजाले घुमेको छ । उनी विश्व क्रिकेट लिगको डिभिजन संरचनामा १ सय विकेट पूरा गर्ने विश्वका एक्लो बलर हुन् । २०१२ को विश्व क्रिकेट लिग डिभिजन ४ मा उनले मलेसियामा ६ खेलमा २१ विकेट लिएका थिए, जुन नेपाली खेलाडीको अर्को कीर्तिमान हो । अमेरिकाविरुद्धको राउन्ड रोबिन र फाइनलमा गरी उनले दुवै खेलमा ५–५ विकेट लिएका थिए । उनलाई त्यही अमेरिका अहिले कर्मथलो जस्तै भएको छ ।

अमेरिकामा हालै माइनर लिग सुरु भएको थियो, जुन त्यहाँको ठूलो लिगमा पर्छ । अमेरिका क्रिकेट संघले पहिलोपल्ट सुरु गरेको यो लिग खेलेर वसन्त एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आएका थिए । ‘यो राम्रो लिग हो, टेस्ट राष्ट्रका खेलाडीहरू पनि आएर खेल्छन् । एउटै टिममा ११ जना टेस्ट राष्ट्रका खेलाडी पनि थिए । त्यहाँ खेल्दा राम्रो खेलाडीसँग खेल्ने मौका पाइन्छ,’ पछिल्ला केही महिना अमेरिकामा खेल्दाको उनले अनुभव सुनाए । नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायके पनि माइनर लिगकै एउटा टोलीका प्रशिक्षक थिए ।

माइनर लिग वसन्तले हलिउड मास्टर ब्लास्टर्सबाट खेलेका हुन् । उनको टिमले राम्रो प्रदर्शन गर्न सकेन । १५ खेलमा २ खेलमात्र उनको टोलीले जितेको थियो । आफ्नो प्रदर्शन उनी औसतमात्र भएको मान्छन् । ‘उत्कृष्ट थिएन, तर राम्रो थियो,’ उनी माइनर लिग खेल्छु भनेर अमेरिका गएका थिएनन् । हस्टन प्रिमियर लिग खेल्न गएका थिए । त्यो उनकै टोलीले जितेको थियो । अर्को एक महिना उनले त्यहाँको स्थानीय म्याच खेले । त्यसपछि एलए ओपन नेपाली राइनोज अलस्टारबाट खेले । एलए ओपनमा राम्रो प्रदर्शन भइरहेको समयमा तिघ्रा फर्किएकाले आफूले प्रतियोगिता छाड्नुपरेको उनी बताउँछन् ।

सन् २०१६ मा नेपाली राइनोजबाट खेलेयता उनी अमेरिका गएर खेल्न लागेका हुन् । ईपीएल खेल्न उनी अमेरिकाबाट आइपुगेका थिए । पहिलो दुई खेल गुमाएका उनले त्यसपछिका तीन खेलमा १ विकेटमात्र लिन सके । आफ्नो प्रदर्शन राम्रो हुन नसकेकामा उनी निकै दुःखी छन् ।

उनी मंगलबार पुनः अमेरिका लागेका छन् । ‘अहिले म बाहिर नै हुन्छु धेरै, अमेरिकामै पनि खेलिरहेको छु । त्यसको मतलब म बाहिर बस्ने नै होइन, नेपाल आउँदा खेलिरहन्छु,’ आफूले जानेको कुरा अरूलाई बाँड्ने सोच राख्ने उनी भन्छन्, ‘आफूले जति जानेको छ, त्यो बाँड्न सक्यो भने एउटा खेलाडीका रूपमा उसको कर्म पूरा हुन्छ जस्तो लाग्छ ।’

अबको उनको उद्देश्य जतिसक्यो देशका लागि योगदान दिने, राम्रो खेल्ने प्रयास गर्ने तथा क्रिकेट नै खेल्न छाडियो भने पनि कुनै न कुनै माहोलबाट योगदान दिने रहेको छ । वसन्तले देशका लागि खेलिरहने जनाउँदा उनका लागि अब त्यो माहोल बन्ने सम्भावना कमै देखिन्छ । धेरै पटक बलले होस् वा ब्याटबाट हारको मुखमा पुगेको नेपाललाई जित दिलाएर उद्दार गरेका नेपाली क्रिकेटका ‘क्राइसिस म्यान’ अहिले आफैं संकटमा छन्, नेपाली टोलीसँग अब आफ्नो भविष्य के हुन्छ भनेर ।

निश्चय पनि एउटा खेलाडी भएकाले राष्ट्रिय टोलीबाट खेल्नुपर्छ भन्ने सोच सधैं रहिरहने उनी जनाउँछन् । उनको अमेरिका आउने–जाने चलिरहेको छ । नेपालमा होस् या अमेरिका, उनी आफ्नो खेलमा मात्र केन्द्रित भएको दाबी गर्छन् । ‘छनोट समितिमा जो हुनुहुन्छ उहाँहरूले म खेल्न योग्य छ कि छैन भनेर हेर्ने हो । त्योबाहेक मैले सोचेर केही हुन्न,’ नेपालबाट पुनः खेल्ने सम्भावना खोज्दा उनी स्पष्ट विचार राख्छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी क्रिकेटमा ठूलो लगानी गरिरहेको छ, त्यसैले उनी अमेरिकामा स्थापित हुन खोजिरहेका त होइनन् ? ‘त्यस्तो केही पनि होइन । अमेरिकामा म खेल्नै गएको हो,’ नेपालबाट ‘कल’ आउनेबित्तिकै राष्ट्रिय टोलीका लागि खेल्न आउन उनमा हतारो देखिन्छ ।

नेपाली टोलीमा पुनरागमन गर्न ‘कल’ आउनुपर्‍यो अनि प्रशिक्षणमा राम्रो गर्नुपर्‍यो तर ‘कल’ कहिले आउँछ त ? उनको सिधा उत्तर थियो, ‘त्यो छनोट समितिलाई नै थाहा हुन्छ ।’

प्रकाशित : कार्तिक ३, २०७८ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?