हाइअल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ कात्तिकमा 

कान्तिपुर संवाददाता

दोलखा — पहिलो संस्करणको राष्ट्रिय हाइअल्टिच्युट रिङ रेस्लिङ प्रतियोगिता चरिकोटमा कात्तिक दोस्रो साता हुने भएको छ । नेपाल रिङ रेस्लिङले कात्तिक १३ गते प्रतियोगिता हुने आइतबार जानकारी गराएको छ । 

हाइअल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ कात्तिकमा 

संघ र वाग्मती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा हुने प्रतियोगितामा देशभरका पुरुष र महिला गरी १७ रेस्लरले ६ वटा विधामा प्रतिस्पर्धा गर्ने संघकी महासचिव सुवर्ण श्रेष्ठले बताइन् । नेपालमै पहिलो पटक खुला रूपमा हिमाली जिल्लाको उच्च क्षेत्रमा प्रतियोगिता हुन लागेको उनले जानकारी दिइन् ।

प्रतियोगिताअन्तर्गत हेभिवेट च्याम्पियनले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै हार्डकोर च्याम्पियनले १ लाख २० हजार, मिडलवेटले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाइटवेटले ५० हजार र ट्रिपल थ्रेटले ४० हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । पहिलोपल्ट उच्च क्षेत्रमा हिमालका दृश्यसहित देखिने रेस्लिङ प्रतियोगिताका लागि २९ लाख खर्च हुने अनुमान गरिएको श्रेष्ठले जानकारी दिइन् ।

उनले कोभिडका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सम्भव नभएपछि हाइअल्टिच्युटमा राष्ट्रिय खेलाडीको वर्चस्व हुने गरी प्रतियोगिता आयोजना गरिएको दाबी गरिन् । वाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले हिमाली क्षेत्रमा खेलकुदमार्फत पर्यटन क्षेत्रको विकासका लागि दोलखामा हाइअल्टिच्युट रिङ रेस्लिङ, सिन्धुपाल्चोकमा म्याराथन र रसुवामा साइक्लिङ प्रतियोगिता हुन लागेको बताए ।

प्रकाशित : कार्तिक १, २०७८ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?