नेपाली फुटबल टिमलाई २ लाख पुरस्कार दिने कुश्मा नगरपालिकाको घोषणा- खेलकुद - कान्तिपुर समाचार

नेपाली फुटबल टिमलाई २ लाख पुरस्कार दिने कुश्मा नगरपालिकाको घोषणा

अगन्धर तिवारी

पर्वत — साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाली टीमलाई पर्वतको कुश्मा नगरपालिकाले २ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले शनिबार भारतसँगको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली फुटबल टीमलाई पुरस्कारस्वरुप उक्त रकम दिने सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

‘नेपाली फुटबलको क्षेत्रमा इतिहास रच्दै उत्कृष्ट खेल प्रदर्शनसहित भारतसँगको खेलमा उपविजेता बन्न सफल नेपाली खेलाडीहरुको उच्च सम्मान गर्दै नगरपालिकाको तर्फबाट २ लाख पुरस्कारको घोषणा गर्दछु,’ नगरप्रमुख जोशीले फेसबुकमा लेखेका छन् ।

खेलाडीहरुको सम्मान गर्न सकेमात्रै नेपाली खेलकुद क्षेत्र विकास हुने भएकोले आफूले उक्त रकम पुरस्कारस्वरुप दिने घोषणा गरेको जोशीले बताए । ‘हरेक क्षेत्रमा निरन्तर लाग्ने व्यक्तिले सम्मान चाहेको हुन्छ,’ आफूले पुरस्कार घोषणा गर्नुको कारणबारे जोशीले भने, ‘नेपाली खेलाडीको हौसला बढाउन हामीले टोकन अफ लभ स्वरुप यो पुरस्कार घोषणा गरेका हौं ।’ सीमित स्रोत साधनका बाबजुद नेपाली खेलाडीले देखाएको यो सफलता नेपालजस्तो मुलुकका लागि ऐतिहासिक भएको उनले बताए ।

नगरपालिकाले छिट्टै नगर समिति बैठक डाकेर उक्त पुरस्कार रकम नेपाली खेलाडीसमक्ष पुर्‍याउने जोशीले बताए ।

सिंगो देशको प्रतिष्ठा उच्च बनाउने गरी प्रदर्शन गर्ने खेलाडीहरुको सम्मानमा केन्द्र सरकारले पनि चासो दिनुपर्ने जोशीको भनाइ थियो । उनले राज्यले खेल क्षेत्रमा लगानी बढाएर विद्यालय तहदेखि नै खेलाडी उत्पादन गर्न सके नेपाली युवाहरुले खेलबाटै नेपाललाई विश्वमा चिनाउन सक्ने दाबी गरे ।

प्रकाशित : आश्विन ३१, २०७८ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्

बालबालिकासहित १७ अमेरिकी मिसनरीहरु हैटीमा अपहरित

एजेन्सी

पोर्ट औ प्रिन्स — हैटीमा १७ जना अमेरिकी मिसनरीहरु यहाँका गिरोहको अपहरणमा परेका छन् । तीन बालबालिकासहित १७ जना अमेरिकीहरु शनिबार क्रक्स डेस बोकेट्स क्षेत्रबाट गाडीमा राजधानी पोर्ट औ प्रिन्सको उत्तरी क्षेत्र तितानायनतर्फ जाँदै गर्दा अपहरणमा परेका हुन् ।

अनाथ आश्रम अवलोकन गरी उनीहरु तितानायतर्फ जाने क्रममा यस्तो घटना भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार घटनाबारे छानबिन सुरु भएको छ । साथै आइतबारसम्म यसबारे पूर्ण विवरण आउने बताइएको छ ।

अपहरणमा परेका एक अमेरिकी मिसनरीले आफूहरु अपहरणमा परेको भन्दै ह्वाट्सएपमार्फत् मद्दतका लागि आह्वान समेत गरेका छन् । आफ्नो सवारी चालक अपहरणमा परेकोले आफूहरुका लागि प्रार्थना गरिदिन ती अमेरिकीले अपिल गरेका छन् । 'कृपया हाम्रो लागि प्रार्थना गरिदिनू । हामीलाई बन्धक बनाइएको छ । उनीहरुले हाम्रो सवारी चालकलाई अपहरण गरे । प्रार्थना गरिदिनू । उनीहरु हामीलाई कता लैजाँदैछन् केही थाहा छैन,' ह्वाट्सएप म्यासेजमा भनिएको वासिङटन पोस्टले जनाएको छ ।

उक्त सन्देश पठाउने व्यक्तिबारे सूचना गोप्य राख्नुका साथै यस सन्देश पुष्टि गर्न नसकिएको केही अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । हैटीस्थित अमेरिकी दूतावासले भने यसबारे आफूहरुले पहल गर्ने जनाएको छ । हैटीमा पछिल्लो समय अपहरणका घटना ह्वात्तै बढेका छन् । गत जनवरीदेखि ६२८ जना अपहरणमा परिसकेका छन् । जसमध्ये २९ जना विदेशी नागरिक छन् ।

प्रकाशित : आश्विन ३१, २०७८ १७:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×