१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नेपाल आज ऐतिहासिक फाइनलमा भिड्दै

हिमेश

माले (माल्दिभ्स) — नेपाली फुटबलका लागि आज शनिबार विशेष रहनेछ, किनभने नेपाल भारतविरुद्ध साफ च्याम्पियनसिप २०२१ को ऐतिहासिक फाइनलमा भिड्दैछ । नेपाल साफ च्याम्पियनसिपको इतिहासमै फाइनल पुगेको यो पहिलो पल्ट हो ।

नेपाल आज ऐतिहासिक फाइनलमा भिड्दै

नेपालले माल्दिभ्सको नेसनल स्टेडियममा हुने खेलमा भारतलाई हराउँछ भने त्यो आफ्नो फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता सावित हुनेछ ।

माल्दिभ्सको स्थानीय समय अनुसार राति आठ बजे (नेपाली समय अनुसार राति ८:४५) मा खेल सुरु हुनेछ । सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालको प्रदर्शन कहिले पनि सेमिफाइनल भन्दा माथि हुन सकेको छैन् । अधिकांस समय यो प्रतियोगितामा नेपाल समूह चरणमै सीमित हुने गरेको छ ।

यसपल्ट भने नेपालले त्यो परम्परालाई ताडेर पहिलो पल्ट उपाधिको भिडन्तमा ओर्लिन लागेको छ । भारतका लागि भने आजको खेल लगातार आठौं फाइनल हुनेछ । समग्रमा कीर्तिमान सात पल्टको विजेता भारतले फाइनल खेल्न लागेको यो १२ औं पल्ट हुनेछ । अहिलेसम्मका प्रतियोगिताका १३ संस्करणमध्ये सन् २००३ मा एकै पल्ट मात्र फाइनल पुग्न सकेको थिएन् ।

अल्मुताइरी ‘डगआउट’ मा नहुने

यसपल्टको फाइनलको एउटा सबैभन्दा ठूलो विशेषता हुनेछ, दुवै टिमका प्रशिक्षक ‘डगआउट’ मा हुने छैनन् । त्यसो भनेको नेपालका अब्दुल्लाह अल्मुताइरी र भारतका इगोर स्टिमेक दुवैले टेक्निकल एरियामा रहेर आफ्ना खेलाडीलाई निर्देशन दिन पाउने छैनन, एक प्रकारले दुवै दर्शक हुनेछन् ।

दुई पहेँलो कार्डका कारण अल्मुताइरी नेपालका लागि आफ्नो अन्तिम खेलमा यो अवसरबाट वञ्चित भएका हुन् । बंगलादेशविरुद्धको खेल पछि उनले फाइनल नेपालका लागि आफ्नो अन्तिम खेल हुने बताएका थिए । त्यसको एकदिनपछि उनलाई ‘डगआउट’ मा बस्न नपाउने पत्र दिइएको थियो ।

भारतीय प्रशिक्षक स्टिमेकले माल्दिभ्सविरुद्धको खेलमा सिधै रातो कार्ड पाएका थिए, त्यसैले उनी पनि ‘डगआउट’ मा हुने छैनन् । नेपालका लागि प्रतियोगितामा अहिलेसम्म सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीमध्ये एक रहेका अञ्जन विष्टले पनि फाइनल गुमाउने छन् । उनी पनि दुई पहेँलो कार्डको मारमा परेका हुन् ।

२८ वर्ष र ४२ खेलपछि फाइनल

सन् १९९३ मा भएको सार्क गोल्डकपलाई साफ च्याम्पियनसिपको पहिलो संस्करणका रूपमा गणना गर्ने हो भने नेपाल २८ वर्षपछि पहिलो पल्ट फाइनल खेल्दैछ । यसपल्टको फाइनल अगाडि नेपालले ४२ खेल खेलिसके । यसमा राउन्ड रोबिनका आधारमा चलेको अहिलेको प्रतियोगितामा चार खेल पनि पर्छन् ।

यी चार खेलमध्ये नेपालले सुरुआती दुई प्रतिस्पर्धामा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । त्यस लगतै नेपाल भारतसँग पराजित भएको थियो । निर्णायक खेलमा भने नेपालले बंगलादेशलाई बराबरीमा रोकेको थियो । भारतले भने सुरुआती दुई खेलमा बराबरी खेलेको थियो, बंगलादेश र श्रीलंकाविरुद्ध । त्यसपछि उसले नेपाल र माल्दिभ्सलाई हराएको हो ।

भारतविरुद्ध नेपाल

साफ च्याम्पियनसिपको इतिहासमा नेपाल र भारतबीच सात खेल भएका छन् । त्यसमध्ये नेपाल एकै खेलमा मात्र विजयी रहेको छ । सन् २०१३ मा नेपालले काठमाडौंमा भएको प्रतियोगितामा भारतमाथि २–१ को ऐतिहासिक जित निकालेको थियो । यो भारतमाथि नेपालले हात पारेको अहिलेसम्मकै सबैभन्दा प्रभावशाली जित रहेको छ ।

नेपाल बाँकी पाँच खेलमा भने पराजित रहेको छ । यसपल्टको लिग चरणको हारलाई छाडेर नेपाल अन्तिम पटक सन् २०१५ को साफ च्याम्पियनसिपमा भारतविरुद्ध पराजित भएको थियो । भारतको केरलामा भएको त्यस खेलमा नेपाल ४–१ ले पराजित भएको थियो । यी दुई टिमबीचका पछिल्ला पाँँच खेलमा भारत चारमा विजयी रहेको छ ।

एक भने बराबरीमा टुंगेको छ । नेपालले अन्तिम पटक पछिल्लो महिना काठमाडौंमा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा भारतलाई १–१ को बराबरीमा रोकेको थियो । त्यति बेला नेपालले भारतसँग दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यसको दोस्रो खेलमा भने नेपाल २–१ ले पराजित भएको थियो ।

नेपाल आठौं फाइनलमा

नेपाली राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय फुटबलमा खेल्न लागेको यो आठौं फाइनल हुनेछ । यसअघिका सात फाइनलमध्ये नेपाल पाँच पल्ट विजयी रहेको छ र यसमध्ये दुई फाइनल भारतविरुद्ध रहेको छ । यस्तोमा यसपल्टको फाइनल नेपाल र भारतबीचको तेस्रो उपाधि भिडन्त हुनेछ । नेपालले सन् १९८४, १९८७ , १९९३ र १९९९ को दक्षिण एसियाली खेलकुदको फुटबल फाइनल खेलेको थियो ।

त्यसमध्ये दुई टिम संलग्न भिडन्तमा सन् १९८७ मा भारत विजयी रह्यो भने सन् १९९३ मा नेपाल । त्यसयता नेपालले सन् २०१६ को बंगबन्धु गोल्डकप, सन् २०१६ को एएफसी सोलिडारिटीकप र सन् २०२१ को थ्री नेसन्स कप फाइनल खेलेको थियो र यी तीनैमा नेपाल विजयी रहेको छ । बंगबन्धु गोल्डकपको फाइनल भने बहराइनको यू २३ टिमविरुद्ध थियो ।

रोहितको ७४ औं क्याप

नेपालका लागि रोहित चन्दले शनिबारको फाइनलमा खेल्ने निश्चित जस्तै छ । उनी त्यस उपलब्धीबाट गुज्रने हो भने त्यो नेपालका लागि ७४ क्याप हुनेछ र यसक्रममा उनले पूर्व कप्तान विराट महर्जनलाई उछिन्ने छन् र हुनेछन्, नेपालका लागि सर्वाधिक खेल्ने दोस्रो खेलाडी । विराजले थ्री नेसन्सकप खेल्ने क्रममा कीर्तिमान ७३ औं क्याप जितेका थिए । पछि त्यसलाई उछिनेर अहिलेका कप्तान तथा गोलरक्षक किरण लिम्बू नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी भएका थिए । बंगलादेशविरुद्धको पछिल्लो खेल किरणको ७८ औं क्याप थियो । त्यसै खेलमा रोहितले ७३ औं क्याप जिते र अब उनी आउटफिल्डमा नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुनेछन् ।

प्रकाशित : आश्विन ३०, २०७८ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?