कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७
साफ च्याम्पियनसिप

भारत भन्छ : नेपाल बलियो प्रतिद्वन्द्वी

हिमेश

माले, माल्दिभ्स — साफ च्याम्पियनसिप २०२१ को फाइनलमा नेपालले शनिबार कीर्तिमान सात पल्टको विजेता भारतको सामना गर्नेछ । त्यस अगाडि भारतीय सहायक प्रशिक्षक सन्मुघम वेंकटेशले उपाधि भीडन्तमा भारतका लागि नेपाल बलियो प्रतिद्वन्द्वी रहेको स्विकारेका छन् । उनले भनेका छन्, ‘नेपालविरुद्ध खेल्न सजिलो हुने छैन ।’

भारत भन्छ : नेपाल बलियो प्रतिद्वन्द्वी

त्यस अगाडि भारतले राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगिताको अन्तिम लिग खेलमा माल्दिभ्सलाई ३–१ ले हराएको थियो । फाइनल पुग्नका लागि त्यस खेलमा भारतलाई निश्चित जित आवश्यक थियो र यसक्रममा भारतले नेसनल स्टेडियममा भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

भारतका लागि कप्तान सुनील क्षेत्रीले दुई गोल गरे । यससँगै सुनिलले भारतका लागि १ सय २४ खेलमा गरेको गोल संख्या ७९ पुगेको छ । भारतले मनवीर सिंहको गोलले अग्रता लिएपछि माल्दिभ्सका तर्फबाट कप्तान अली अस्फाकले पेनाल्टीबाट गोल गरे । खेलको अन्त्यमा भारत दस खेलाडीमा सीमित भएको थियो ।

यस्तै रेफ्रीले भारतीय प्रशिक्षक इगोर स्टेमिकलाई पनि रातो कार्ड देखाए । यसै कारण उनी खेलपछि आयोजित पत्रकार सम्मेलनमा आउन योग्य भएनन् । नेपालविरुद्धको फाइनलमा पनि प्रशिक्षक स्टिमेक डगआउटमा बस्न पाउने छैनन् । लिग चरणको अन्त्यमा भारत चार खेलबाट आठ अंकसहित शीर्ष स्थानमा रह्यो भने नेपाल सात अंकमा दोस्रो स्थानमा ।

आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स भने ६ अंकमै सीमित रहेर प्रतियोगिताबाट बाहिरिएको थियो । फाइनल पुगेपछि भारत र यसका प्रशिक्षक स्टिमेकलाई धेरै राहत भने भएको छ । सुरुवाति दुई खेलमा बराबरी खेलेर निकै आलोचित बनेको भारतले अन्तिम दुई खेल भने जितेको थियो । यसैक्रममा भारतले नेपाललाई १–० ले हराएको थियो ।

प्रेस मिटमा खेलको विश्लेषण गर्दै भारतीय सहायक प्रशिक्षक वेंकटेशले भने, ‘हामी माल्दिभ्समा साफ च्याम्पियनसिप जित्न आएका हौं र त्यसै क्रममा फाइनल पुग्न सफल रहयौं । त्यसैले पूरा टिम खुसी छ । अब फाइनलमा नेपालको सामना हुनेछ । सबै खेलाडीको स्थिति बुझेपछि हामी नेपालविरुद्धको रणनीति तय गर्नेछौं ।’

प्रकाशित : आश्विन २८, २०७८ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?