नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा- खेलकुद - कान्तिपुर समाचार

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

हिमेश

माले —  नेपाल साफ च्याम्पियनसिपको इतिहासमा बुधबार पहिलो पल्ट फाइनल यात्रा तय गरेको छ । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो ।

सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पल्ट हो ।खेलको ७९ औं मिनेटमा आफ्नो पेनाल्टी एरिया बाहिर बल ह्यान्ड गरेपछि बंगलादेशी गोलरक्षक अनिसुर रहमानलाई सिधै रातो कार्ड देखाइएको थियो र खेल नेपालको पक्षमा मोडिएको थियो ।

८८औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै नेपालका लागि अन्जन विष्टले निर्णायक गोल गरेका थिए । यसअघि खेलको ९औं मिनेटमा बंगलादेशले मोहम्मद सुमन रेजाको गोलले अग्रता लिएको थियो ।

यो नतिजापछि नेपालको चार खेलबाट सात अंक भएको छ ।बंगलादेश भने चार अंकमै सीमित रह्यो र प्रतियोगिताबाट बाहिरियो । जित अथवा बराबरीमा फाइनल पुग्ने समीकरणमा रहेको नेपालले यो बराबरी नतिजा निकालेको हो ।नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएयता भारतविरुद्धको खेल गुमाएको थियो । फाइनलमा नेपालको प्रतिद्वन्द्वी बुधबारकै दोस्रो खेलले गर्नेछ । त्यस खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स र भारत खेल्दैछन् ।

बंगलादेशले नवौं मिनेटमा अग्रता लिएको हो । रेजाले हेडबाट गोल गरे ।फ्रिकिकमा प्राप्त बललाई अन मार्क रहेका रेजाले सजिलै गोल गरे । खेलको १५ औं मिनेटमा रोहित चन्द नजिकको दूरीबाट गोल गर्न चुके । गौतम श्रेष्ठले निकालेको पासमा उनको प्रहार बाहिरिएको थियो । दोस्रो हाफको ५२ औं मिनेटमा रेजा नै नेपाली गोलरक्षक किरण लिम्बूविरुद्ध वान टु वानमा बललाई पोस्टको दिशा दिन चुके । त्यसमा किरणले उत्कृष्ट बचाउ गरे ।

अञ्जन विष्टले ५९ औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार पोस्टको केही माथिबाट बाहिरिएको थियो । खेल सुरु हुन अगाडि टिम सूचीमा रहेका पुजन उपरकोटी भने मैदानमा उत्रन सकेनन् । टिम वार्म अपका क्रममा उनी घाइते भएका थिए र उनको स्थानमा विशाल राईले मौका पाएका थिए ।

प्रकाशित : आश्विन २७, २०७८ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्

शाहरुखका छोराका वकिलको दावी - 'आर्यन निर्दोष छन्, उनलाई फसाउन खोजियो'

एजेन्सी

काठमाडौँ — बलिउडका अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई गत अक्टोबर २ मा मुम्बई प्रहरीले पक्राउ गर्‍यो । समुद्री किनारमा क्रूज सिपमा लागूऔषध सेवन गरिरहेको अवस्थामा मुम्बई प्रहरीले उनीसहित ८ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले हिरासतमा राखी उनीमाथि लागूऔषध मुद्दा चलाएको छ । यसबीचमा आर्यनको पक्राउबारे अनेक प्रतिक्रिया पनि आए । धेरैले आर्यनलाई भएकोसमेत दावी गरे ।

बुधबार आर्यनको जमानतबारे भएको बहसमा उनका वकिल अमित देसाइले उनी क्रूज सिपमा त्यस साँझ उपस्थित नै नभएको दावी गरेका छन् । वरिष्ठ अधिवक्ता देसाइका अनुसार आर्यन खान र अरबाज मर्चेन्ट प्रवेशद्वारमा पुग्नुअघि नै त्यहाँ प्रहरीले छापा मारिसकेका थिए ।

साथै आर्यनको साथबाट केही पनि चिज फेला नपरेको वकिलको जिकिर छ । साथै उनको साथमा पैसा समेत नभएको र आर्यनको पक्राउ परेका अरु युवाहरुसँग सम्बन्ध नभएको वकिलले तर्क गरेका छन् ।

मुम्बई प्रहरीको लागूऔषध नियन्त्र शाखाले भने आर्यन उक्त समूहमा सहभागी भएको खुलासा गर्दै उनलाई जमानत दिन नमिल्ने बताएको छ ।

आर्यन खानका वकिलले भने उनलाई फसाइएको तर्क गरेका छन् । आर्यनको साथमा केही नभएकाले उनीमाथि गलत आरोप लगाइएको वकिलको जिकिर छ ।

गत अक्टोबर २ को राति शाहरुखका २३ वर्षीय छोरा आर्यनसहित ८ युवाहरु समुद्री किनारस्थित क्रूज सिपबाट लागूऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ परेका थिए ।

प्रकाशित : आश्विन २७, २०७८ १८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×