२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दसैं कप भारतीय टोलीलाई

नारायण खड्का

अस्ट्रेलिया — बडादसैंको उपलक्ष्यमा दक्षिण अस्ट्रेलियामा आयोजना गरिएको दसैं कपको उपाधि भारतीय टिम सहिद भगतसिंह (एसबीएस) फुटबल क्लबले जितेको छ । प्रतियोगिताको उपाधिसँगै उक्त टिमले १५ सय डलर र ट्रफी हात पार्‍यो । 

दसैं कप भारतीय टोलीलाई

यहाँस्थित एडिलेड खुकुरी फुटबल क्लब (एकेएफसी) ले विगत ९ वर्षदेखि दसैंको अवसरमा प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा दक्षिण अस्ट्रेलियामा रहेका नेपाली, नेपालीभाषी भुटानी तथा एक भारतीय टिमले सहभागिता जनाएका थिए । लिग चरणअन्तर्गत आयोजना गरिएको प्रतियोगितामा १० टोली सहभागी थिए ।

शनिबार र आइतबार दुई दिनसम्म आयोजना गरिएको प्रतियोगितामा मुख्य टिमका साथै बालबालिका तथा ३५ वर्षमाथिका खेलाडी (भेट्रान समूह) को पनि सहभागिता थियो । भेट्रानतर्फको उपाधि समेत एसबीएसले नै जितेको छ । उक्त टिमले फाइनलमा ब्रदर्स युनाइटेड फुटबल क्लबलाई ५ गोलले पराजित गरेको थियो ।

विजेता भेट्रान क्लबले ७ सय ५० डलर तथा ट्रफी हात पारेको छ । यसैगरी बालबालिकाको खेलमा नेपाली पाठशालाको टिमले नेपाली विद्यालयको टिमलाई पेनाल्टी सुटआउटमा जितेको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्तालगायतलाई समेत ट्रफी तथा पुरस्कार प्रदान गरिएको थियो ।

विवादपछि विजेता घोषणा

आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजक एकेएफसी र एसबीएसबीच खेल चलिरहेको समयमा खेलाडीबीच हातपातको अवस्था सिर्जना भएपछि आयोजकले प्राविधिकको सहयोगमा एसबीएसलाई विजयी घोषणा गरेका थिए ।

खेलका क्रममा एसबीएसका एक खेलाडीले विपक्षी टिमका खेलाडीलाई मुक्का हानेपछि विवाद चर्किएको थियो । विवाद चर्किएर हातपातको अवस्था सिर्जना भएपछि रेफ्रीले खेल समाप्त गरेका थिए । आयोजक संस्थाले आपसी छलफलपछि भारतीय टिमलाई विजेता घोषणा गरेको थियो ।

खेलपश्चात् आयोजक एकेएफसीका महासचिव राजन लामिछानेले दुई दिनसम्म चलेको प्रतियोगिताको अन्तिम दिन भएको घटनाले आफूहरूलाई दुखित बनाएको र भविष्यमा यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

उनले विदेशमा नेपाली चाडपर्व, कलासंस्कृतिको जगेर्नाका साथै प्रतिभा भएका नेपाली युवाहरूलाई अवसर दिने मुख्य उद्देश्यका साथ ९ वर्षदेखि प्रतियोगिता आयोजना गरिरहेको र आउने वर्षसमेत दसैंको अवसरमा प्रतियोगिता आयोजना हुने सुनाए ।

प्रकाशित : आश्विन २७, २०७८ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?