१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विश्वकप २०२२ छनोट : अर्जेन्टिनाको जित, ब्राजिल रोकियो

एएफपी

ब्युनर्स आयर्स — लियोनल मेसीले गोलको खाता खोलेपछि अर्जेन्टिनाले विश्वकप छनोटको रोमाञ्चक खेलमा आइतबार उरुग्वेलाई ३–० ले पराजित गरेको छ ।

विश्वकप २०२२ छनोट : अर्जेन्टिनाको जित, ब्राजिल रोकियो

लियोनल स्कोलनीको टिमले ब्युनर्स आयर्समा हात पारेको सफलतामा रोड्रिगो डे पउल र लाउतारो मार्टिनेजले पनि गोल गरे । यससँगै अर्जेन्टिनाले छनोटमा अपराजित यात्रालाई कायम राख्दै शीर्षस्थानमा रहेको ब्राजिलसँगको अन्तर पनि छोट्याएको छ । ब्राजिल कोलम्बियाविरुद्ध गोलरहित बराबरीमै रोकिँदा उसको अग्रता ६ अंकमा झरेको छ ।

‘हामीले राम्रो खेल्यौं । मेरो विचारमा हामीले धेरै सुधार गरेका छौं,’ १० खेलमा २२ अंक जोडेपछि मेसीले भने, ‘यो निकै कठिन खेल थियो र हामीले जित्नैपर्ने पनि थियो । उरुग्वे पछाडि बसेको थियो र खतरनाक थियो । एक गोल सुरुमा गरेपछि हामीले स्थान र अवसर बनाउन थालेका थियौं ।’

पहिलो हाफ ‘क्लासिक’ खालको रह्यो । एकले अर्को पोस्टमा बल पुर्‍याए र प्रहार गरे । अर्जेन्टिनाले पहिलो गोल गर्नुअघि दुवै टिमले बल पोस्टमा प्रहार गरेका थिए । उरुग्वेका लुइस स्वारेज सुरुमा निकै प्रभावशाली देखिए । उनले तीनपल्ट राम्रो अवसर पाएका थिए । कर्नरमा पाएका तीनै अवसर ‘सिक्स यार्ड बक्स’ भित्र मिलेको थियो । एक्रोब्याटिक भलीसहितका दुई प्रहारलाई गोलकिपर एमिलियानो मार्टिनेजले रोकिदिए । उनको तेस्रो प्रहार पोस्टनजिकबाट बाहिरिएको थियो ।

अर्जेन्टिनाका जियोभानी लो सेल्सोले १० यार्डबाट पनि बल बाहिर हानिदिए । मार्टिनेजले डे पाउलको क्रसलाई उपयोग गर्न सकेनन् । लो सेल्सोले गोलकिपर फर्नान्डो मुसलेरालाई छक्याउँदै प्रहार गरेको बल बारमा लागेर गोल लाइनमा बाउन्स भएको थियो । मेसीले ३८ औं मिनेटमा प्रहार गरेको बल अपत्यारिलो तवरले गोलमा परिणत भएपछि खेलको शून्यता तोडिएको थियो । उनले बायाँ खुट्टाले गरेको ‘चिप’ मा निकोल गोन्जालेज चुके र त्यसमा निर्णायक उपस्थिति दर्शाउन सक्ने अवस्था गोलकिपर मुसलेरा पनि गुमाए ।

उरुग्वेका खेलाडीहरूलाई पेनाल्टी क्षेत्र वरिपरि घुमाएको क्षण डे पाउलले ४४ औं मिनेटमा अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । मेसीले मार्टिनेजलाई दिएको पासमा बल डिफेल्क्ट भएको थियो । त्यसमा मार्टिनेजको प्रहार सटीक भएन । त्यही बललाई डे पाउलले गोलमा परिणत गरिदिए । पहिलो हाफमै मार्टिनेजले गोल गर्ने अवसर पाएका थिए तर उनले बल सीधै गोलकिपर मुसलेराको हातमा दिए ।

मार्टिनेज दोस्रो हाफमा पाएको अवसरमा भने आफ्नो नाममा गोल लेखाउन सफल भए । मेसीको चलाखीपूर्ण खेलमा डे पाउलले क्रस गर्दा पेनाल्टी क्षेत्रमा ‘अनमार्क’ रहेका मार्टिनेजले ६२ औं मिनेटमा अर्जेन्टिनाको अग्रता तेब्बर बनाए । दोस्रो हाफ पनि पहिलो हाफजस्तै रोमाञ्चक भएन । खेल अर्जेन्टिनाको नियन्त्रणमा रह्यो । उरुग्वेका लागि अझै खराब हुन सक्थ्यो । मुसलेराले अन्त्यतिर एन्जेल डि मारिया र मेसीको प्रहारलाई रोकेका थिए ।

नेयमरले ब्राजिललाई जिताउन सकेनन्

नेयमरको पुनरागमन ब्राजिलका लागि प्रेरणादायी रहेन । घरेलु टिम कोलम्बियाले विश्वकप छनोटमा ब्राजिलको शतप्रतिशत जितको यात्रालाई बाराक्विलामा पूर्णविराम लगाइदियो ।

‘द सेलेकाओ’ ले छनोटमा सुरुका नौ खेल जितेको थियो । त्यसमा २२ गोल गर्दै शीर्षस्थानमा रहेको उसले आठ अंकको अग्रता लिएको थियो । प्रशिक्षक टिटेको टिम अझै पनि अर्को वर्ष कतारमा हुने विश्वकपमा लगभग छनोट भइसकेको अवस्थामै छ । उसले पाँचौं स्थानमा रहेको कोलम्बियाविरुद्ध १३ अंकको अग्रता लिएको छ । दक्षिण अमेरिकी छनोटबाट शीर्ष चार टिमले सीधै विश्वकपमा प्रवेश पाउनेछन् ।

‘टिमको नेतृत्वका रूपमा नेयमरले राम्रो गरे,’ प्रशिक्षक टिटेले भने, ‘उनलाई कोलम्बियाको तर्फबाट राम्रो निगरानी गरिएको थियो । कोलम्बियामा अरू टिमको तुलनामा बढी नै प्राविधिक क्षमता रहेको छ ।’

ब्राजिलले राम्रो सुरुआत गरेको थियो । उसले पहिला क्वाटरमा वर्चस्व जमाएको थियो । कोलम्बियाका गोलकिपर डेविड ओस्पिनाले नेयमर र ल्युकास पाक्वेटाको प्रहारलाई रोकेका थिए । नेयमरको पासमा पाक्वेटाले ‘वान अन वान’ मा प्रहार गरेको बल ओस्पिनाले डाइभ गर्दै मुस्किलले बाहिर फालेका थिए । ब्राजिली आक्रमणको केन्द्रमा अधिकांश समय नेयमर नै थिए । दोस्रो हाफमा कोलम्बिया साहसी देखियो । ब्राजिली गोलकिपर एलिसन बेकरले म्याटियस युरिबे र जुआन क्विन्तेरोको प्रहारमा राम्रो बचाउ गरे । राडामेल फाल्काओले खेल सकिन २० मिनेटअघि बललाई पोस्टको दिशा दिएका थिए । तर मिलिताओलाई फल गरेको भन्दै त्यसलाई गोलको मान्यता दिइएन । वैकल्पिक एनटोनीको आकर्षक पासमा राफिन्हा निर्णायक गोलको नजिक पुगेका थिए । जसमा ओस्पिनाले ‘प्वाइन्ट ब्ल्यांक’ बाट उत्कृष्ट बचाउ गरिदिए ।

अंक तालिकामा पुछारमा दुई टिमका लागि दिन राम्रो रह्यो । बोलिभियाले पेरुलाई १–० ले हरायो भने भेनेजुएलाले इक्वेडरलाई २–१ ले पन्छायो । रामिरो भाकाले खेल सकिन आठ मिनेटअघि गरेको गोलमा बोलिभियाले जित हात पारेको हो । बोलिभियाका वैकल्पिक हेनरी भाकाले रातो कार्ड बेहोर्दै ७५ औं मिनेटमा मैदान छाडे पनि त्यसले तीन अंक जोड्न बाधा पारेन ।

डार्विन माचिस र एडुआर्ड बेलोको गोलमा भेनेजुएलाले दुर्लभ जित निकालेको हो । खेलमा अग्रता भने इक्वेडरले लिएको थियो । जसमा इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गरेका थिए । इंग्ल्यान्डमा जन्मिएका बेन ब्रेरेटन र माउरिसियो इस्लाको गोलमा चिलीले पाराग्वेमाथि २–० को जित रच्यो । यसमा चिलीका चार्ल्स आरंग्वेज र पाराग्वेका ओमार एल्डिएरेटले रातो कार्ड पाए ।

प्रकाशित : आश्विन २६, २०७८ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?