रोनाल्डोको अर्को कीर्तिमान


लिस्बन — क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पुरुषतर्फ सर्वाधिक गोलको कीर्तिमान बढाउँदै १ सय १२ औं गोल गरेसँगै पोर्चुगलले मैत्रीपूर्ण खेलमा शनिबार कतारलाई ३–० ले पराजित गरेको छ ।

म्यानचेस्टर युनाइटेडका फरवार्ड रोनाल्डोले एस्टाडियो अलगेर्वमा भएको खेलको ३७ औं मिनेटमा गोलको खाता खोलेका थिए । त्यसपछि उनले पहिलो हाफमै मैदान छाडेका थिए । ३६ वर्षीय उनले गत महिना इरानी फरवार्ड अली दाइको १ सय ९ गोलको कीर्तिमान तोडेका थिए ।
रोनाल्डोको यो १ सय ८१ औं खेल हो । यससँगै उनले सर्वाधिक खेल खेल्ने युरोपेली खेलाडीमा स्पेनी सर्जियो रामोसको कीर्तिमानलाई पनि उछिने । मलेसियाका सोह चिन आनको नाममा १९५ क्यापको विश्व कीर्तिमान रहेको छ । उनले सन् १९८४ मा संन्यास लिएका थिए ।
जोसे फोन्टेले पोर्चुगलका लागि अर्को गोल दोस्रो हाफमा गरेका थिए । पहिलोपल्ट अन्तर्राष्ट्रिय खेल खेलेका राफेल लियोले दुईपल्ट प्रहार
गरेको बल पोस्टमा लागेको थियो । उनी रोनाल्डोको स्थान लिँदै पहिलो हाफमा मैदानमा प्रवेश गरेका थिए । अन्तिम समयमा आन्द्रे सिल्भाले तेस्रो गोल गरे ।
विश्वकपको युरोपेली छनोटमा समूह ‘ए’ मा पाँच टिममात्रै छन् । कतारले आयोजना गर्ने विश्वकप २०२२ छनोटको प्रतिस्पर्धामा शनिबार मैदानमा नरहेका टिमहरू मैत्रीपूर्ण खेलमा उत्रिएका थिए । पोर्चुगल समूहको शीर्षस्थानमा रहेको सर्बियाभन्दा एक अंक पछाडि रहेको छ । फर्नान्डो सान्तोसको टिमले एक खेल कम खेलको छ ।
प्रकाशित : आश्विन २५, २०७८ ०७:२३