२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विश्वकप २०२२ छनोट : स्कटल्यान्डको पुनरागमन जित

एएफपी

पेरिस — स्कट म्याकटोमिनीले इन्जुरी समयमा गोल गरेपछि विश्वकप छनोटमा स्कटल्यान्डले इजरायलमाथि ३–२ गोलअन्तरको पुनरागमन जित रचेको छ । अर्को खेलमा इंग्ल्यान्ड कमजोर एन्डोरालाई ५–० ले हराउँदै अर्को वर्ष कतारमा हुने विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा छनोटनजिक पुगेको छ ।

विश्वकप २०२२ छनोट : स्कटल्यान्डको पुनरागमन जित

यो जितले स्कटल्यान्डलाई समूह एफको दोस्रो स्थानमा चार अंकको दूरीमा पुर्‍याएको छ । यो समूहमा डेनमार्क शीर्षस्थानमा छ । स्कटल्यान्डले इजरायलभन्दा ४ अंकको अग्रता बनाएको छ । सन् १९९८ पछि पहिलोपल्ट विश्वकप खेल्ने लक्ष्यमा रहेको स्कटल्यान्डले यही स्थानलाई कायम राखे समूह उपविजेताहरूको प्लेअफ खेल्नुपर्नेछ । समूहको शीर्षस्थानमा रहने टोली सिधै विश्वकपमा छनोट हुनेछन् ।

पीएसभी आइन्डहोभेनका स्ट्राइकरहरू इरन जाहावी र मुनास डाब्बुरले इजरायलका लागि गोल गरेपछि पहिलो हाफमै स्कटल्यान्ड दुईपल्ट पछि परेको थियो । घरेलु मैदान ह्याम्प्डन पार्कमा जोन म्याकगिनले एक गोल फर्काए भने पहिलो हाफको इन्जुरी समयमा घरेलु स्ट्राइकर लेडन डेक्सले पेनाल्टी उपयोग गर्न नसक्दा बराबरीको अवसर गुमेको थियो ।

५५ औं मिनेटमा उनै बराबरी गोल फर्काउन सफल रहे । सो निर्णय रेफ्रीले अस्वीकार गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (भार) ले मान्यता दिएको थियो । स्टिभ क्लार्क नेतृत्वको स्कटिस टोलीका लागि एक अंक जोड्नु पनि चित्तबुझ्दो नतिजा थियो । घरेलु टोली खेलको इन्जुरी समयमा स्पष्ट तीन अंक जोड्न सफल रह्यो ।

स्कटल्यान्डलाई समूह विजेता बन्ने न्यून सम्भावना पनि छ । सातौं चरणको खेलमा माल्डोभालाई ४–० ले हराएको डेनमार्क समान खेलबाट ७ अंकको स्पष्ट अग्रतामा छ । ‘हामीसँग थोरै खेल बाँकी छन् र हामीले निकै ध्यानपूर्वक खेलमा केन्द्रित हुनुपर्छ । आज हामी जित्न चाहन्थ्यौं र जित्यौं,’ डाइकले स्काई स्पोटर््ससँग भनेका छन् । इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले ह्यारी केन, रहिम स्टर्लिङजस्ता प्रमुख खेलाडीलाई आराम दिएका थिए । दोस्रो रोजाइका खेलाडीको बाहुल्य रहेको इंग्लिस टोलीले एन्डोरालाई ५–० गोलअन्तरले पराजित गरेको छ ।

बेन चिलवेलले १७ औं मिनेटमा गोलको सुरुआत गरे । त्यसको केही मिनेटअघि जाडोन सान्चोको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अयोग्य घोषित गरेका थिए । बुकायो शाकाले ४० औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा दुई गोलको अग्रता बनाएको इंग्ल्यान्डका लागि रोमाका स्ट्राइकर ट्यामी अब्राहमले ५९ औं मिनेटमा तेस्रो गोल गरे । ७९ औं मिनेटमा जेम्स वार्ड प्रोजले प्रहार गरेको पेनाल्टी एन्डोराका गोलरक्षक जोसेफ गोमेजले बचाए तर रिबाउन्डमा उनैले गोल गरे । ८६ औं मिनेटमा वैकल्पिक ज्याक ग्रेलिसले पाँचौं गोल गरे । उनले इंग्ल्यान्डका लागि पहिलो पटक गोल गरेका हुन् ।

‘धेरै समय लाग्यो तर यो समयको खेल हो । मैले आज गोल गरें, किनभने धेरैले मलाई यसबारेमा भनिरहेका थिए,’ ग्रेलिसले बीबीसीसँग भने, ‘मेरो विचारमा यो १६ औं खेल थियो । मैले प्रहार गरेको बलले पोस्टको दिशा लिएकामा धेरै खुसी छु ।’ इंग्ल्यान्डको खेलमा पहिलो महिला आधिकारिक रेफ्री क्याट्रिना मोन्जुलका लागि निकै व्यस्त जिम्मेवारी थियो । उनले खेलमा पाँच पहेंलो कार्ड प्रयोग गरिन् भने एउटा पेनाल्टीको निर्णय गरिन् । समूह ‘आई’ को शीर्षस्थानमा इंग्ल्यान्डले ४ अंकको स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानको अल्बानियाले हंगेरीलाई उसकै मैदानमा १–० गोलअन्तरले पराजित गर्‍यो । यो समूहमा पोल्यान्ड तेस्रो स्थानमा १ अंकको दूरीमा छ । उसले सान मारिनोलाई ५–० ले हरायो भने मंगलबार अल्बानियासँग खेल्दै छ । कोसोभोमाथि ३–० को जितपछि स्वीडेनले समूह ‘बी’ मा शीर्षस्थानको दूरी १ अंकमा झारेको छ । व्यक्तिगत रूपमा सानदार प्रदर्शन गरेका अलेक्जान्दर इशाकले उस्तै शैलीको उत्कृष्ट गोल गरे । रोविन क्वाइसन र इमिल फर्सवर्गले एक–एक गोल थपे । स्वीडेनले स्पेनभन्दा एक खेल कम खेलेको छ । उनीहरू अर्को महिना छनोट चरणको अन्तिम खेल खेल्दै छन् ।

जर्जियामाथि २–० गोलअन्तरको जितसहित ग्रिसले शीर्ष दुई स्थानमा रहने आशा जीवितै राखेको छ । ग्रिस अहिलेसम्म अपराजित छ भने स्वीडेनभन्दा ३ अंकले पछाडि छ । उसले स्पेनसँग खेल्न बाँकी छ । १० खेलाडीमा समेटिएको उत्तरी आयरल्यान्डलाई घरेलु मैदान जेनेभामा २–० ले हराएपछि स्वीट्जरल्यान्डले समूह ‘सी’ मा शीर्षस्थानको इटालीसँगको दूरी ३ अंकमा झारेको छ ।

प्रकाशित : आश्विन २५, २०७८ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?