दसैं कपको उपाधि भारतीय टीमलाई

नारायण खड्का

अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियामा आयोजना गरिएको दसैं कपको उपाधि भारतीय टीम सहीद भगतसिंह (एसबीएस) फुटबल क्लबले जितेको छ । प्रतियोगिताको उपाधिसँगै एसबीएसले नगद १५ सय डलर र ट्रफी हात पारेको छ । 

दसैं कपको उपाधि भारतीय टीमलाई

एडिलेड खुकुरी फुटबल क्लब (एकेएफसी) ले विगत ९ वर्षदेखि दसैंको अवसरमा प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगितामा दक्षिण अस्ट्रेलियामा रहेका नेपाली, नेपालीभाषी भुटानी तथा एक भारतीय टीमले सहभागिता जनाएका थिए । लिग चरणअन्तर्गत आयोजना गरिएको प्रतियोगितामा सहभागी १० टीमलाई पराजित गर्दै एसबीएसले उपाधि हात पारेको हो ।

शनिबार र आइतबार दुईदिनसम्म भएको प्रतियोगितामा मुख्य टीमका साथै बालबालिका तथा ३५ वर्षमाथिका खेलाडी (भेट्रान समूह) को पनि सहभागिता थियो । भेट्रानतर्फको उपाधिसमेत एसबीएसले नै जितेको छ । उक्त टीमले फाइनलमा ब्रदर्स युनाइटेड फुटबल क्लबलाई ५ गोलले पराजित गरेको थियो । विजेता भेट्रान क्लबले ७ सय ५० डलर नगद तथा ट्रफी जितेको छ । यसैगरी बालबालिकाको खेलमा नेपाली पाठशालाको टीमले नेपाली विद्यालयको टीमलाई पेनाल्टी सुटआउटमा जितेको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्तालगायतलाई समेत ट्रफी तथा पुरस्कार प्रदान गरिएको थियो ।

आयोजक एकेएफसी र एसबिएसबीच आइतबार खेल चलिरहेको समयमा खेलाडीबीच हात हालाहाल भएपछि आयोजक तथा रेफ्रीले एसबीएसलाई विजयी घोषणा गरेका थिए । खेलका क्रममा एसबिएसका एक खेलाडीले विपक्षी टीमका खेलाडीलाई मुक्का हानेपछि विवाद चर्किएको थियो । विवाद चर्किएर हातपातको अवस्था सिर्जना भएपछि रेफ्रीले खेल समापन गरेका थिए । आयोजक संस्थाले आपसी छलफलपछि भारतीय टीमलाई विजेता घोषणा गरेको थियो ।

खेलपश्चात् आयोजक एकेएफसीका महासचिव राजन लामिछानेले दुई दिनसम्म चलेको प्रतियोगिताको अन्तिम दिन भएको घटनाले आफूहरुलाई दुखित बनाएको र भविष्यमा यस्तो हुन नदिने प्रतिबद्धता ब्यक्त गरे । उनले विदेशमा नेपाली चाडपर्व, कलासंस्कृतिको जर्गेनाका साथै प्रतिभा भएका नेपाली युवाहरुलाई अवसर दिने मुख्य उद्देश्यका साथ ९ वर्षदेखि प्रतियोगिता आयोजना गरिरहेको र आउने वर्षसमेत दसैंको अवसरमा प्रतियोगिता आयोजना हुने सुनाए ।

तास्मानियामा बिकास्टलाई उपाधि

तास्मानियाको होबार्टमा सम्पन्न भएको दसैं कपको उपाधि भुट्नीज कम्युनिटी होबार्ट फुटबल क्लब ( बिकास्ट) ले जितेको छ । उक्त टीमले नेप्लिज फुटबल क्लब अफ तास्मानियालाई पेनाल्टी सुटआउटमा हराएको हो ।

पहिलोचोटि आयोजना गरिएको प्रतियोगितामा राज्यका ७ टीमले सहभागिता जनाएका थिए । नेपाली सोसाइटी अफ तास्मानिया, नेप्लिज तास्मानियन स्पोर्टस् एसोसिएसन र अस्ट्रेलियन नेप्लिज फुटबल एसोसिएसन तास्मानियाले आयोजना गरेको प्रतियोगिताको विजयी टीमले १५ सय डलर र ट्रफीसमेत हात पारेको छ । उपविजेतालाई १ हजार डलर र ट्रफी प्रदान गरिएको थियो । दुई दिने प्रतियोगितामा राज्यकी महान्याधिवक्तासमेत रहेकी न्याय, कार्यस्थल सुरक्षा तथा कलामन्त्री एलिस आर्चरलगायत विभिन्न समुदायका ब्यक्ति उपस्थित भएको आयोजक संस्थाका अध्यक्ष खगेन्द्र सत्यालले जानकारी दिए ।

प्रकाशित : आश्विन २४, २०७८ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?