विश्वकप २०२२ छनोट : जर्मनीको कठिन जित- खेलकुद - कान्तिपुर समाचार

विश्वकप २०२२ छनोट : जर्मनीको कठिन जित

एएफपी

ह्यामबर्ग — विश्वकप २०२२ छनोटको बाटोमा रहेका जर्मनीले थोमस मुलरले अन्त्यतिर गोल गरेपछि शुक्रबार रोमानियालाई २–१ ले हरायो भने नेदरल्यान्ड्सले लात्भियामाथि १–० को जित निकाल्यो ।

चारपल्टको विश्वकप विजेता जर्मनीले ह्यामबर्गमा पाएको जितसँगै समूह ‘जे’ मा ६ अंकको अग्रता लियो । तर, युरोपेली महारथीका लागि निकै संघर्षपूर्ण रह्यो ।

रेन्जर्सका विंगर इयानिस हाजीको गोलमा नवौं मिनेटमै रोमानियाले अविश्वसनीय अग्रता लिएको थियो । उनले डिफेन्स र गोलकिपर मार्क–आन्द्रे टेर स्टेगनलाई जिल्याउँदै गोल गरेका थिए । चोटका कारण अन्त्यतिर टेर स्टेगनको स्थानमा म्यानुयल नोयालाई मैदानमा ल्याइएको थियो ।

सर्गे जिनाब्रीले अन्तर्राष्ट्रिय ३० खेलमा २० औं गोल गर्दै ५२ औं मिनेटमा जर्मनीलाई १–१ को बराबरीमा पुर्‍याए । त्यसपछि मुलर जर्मनीका लागि १०७ औं खेल खेल्न ‘बेञ्च’ बाट आए र ४० औं अन्तर्राष्ट्रिय गोल पनि गरे । उनले खेल सकिन ९ मिनेट बाँकीमा निर्णायक गोल गरेका थिए ।

यो नतिजासँगै समूहको शीर्षस्थानको जर्मनीले अग्रता बढाएर ६ अंक बनायो । टोलीले छनोटको अर्को खेलमा सोमबार उत्तरी मेसेडोनियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । स्कोप्जमा जित हात पार्नसके जर्मनीले विश्वकपको टिकट पक्का गर्नसक्छ ।

डेभी क्लासेनले १९ औं मिनेटमा ‘भली’ मा उत्कृष्ट गोल गर्दै रिगामा डच टिमलाई ३ अंक दिलाए । लात्भियाविरुद्धको जितले नेदरल्यान्ड्स समूह ‘जी’ को शीर्षस्थानमा रह्यो । डच टिम नर्वेभन्दा २ अंकले माथि छ । नर्वेले तेस्रो स्थानको टर्कीविरुद्ध १–१ खेल्दै अंक बाँड्यो ।

स्टेफेन कुञ्जले सम्हालेयताको पहिलो खेलमा टर्कीलाई करिम अक्तुकोग्लुले इस्तानबुलमा छैटौं मिनेटमै अग्रता दिलाए । उनको पहिलो अन्तर्राष्ट्रिय गोलको अग्रता धेरैबेर टिक्न पाएन । नर्वेका क्रिस्टियन थोर्सभेतले ४१ औं मिनेटमा गोल गर्दै बराबरी गरे ।

जर्मनीका पूर्वखेलाडी कुञ्जले नेदरल्यान्ड्सविरुद्ध ६–१ को हारपछि सेनोल गुनेसलाई बर्खास्त गरेपछि टर्किस टिम सम्हालेका हुन् । त्यो हार टर्कीको इतिहासकै सबैभन्दा खराब हो ।

समूह ‘ई’ माआरोन राम्सी र डानियल जेम्सको गोलमा वेल्सले प्रागमा चेक गणतन्त्रविरुद्ध २–२ को बराबरी खेल्यो । समूहको दोस्रो स्थानको प्रतिस्पर्धामा रहेका दुवै टिमसँग ८–८ अंक छ । वेल्सले एक खेल कम खेलेको अवस्थामा बेल्जियम १६ अंकसहित शीर्षस्थानमा छ ।

विश्वकप २०१८ को उपविजेता क्रोएसियाले साइप्रसलाई ३–० ले हराएर समूह ‘एच’ मा अग्रता लियो । इभान पेरिसिच, जोसको जिभार्डियोल र मार्को लिभाजाले गोल गरे । मिलान स्क्रिनिरको आत्मघाती गोलमा स्लोभाकियामाथि १–० को जित निकालेको रुस र क्रोएसियाले समान १६ अंक जोडेका छन् । तर, गोलअन्तरका आधारमा क्रोएसिया अगाडि छ ।

प्रकाशित : आश्विन २४, २०७८ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

महिलाको मानसिक स्वास्थ्य

बच्चा जन्मिएपछि ७० प्रतिशत महिलामा यो समस्या देखिन सक्छ र धेरैजसोलाई बिस्तारै ठीक हुँदै पनि जान्छ । यस्तो बेलामा कतिपय महिलाले बच्चालाई दूध नखुवाउने, बेवास्ता गर्नेजस्ता व्यवहार पनि गर्न सक्छन् ।
अरुणा उप्रेती

महिला स्वास्थ्यको छलफल प्रायः प्रजनन स्वास्थ्यमा केन्द्रित हुन्छ, त्यसमा पनि प्रजनन उमेर (१५–४९ वर्ष) का महिलाबारे बढी चर्चा गरिन्छ । यो उमेर समूहभन्दा अघि र पछिको प्रजनन स्वास्थ्यको विषयले पनि खासै प्राथमिकता पाउँदैन । महिलाका ठूला स्वास्थ्य समस्यामध्ये मानसिक समस्या पनि एक हो । तर, यसले त्यति महत्त्व पाएको देखिँदैन । 

मानसिक स्वास्थ्य समस्या सबै उमेरका महिलामा हुन सक्छ । सामान्य अवस्थामै पनि प्रायः रजस्वला सुरु हुन लागेका किशोरीहरूमा यस्तो समस्या देखा पर्छ । त्यसै गरी प्रजनन उमेरका र रजोनिवृत्ति भइसकेका महिलाहरूमा पनि शारीरिक तथा आर्थिक, सामाजिक, पारिवारिक, सांस्कृतिकलगायत कारण मानसिक समस्या भएको हुन्छ । कतिपय अवस्थामा मानसिक समस्याले नै शारीरिक समस्या उब्जाइरहेको हुन्छ । शारीरिक अवस्था कमजोर भएपछि पनि मानसिक समस्याहरू आइरहेका हुन्छन् । सामाजिक बन्धनहरू, घरायसी समस्या, कामको बोझ र तिनलाई धान्न नसक्दा अनि शरीरका रयासनहरूमा परिवर्तन आउँदा पनि यस्तो समस्या हुन सक्छ ।

मानसिक तनावका कारण किशोरीहरूमा आत्महत्या गर्ने प्रवृत्ति बढेको छ । र, यस्ता आत्महत्याका घटनालाई प्रतिष्ठा जोगाउने नाममा लुकाउने गरिन्छ । फलस्वरूप, यसको यकिन तथ्यांक बाहिर आउँदैन । यसरी आत्महत्या बढ्नुका पछाडि बढ्दो महिला मानसिक समस्या मुख्य कारण हो । मैले पछ्याएको केहीअघिको एउटा घटनाले पनि यही भन्छ, जसमा किशोरीको आत्महत्या लुकाइएको थियो । ती किशोरीको प्रेमसम्बन्ध रहेछ । उनले विवाहको प्रस्ताव राखिन् तर प्रेमी केटाले उमेर नभएको भन्दै केही वर्ष पर्खन आग्रह गरेछ । ती किशोरीले यसलाई अर्कै अर्थमा बुझिछन् । उनलाई अपमानित महसुस भएछ । यसबाट उत्पन्न तनाव व्यवस्थापन गर्न नसक्दा उनले आत्महत्या गरिन् । तर, परिवारले बेइज्जतीको डरले आत्महत्यालाई बिरामी भएर मृत्यु भएको भनेको थियो ।

महिनावारी सुरु हुनुअघि साना कुरामा झर्को लाग्ने, दिक्क लाग्ने, बोल्न मन नलाग्नेजस्ता समस्या देखा पर्छन् । तर, यस्ता समस्या दुई–चार दिनपछि आफैं हराउँछन् । रजोनिवृत्ति भएपछि पनि धेरैजसो महिलालाई यस्तै समस्या देखा पर्छ । परिवारले यो बुझेर सोहीअनुसार व्यवहार गर्न सक्नुपर्छ । यस्तो समस्या लामो समय रहेमा उपचार गनुपर्ने हुन्छ । रजोनिवृत्तिपछि देखा पर्ने मानसिक समस्या प्रायः शरीरमा भएका हर्मोनको गडबडीले हुने गर्छ ।

उपचार तथा परामर्शले यस्ता समस्या समाधान गर्न सकिने भए पनि विविध कारणले गर्दा महिलाहरू उपचार गराउँदैनन् । यस उमेरमा महिलाहरू प्रायः सासू बनेका हुन्छन् । रजोनिवृत्तिका कारण उनीहरूमा आएको झर्किने, रिसाउने, चिडचिडाहट हुने बानीलाई नेपाली समाजमा प्रायः सासूले बुहारीलाई कज्याएको वा सास्ती दिएका रूपमा लिने गरिन्छ । यो सन्दर्भलाई बुझ्ने हो भने धेरै समस्या सामान्य बन्छन् ।

कतिपय महिलालाई गर्भवती अवस्थामा दिग्दारी, खिन्नता, तनाव, डर लागेजस्तो हुने हुन्छ । त्यस्तै कतिपय महिलालाई बच्चा पाएपछि हुने एक प्रकारको मानसिक समस्या ‘पोस्टपार्टम डिप्रेसन’ हुन्छ । शिशु जन्मेपछि शरीरमा हर्मोनको मात्रामा घटबढ भइरहन्छ । बच्चा पाएपछि महिलामा बच्चाको स्याहारसुसार गर्ने, दूध खुवाउनेलगायत जिम्मेवारी थपिन्छ । यस्तो बेला महिलालाई मद्दत गर्ने र ढाडस दिने कोही भएन भने झन् धेरै समस्यामा पर्न सक्छन् । घरकै समझदारी र सहयोगले यस्ता समस्या समाधान गर्न सकिन्छ । हाम्रो संस्कृतिमा सुत्केरी महिलालाई स्याहार्न विशेष व्यवस्था गरिएको हुन्छ । उनलाई भिन्नै कोठामा राखेर सुत्केरी मसला खुवाउने, घाममा राखेर बच्चा–आमालाई तेल लगाइदिने गरिन्छ । यी राम्रा चलनले महिलालाई धेरै मद्दत गर्छ । तर विविध कारणले कतिपय महिलाले परिवारबाट राम्रो सहयोग पाउँदैनन् । यसो हुँदा समस्या बढ्दै जान सक्छ र लामो समयसम्म रोगकै रूपमा रहिरहन्छ । यस्तो बेला उपचारको आवश्यकता पर्न सक्छ । तर, नेपाली समाजमा यसलाई रोगका रूपमा लिएर उपचार गर्ने प्रवृत्ति कमै छ । यसले महिलाहरूलाई पीडा दिइरहेको हुन्छ र यसको प्रभाव परिवारमा पनि परिरहेको हुन्छ ।

एक अध्ययनअनुसार, बच्चा जन्मिएपछि ७० प्रतिशत महिलामा यस्तो समस्या देखिन सक्छ र धेरैजसोलाई बिस्तारै ठीक हुँदै पनि जान्छ । यस्तो बेलामा कतिपय महिलाले बच्चालाई दूध नखुवाउने, बेवास्ता गर्नेजस्ता व्यवहार पनि गर्न सक्छन् । मानसिक समस्याका कारण यस्तो व्यवहार देखाउँदा घरका सदस्यहरूले ‘यो त अल्छी रहेछ, कस्तो बच्चाको पनि वास्ता नगर्ने, कस्ती आमा रहेछ’ भनेर टिप्पणी गर्ने गर्छन् । यसले महिलालाई झन् समस्या पर्न सक्छ । यस्तो बेला सकेसम्म शारीरिक र मानसिक रूपमा सहायता गर्ने, सुत्नका लागि समय दिने, दूध खुवाउन गाह्रो हुँदा मद्दत गर्ने गरेर समस्या समाधान गर्नुपर्छ ।

केही वर्षअघि एक मानसिक रोग विज्ञले आफ्नो अनुभव सुनाएका थिए । उनका अनुसार झापामा एक महिलालाई बच्चा पाएपछि पोस्टपार्टम डिप्रेसन भएछ र ‘म त गंगा हुँ, यो मेरो छोरोलाई लगेर नदीमा बगाइदिनू’ भन्न थालिछन् । अनि घरका सदस्यहरूले तुरुन्त मानसिक रोग विशेषज्ञकहाँ लगी उपचार थालेपछि उनको समस्या समाधान भएको रहेछ । उनलाई ६ महिनासम्म औषधि उपचार गर्नुपरेको थियो रे ।

आर्थिक तथा पेसागत कारण पनि कतिपय नेपाली महिलामा मानसिक समस्या देखा परिरहेको छ । नेपाली महिला खाडी मुलुकलगायतमा कामका लागि जाने क्रम बढेको छ, अचेल । यस्ता महिलामा पनि मानसिक समस्या निकै बढेको पाइएको छ । तलब नपाउनु, बस्ने–खाने राम्रो वातावरण नहुनु, पासपोर्ट पनि खोसेर राखिदिनु, परिवारबाट टाढा रहनु, सामाजिक–सांस्कृतिक भिन्नताजस्ता कारण उनीहरूमा मानसिक तनाव भइरहेको छ । कतिपय महिला विकसित देशमै गएर पनि आफ्नो बाल्य पृष्ठभूमिका कारण मानसिक समस्यामा परेको पाइएको छ । अमेरिकामा आफ्नो पतिसँग चार वर्षदेखि बसिरहेकी एक महिला कमजोर आत्मविश्वासका कारण एक्लै बाहिर जान सक्दिनन् । उनका श्रीमान्ले यताउति जाऊ, मानिससँग भेट, मोटर चलाउन सिक, कतै सानोतिनो काम गर भन्दा पनि उनी मान्दिनन् । यसको कारण खोज्दा, उनले आफूलाई सानैदेखि घरबाहिर निस्कन कडाइ गरिएको, अभिभावकले बाहिर निस्के हातखुट्टा काटिदिन्छु भनेको, विद्यालयभन्दा टाढा कतै जान नदिएको र समयमा घर नआउँदा पिटाइ खाएकाले बाहिर जाने आँट नभएको बताएकी थिइन् । बाल्यकालमा दिइएको मानसिक र शारीरिक यातनाले गर्दा ५० वर्षपछि पनि उनमा आत्मविश्वास हराएको छ । उनी परिवारमै बोझजस्तो बन्न पुगेकी छन् ।

नेपालमा मानसिक रोग लागेका महिला वा पुरुषलाई एकातिर भूत लागेको भनेर धामी–झाँक्री देखाएर फुकफाक गर्ने चलन छ, अर्कातिर यो रोगको उपचार गर्न मानसिक रोग विशेषज्ञकहाँ जाने क्रम बढ्दैँ छ । सेवा दिने स्वास्थ्य संस्थाको संख्या पनि बढ्दो छ । विश्व स्वास्थ्य संघले मानसिक स्वास्थ्यको समस्यालाई उठाउन थालेपछि यसलाई पनि स्वास्थ्यको एक महत्त्वपूर्ण अंगका रूपमा हेरिन थालेको छ ।

तर, अरू रोगजस्तो देखिने नभएकाले महिलाको मानसिक समस्याको उपचारतिर त्यति ध्यान दिइन्न । यसलाई लुकाउने र बेवास्ता गर्ने प्रवृत्तिले गर्दा महिलाहरूमा यो समस्या जटिल बनिरहेको छ । यसको समयमै उपचार नगर्दा जीवनको गुणस्तर नै कमजोर हुन्छ । ढिलो उपचार सुरु गर्दा निको पार्न झन् बढी समय लाग्ने हुनाले, छिट्टै गर्नुपर्छ । परिवार, समाज र राज्यले पनि यस समस्यालाई बुझ्ने र समाधान गर्नेतिर प्रयास गर्नु जरुरी छ ।

प्रकाशित : आश्विन २४, २०७८ ०८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×