कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

साफ च्याम्पियनसिप : भारतलाई उक्साउँदै अल्मुताइरी

भारतीय प्रशिक्षक भन्छन्, ‘नेपालको सामना गर्दा हाम्रा लागि जित निकाल्नुबाहेक अन्य विकल्प हुने छैन’
हिमेश

माले, माल्दिभ्स — अब्दुल्लाह अल्मुताइरीले सकिएको प्रि–म्याच कन्फ्रेन्सलाई ‘पख’ भन्दै रोके र आफ्नो एउटा भनाइ बाँकी रहेको बताए । उनले भने, ‘के हुने हो मैदानमै हेरौं । सुनेको भन्दा देखेकोमै विश्वास गरौं । यो सन्देश कोही विशेषका लागि हो । हामीले उत्तर दिने भनेको मैदानमै हो, कुरा गरेर होइन ।’

साफ च्याम्पियनसिप : भारतलाई उक्साउँदै अल्मुताइरी

साँच्चै यो सन्देश कसका लागि हो त ? प्रशिक्षक अल्मुताइरीले खुलाउन चाहेनन् । उल्टै थपे, ‘यो सन्देश जसका लागि हो, उसले पक्कै हेर्नेछ, सुन्नेछ ।’ साफ च्याम्पियनसिप २०२१ मा नेपालले आइतबार छिमेकी भारतको सामना गर्दै छ । त्यसअगाडि आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सले श्रीलंकाको सामना गर्नेछ । राउन्ड रोबिनका आधारमा चलिरहेको प्रतियोगिताको ‘म्याच डे फोर’ का खेलले फाइनल पुग्ने टिमको निर्णय गर्न सक्नेछ । यदि गरेन भने पनि कस्तो स्थितिमा को जान्छ, त्यसको त पक्कै निर्णय गर्नेछ । त्यसको ठीकअगाडि भने नेपाल नै फाइनल प्रवेशमा बलियो प्रत्याशी रहेको छ ।

नेपालको २ खेलबाट ६ अंक जोडेको छ । टोली शीर्षस्थानमा छ । तर, नेपालका प्रशिक्षक अल्मुताइरी मान्छन्, दुई जितले केही पनि गर्दैन । नेपाली समर्थक त्यसमै धेरै खुसी हुन आवश्यक छैन, खासमा संयमित हुनुपर्छ । त्यसमाथि प्रतिद्वन्द्वी अरू होइन, भारत रहेको छ । अल्मुताइरीले भनेका छन्, ‘भारत निकै बलियो टिम हो । भारतीय फुटबलको इतिहास समृद्ध छ । भारत र नेपालको फुटबलबीच तुलना नै हुन्न । भारतीय प्रशिक्षक र मेरो पनि तुलना हुन्न ।’

उनकै शब्दमा भन्दा भारतीय प्रशिक्षक इगोर स्टिमेक विश्वकप खेलेका खेलाडी हुन्, जबकि अल्मुताइरीले कुवेतका लागि एक खेल पनि खेल्न पाएनन् । त्यसैले माले नेसनल स्टेडियममा हुने खेलमा उनी नेपालको जितको सम्भावना एक प्रतिशतमात्र देख्छन्, बराबरी भने चार प्रतिशत । बाँकी ९५ प्रतिशत जितको सम्भावना भने भारतकै हो । उनी भारतीय फुटबललाई उच्च सम्मान गर्छन् । अल्मुताइरी भन्छन्, ‘तर, हामी भारतसँग पटक्कै डराउँदैनौं ।’

सायद उनी भारतीय प्रशिक्षक र खेलाडीलाई उक्साउन चाहन्छन् । ‘माइन्ड गेम’ खेलेर आफ्ना प्रतिद्वन्द्वीमाथि दबाब सिर्जना गर्न चाहन्छन् । तर उनको त्यो अन्तिम सन्देश कसका लागि हो, त्यो

ठ्याक्कै छुटिँदैन । बरु नेपाली टोलीका कप्तान किरण लिम्बूले प्रस्ट बुझ्ने भाषामा भने, ‘नेपाली फुटबलकै सपना हो साफ च्याम्पियनसिप जित्ने । हामी त्यसका लागि बिस्तारै पाइला चाल्दै छौं । अबको खेल भारतविरुद्ध छ, त्यो एक अर्को महत्त्वपूर्ण पाइला हुनेछ ।’ उनले यो पनि भने, ‘नेपाली खेलाडीले कडा मिहिनेतले खेल्नेछन् ।’

भारतीय प्रशिक्षक स्टिमेक नेपालविरुद्धको खेलमा जित नै एकमात्र विकल्प मान्छन् र भन्छन्, ‘हामी प्रतियोगिताबाट बाहिरिएका छैनौं । स्पष्ट छ, हामी उपाधि जित्न आएका हौं । त्यसैले नेपालको सामना गर्दा हाम्रा लागि जित निकाल्नुबाहेक अन्य विकल्प हुने छैन ।’ उनले आफ्नो टिमको अहिलेसम्मको प्रदर्शनमा सन्तोष मान्ने ठाउँ नभएको सुनाउँदै भने, ‘अहिलेसम्मको प्रदर्शनमा हामी खुसी छैनौं ।’

कम्तीमा भारतीय खेलाडी ब्रेन्डन फर्नान्डेज मान्छन्, आफ्नो टिम एक प्रकारले दबाबमा छ । उनले केही चतुर्‍याँइपूर्वक उत्तर दिन चाहे र भने, ‘प्रत्येक खेल अगाडि सबै टिम दबाबमा हुन्छन् । दबाबबिनाको फुटबल खेल नै हुन्न । हामी पनि दबाबमा छौं, किनभने हामीले सुरुआती दुई खेलमा सोचेजस्तो खेल्न सकेका छैनौं ।’

नेपालले भारतलाई हराउने हो भने सिधा फाइनल पुग्नेछ । त्यसबाहेक अन्य नतिजामा पनि नेपालको फाइनल पुग्ने सम्भावना जीवन्त बाँकी रहनेछ । भारतको २ अंक छ । माल्दिभ्सको भने ३ अंक छ । यस्तै श्रीलंका ३ खेलबाट १ अंकमै सीमित छ । बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ । श्रीलंका भने प्रतियोगितामा सहभागी पाँच टिममध्ये फाइनल पुग्ने समीकरणबाट बाहिरिइएको एक्लो हो । त्यसैले टिमका प्रशिक्षक समिर एलगिच मान्छन्, श्रीलंकामाथि कुनै प्रकारको दबाब छैन, त्यसैले खुलेर खेल्ने प्रयासमा हुनेछ । उनी भन्छन्, ‘खासमा भन्दा जति पनि दबाब हुनेछ, त्यो माल्दिभ्समै टाउकोमा हुनेछ । एक त माल्दिभ्स आयोजक हो, दोस्रो डिफेन्डिङ च्याम्पियन ।’

त्यसैले यी प्रशिक्षकको विचारमा माल्दिभ्सलाई श्रीलंकाको सामना गर्दा सजिलो हुने छैन । माल्दिभ्सका प्रशिक्षक अली सुजेन भन्छन्, श्रीलंकाविरुद्धको खेल सजिलो हुन्न । यसको एउटै कारण खेल दिउँसो हुनेछ, त्यसैले यो समय खेल्न सजिलो हुन्न । उनले भने, ‘खेल दिउँसो हुनेछ, त्यसैले यसको प्रभाव खेलमा धेरै रहनेछ ।’

उनले टिममा खास–खास खेलाडीमा चोटको समस्या रहेको सुनाए । ती सबै टिम चिकित्सकको सूक्ष्म निगरानीमा रहेको बताए ।

प्रकाशित : आश्विन २४, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?