पाँच किलोमिटर दौडमा सन्तोष पहिलो

रमेशकुमार पौडेल

चितवन — नेपाल प्रहरीका सन्तोषनाथ योगी शनिबार बिहान राइनो क्लबले नारायणगढमा आयोजना गरेको पाँच किलोमिटर दौड प्रतियोगिताको विजेता भएका छन् । देवघाटदेखि सुरु भएर नारायणगढ लिलाचोकमा टुङ्गिएको दौड योगीले १५ मिनेट २४ सेकेन्डमा पूरा गरेका थिए । नेपाली सेनाको कालीबहादुर गणका आशिष गुरुङ १६ मिनेट १० सेकेन्डमा सो दुरी पार गरेर उपविजेता भए । 

पाँच किलोमिटर दौडमा सन्तोष पहिलो

कालिका नगरपालिका पदमपुरका अमृत बोटे प्रतियोगितामा तेस्रो भएका छन् । आशिष गुरुङभन्दा केवल तीन सकेन्ड पछाडी परेका अमृतले १६ मिनेट १३ सेकेन्डमा दौड पूरा गरेका थिए । पहिलो हुनेले १० हजार, दोस्रोले सात हजार र तेस्रो हुनेले चार हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी भरतपुर रामनगरका सुविर थापा चौथो र भरतपुर बसेनीका कुशल गुरुङ पाँचौं भए ।

सुविरले १६ मिनेट २६ सेकेन्ड र कुशलले १६ मिनेट ३८ सेकेन्डमा दौड पूरा गरेका थिए । उनीहरुले पनि क्रमश: नगद दुई हजार र एक हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा ३५ जनाले भाग लिएको आयोजकले जानकारी दिएका छन् । दसैंको अवसर पारेर दौड प्रतियोगिता राखेको राइनो क्लबका अध्यक्ष भरतकुमार श्रेष्ठले बताए । भरतपुर–१ का वडाध्यक्ष जयराम श्रेष्ठले विजयी खेलाडीलाई पुरस्कार दिएका थिए ।

प्रकाशित : आश्विन २३, २०७८ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?