कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

क्यासल राष्ट्रिय फुटसल च्याम्पियन

काठमाडौंबाहिरका मुख्य सहरमा पनि फुटसलको माहोल बढिरहेको यो प्रतियोगिताले पुष्टि गरेको छ

पोखरा — मिडफिल्डर पोजिसनबाट फुटबल खेल्ने विष्णु गुरुङले करिअरको अधिकांश समयमा थ्रीस्टार क्लबको बेन्चमै बिताए । यस अर्थमा उनको खेलाडी जीवन चम्किलो छैन ।
खेलाडी हुँदाहुँदै ‘सी’ र ‘बी’ लाइसेन्स प्रशिक्षण कोर्स पूरा गरेर विद्यालय र उमेर समूहका क्लबको प्रशिक्षण सम्हालेका गुरुङलाई दुई वर्षअघि एएफसी कप छनोटका लागि राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षक बनाइँदा धेरैको आश्चर्य थियो ।

क्यासल राष्ट्रिय फुटसल च्याम्पियन

प्रशिक्षण करिअर थालेको छोटो समयमै एकपछि अर्को सफलता पाएका गुरुङले सोही अनुभव प्रयोग गर्दै मोफसल टोली स्पोर्ट्स क्यासल पोखरालाई ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको पहिलो संस्करणमै च्याम्पियन बनाएका छन् । घरेलु फुटसलको इतिहास लामो छैन । त्यसैले फुटसल काठमाडौं केन्द्रित मानिन्छ । काठमाडौंबाहिरका मुख्य सहरमा पनि फुटसलको माहौल विस्तारै बढिरहेको यो प्रतियोगिताले पुष्टि गरेको छ । काठमाडौंको शंखमूल फुटसललाई ४–२ गोलले हराएर पोखरेली टोलीले आफ्नो स्तर प्रमाणित गरेको छ ।

देशभरबाट छनोट प्रक्रिया पार गरेर आएका १० टोलीबीच असोज २ देखि भएको राष्ट्रिय लिगमा धरानको राइजिङ क्लब, पोखराका क्यासल र सविन मेमोरियलजस्ता टोलीले आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर पाए ।

स्पोर्ट्स क्यासलका ‘मास्टर माइन्ड’ हुन् प्रशिक्षक गुरुङ । राष्ट्रिय टोलीको प्रशिक्षक हैसियतबाट देशभरका फुटसल खेलाडीलाई गरेको निगरानी क्यासलको सफलतामा कारक बन्यो । ‘यो प्रतियोगितामा सहभागी १० टोलीका १ सय ५० खेलाडीको बलियो र कमजोर पक्षबारे मलाई जानकारी छ । सायद मेरो टोलीको सफलताका लागि यसले पनि सहयोग गरेको हो,’ पहिलो ललित स्मृति यू–१८ फुटबलमा थ्रीस्टारको टोलीलाई प्रशिक्षण दिएका गुरुङले कान्तिपुरसँग भने, ‘मैले ए लाइसेन्स कोर्स पूरा गरेको छु । यसबीचमा राष्ट्रिय फुटबल टोलीका प्रशिक्षकहरू अब्दुल्लाह अल्मुताइरी, ग्यारी फिलिप्स, हरि खड्कालगायतका सिनियरबाट सिकेका कुरा मैले पोखरेली भाइहरूमा प्रयोग गरें ।’

विजेतालाई ट्रफी प्रदान गरिँदै

जारी प्रतियोगितामा स्पोर्ट्स क्यासलले खेलेका १२ मध्ये ११ खेलमा उनीहरू च्याम्पियन शैलीमै प्रस्तुत थिए । टिमवर्ट उत्कृष्ट थियो । टचलाइनबाट प्रशिक्षकको निर्देशन पालना गरिरहेका खेलाडीहरूले त्यही गरे, जुन आवश्यक थियो । लिग चरणको अन्तिम खेलमा धरानको राइजिङ टोलीसँग भने उनीहरू रणनीतिक रूपमा हारिदिएका थिए । शंखमूलसँग लिग चरणमा क्यासलले २–२ को बराबरी खेलेको थियो । यसबाहेक घरेलु दर्शकको साथ जितको अर्को कारण हो । फाइनलमा पोखरा रंगशालाको कभर्डहल घरेलु समर्थक भरिभराउ थिए । भुभुजेला र बाजाको तालमा खेल अवधिभर समर्थकले खेलको मजा लिए । नतिजा उनीहरूले खोजेजस्तै आयो । प्रशिक्षक गुरुङले पनि स्वीकारे, ‘घरेलु समर्थक नै हाम्रो जितको आधार हो ।’

यसअघि २०७३ र २०७४ सालमा राजधानीमा आयोजित राष्ट्रिय फुटसल लिग च्याम्पियन शंखमूलले फाइनलसमेत गर्दा लगातार चौथो दिन खेलिरहेको थियो । राइजिङसँग बिहीबार खेलेको दोस्रो क्वालिफायर त लिगकै लामो समय (झन्डै तीन घण्टा) सम्म चलेको थियो । खेलतालिकाप्रति सुरुदेखि नै असन्तुष्ट शंखमूलका प्रशिक्षक प्रकाश परियार आफ्नो टिमको हारको कारण त्यसैलाई मान्छन् ।

‘पहिलोपल्ट भएको हुनाले हामीले धेरै कुरामा कम्प्रोमाइज गर्नुपर्‍यो । खेलतालिका, रिजर्भ खेलाडीको व्यवस्था, कार्डका नियमहरू, सबै पछि निर्णय गरिएका कुराहरू हुन् । राम्रो हुँदै जान्छ भन्ने अपेक्षामा हामीले स्वीकार्दै गयौं । यो वर्षमात्र होइन, अर्को वर्ष पनि खेल्नुपर्छ । यसलाई निरन्तरता दिनुपर्छ भन्ने सबै सहभागीको सोच थियो,’ प्रशिक्षक परियारले भने, ‘तपाईंहरूलाई थाहा छ, यो हाम्रो लगातार चौथो दिनको खेल थियो । लगातार खेल्दा रिकोभरी समय भएन । आगामी दिनमा यस्ता सबै कुरा मध्यनजर गरेर प्रतियोगिता भयो भने सजिलो हुन्छ ।’

फाइनलमा समर्थक

उपाधि जित्ने लक्ष्य पूरा हुन नपाएकामा शंखमूलका खेलाडीहरू भावुक थिए भने प्रशिक्षक निराश । तैपनि खेलमा हारजित हुन्छ भन्ने भावना व्यक्त गर्दै उनले भने, ‘पहिलोपल्ट भएको यो प्रतियोगितामा हामीले उपाधि जित्ने लक्ष्य राखेका थियौं । फाइनलमा विपक्षीले सन्तुलित खेल्यो । धेरै कुरामा हाम्रो कमजोरी थियो आज । अवे खेल्न आउँदा धेरै कुरा विचार गर्नुपर्दोरहेछ । हामीले धेरै सिक्यौं । आगामी प्रतियोगितामा अझै तयारी गरेर मानसिक रूपमा तयार भएर आउने छौं ।’ प्रतियोगिता सञ्चालन हुँदै गर्दा देखिएका थुप्रै कमीकमजोरीलाई पहिलोपल्ट भएको नाममा सम्झौता गरिएको परियारको दाबी थियो । रेफ्रीको एकपक्षीय वा अपरिपक्व निर्णय, रिजर्भ खेलाडीको प्रतिस्थापन नियम, कार्डको नियमलगायतका विषयमा असन्तुष्टि जनाउने अधिकांश प्रशिक्षकमा परियार पनि पर्छन् ।

‘हामीले वास्तविक फुटसलको अभ्यास हुनु नै सबैभन्दा ठूलो कुरा हो । खेलाडीहरूले फुटसललाई करिअर बनाएर अघि बढ्ने आधार बनेको छ । यो फर्म्याटलाई अझै राम्रो बनाउन सकिन्छ,’ प्रतियोगिताका सकारात्मक पक्ष समेट्दै उनले थपे, ‘यो प्रतियोगिताको अर्को संस्करण कसरी व्यवस्थित बनाउने र अन्य प्रतियोगिताहरू कसरी गर्ने भन्नेबारे विचार गर्नुपर्छ । क्लबहरूले पनि यो स्तरको प्रतियोगिता खेल्नका लागि टिम निर्माण र फिटनेसको आवश्यकता बुझ्नुपर्छ ।’

फाइनलको छैटौं मिनेटमै विजय गुरुङको गोलबाट घरेलु टोलीले अग्रता बनाए पनि शंखमूलका लक्ष्मण थापामगरले ११ औं मिनेटमा बराबरी गोल फर्काए । ह्याट्रिक गरेका किशोर गुरुङले पहिलो हाफको अन्तिम र दोस्रो हाफको पहिलो मिनेटमा गोल गरेपछि क्यासलले ३–१ को अग्रता बनायो । २३ औं मिनेटमा मणि लामाले शंखमूलबाट दोस्रो गोल गरे । बराबरी गोल फर्काउन प्रयासमा शंखमूलका गोलरक्षक अनिष श्रेष्ठ अगाडि बढेको मौका छोपेर किशोरले ३९ औं मिनेटमा आफ्नो ह्याट्रिक पूरा गर्दै टिमको जित निश्चित गरे ।

प्रतियोगिता जेठ महिनामा आयोजना गर्न चैतमा देशभर छनोट प्रक्रिया सुरु गरिएको थियो । एक महिना लगाएर गरिएको छनोटबाट १० टोली छानिए । त्यसमध्ये धरानका १, पोखराका २ र काठमाडौंका १ टोली प्लेअफमा पुगेका थिए । रूपन्देहीका दुवै टोली लुम्बिनी फुटसल र झरना स्पोर्ट्स क्लब अंकतालिकामा अन्तिममा रहेर रेलिगेसनमा परे । एन्फाले निकट भविष्यमै ‘बी’ डिभिजन फुटसल लिग गर्ने जनाएको छ ।

विधागततर्फ शंखमूल फुटसलका गोलरक्षक अनिश श्रेष्ठ र मणि लामा सर्वोत्कृष्ट चुनिए । विष्णु गुरुङ उत्कृष्ट प्रशिक्षक बने । क्यासलकै युवा खेलाडी १७ वर्षीय सुमित श्रेष्ठले इमर्जिङ खेलाडीको पुरस्कार पाए । प्लेअफमा पुग्न असफल फुटसल फाइभ धरानका फिक्सो विजय श्रेष्ठ आफ्नो पोजिसनमा उत्कृष्ट भए । सबैले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए । उपाधि विजेता क्यासलले १० लाख र शंखमूलले ५ लाख रुपैयाँ पुरस्कार पाए ।

विधागततर्फ उत्कृष्ट

अनिश श्रेष्ठ (शंखमूल)

उत्कृष्ट गोलरक्षक

हामीले उपाधि जित्ने नै लक्ष्य राखेको भएर फाइनलमा हार्नुपर्दा खुसी छैन । तर व्यक्तिगत रूपमा यो पुरस्कारले खुसी लागेको छ । यसले अझै राम्रौ प्रदर्शन गर्न र अन्तर्राष्ट्रिय रूपमा आफूलाई प्रमाणित गर्न प्रेरणा मिलेको छ । जेठमै हुनुपर्ने यो प्रतियोगिता ढिलै भए पनि भयो । यसले हामीलाई सकारात्मक बनाएको छ । हामी फाइनलमा हारेका छौं, हारबाटै धेरै कुरा सिकिने हो । अझै धेरै मिहिनेत गर्नुपर्छ भन्ने लागेको छ र गर्नेछु ।

अपेक्षाअनुसारकै प्रतियोगिता भयो । खेलतालिकामा टिमको आरामलाई चाहिँ ध्यान दिएको पाएनौं । लगातार खेलाउन अन्तर्राष्ट्रिय नियमले दिए पनि हामीले पहिलोपल्ट खेलेको हुनाले विचार गरेर खेलतालिका निर्धारण गरिदिएको भए राम्रो हुन्थ्यो । राष्ट्रिय टोलीलाई लामो समयसम्म कायम राख्न क्षेत्रीय प्रतियोगिताको पहल गर्ने, मैत्रीपूर्ण खेल आयोजना गर्दै यसलाई लोकप्रिय बनाउँदै लैजाने हो भने देशभर धेरै फुटसल प्रतिभाहरू छन् । उनीहरू पनि प्रोत्साहित हुनेछन् । यही प्रतियोगितामा पनि धेरै नयाँ र स्तरीय खेलाडीहरू देखिएका छन् ।

मणि लामा (शंखमूल)

उत्कृष्ट एएलए

प्रतियोगिताका लागि हामीले उपाधि नै जित्ने सोचका साथ आएका हौं । त्यो हुन नसके पनि व्यक्तिगत अवार्ड पाउँदा खुसी नै लागेको छ । म ‘ए’ डिभिजन लिग फुटबल पनि खेल्ने भएको हुनाले यो प्रतियोगिताका लागि समय व्यवस्थापन गर्न कठिन भएको थियो । फुटबलमा हाम्रो क्लबको प्रशिक्षण सुरु भइसकेको छ । फुटबलकै तयारीमा व्यस्त भएको हुनाले फुटसलको तयारी राम्रोसँग गर्न सकेको थिइनँ । आएर खेलियो । फरक माहौलमा खेल्दा गाह्रो नै भएको थियो ।

शंखमूल फुटसलबाटै खेलेर हुर्किएको हो म । मेरो बाल्यकालको क्लब पनि भएकाले मेरो यो टिमसँगको निकटता भावनात्मक रूपमा बढी छ । त्यसैले व्यावसायिक जीवनभन्दा माथि उठेर यो क्लबसँग दाजुभाइको सम्बन्ध भएको हुनाले क्लबका लागि म जतिबेला पनि उपलब्ध भइरहेको छु । पहिलोपल्ट यो लिग आयोजना भएपछि भविष्यमा फुटबल र फुटसललाई छुट्याउने कुराहरू पनि आइरहेका छन् । फुटसलले यस्ता प्रतियोगिताहरू आयोजना भइरह्यो भने फुटसलमात्र रोज्ने खेलाडी पनि धेरै पाइन्छन् । मेरो हकमा मैले तत्काल नै केही निर्णय गर्न सक्दिनँ ।

विष्णु गुरूङ (स्पोर्ट्स क्यासल)

उत्कृष्ट प्रशिक्षक

मेरा लागि यो अविस्मरणीय क्षण हो । उपाधिसँगै उत्कृष्ट प्रशिक्षक पुरस्कारले सकारात्मक उर्जा आएको छ । प्रतियोगितामा आउनुअघि नै मलाई मेरो टिम र आफैंप्रति एउटा विश्वास थियो । किनभने मैले फुटसल देखेको थिएँ, बुझेको थिएँ । एन्फाले मलाई राष्ट्रिय टोलीको प्रशिक्षण गर्ने अवसर दिएको थियो । मैले ‘ए’ लाइसेन्स प्रशिक्षण कोर्स गरिसकेको छु । त्यो अनुभवलाई यो टिममा प्रयोग गर्ने प्रयास गरें । यो टिमले सोचेअनुसार नै नतिजा दियो ।

वास्तविक फुटसलमा प्रतियोगिता गर्ने भनिसकेपछि कस्तो मैदानमा खेल्नुपर्छ र कुन रणनीति प्रतियोग गर्नुपर्छ भन्ने मैले बुझेको थिएँ । त्यसबाहेक विपक्षी टोलीका मुख्य खेलाडीबारे पनि जानकार भएकाले उनीहरूलाई रोक्न सहज भयो । प्रतियोगितामा कमजोरीहरू पनि हुन्छन् । त्यसलाई छाडेर यो प्रतियोगिताले नयाँ खेलाडीका लागि बाटो खोलिदिएको छ । लिगले राष्ट्रिय टोली बलियो हुनेछ । अब हामी मिनी फुटसलबाट वास्तविक फुटसलमा प्रवेश गरेका छौं । यसलाई निरन्तरता दिनुपर्छ । पहिलोपल्ट भएको हुनाले धेरै पक्षमा सम्झौता भएको छ । लिगले वास्तविक फुटसलको पहिचान दिएको छ । त्यसका लागि एन्फा र कान्तिपुर मिडिया ग्रुप र टेलिभिजन परिवारलाई धन्यवाद दिन्छु ।

सुमित श्रेष्ठ (स्पोर्ट्स क्यासल)

इमर्जिङ खेलाडी

निकै खुसी छु । स्पोर्ट्स क्यासलको टिमले गर्दा मैले यो पुरस्कार पाएको हुँ । हामीले राम्रो खेल्यौं र उपाधि जित्न सक्यौं । अबको मेरो लक्ष्य देशका लागि खेल्ने हो । यो सफलतामा मेरा प्रशिक्षक र सहयोग गर्ने सबैलाई धन्यबाद दिन चाहन्छु । प्रशिक्षक विष्णु गुरुङले सिकाएका कुरा मैदानमा लागू गर्‍यौं । परिवार र सहयोग गर्नेहरूको प्रेरणाले अझै राम्रो गर्न उत्साह मिलेको छ । मैले राष्ट्रियस्तरको ठूलो प्रतियोगिता पहिलोपल्ट खेलेको हो । काठमाडौंको टोलीहरूलाई बलियो मानिन्थ्यो । उनीहरू राम्रो खेल्थे पनि । तर हामी सक्ने रहेछौं भनेर आफैंमाथि गर्व लागेको छ । प्रशिक्षकले हामीलाई त्यो हौसला पहिल्यैदेखि दिनुभएको थियो । फुटसल व्यावसायिक बनेको अवस्थामा र यसबाटै करिअर बन्ने अवस्था भयो भने म फुटसलमा मात्र केन्द्रित हुनेछु । तर अहिले नै फुटसल खेलेर मात्र करिअर बनाउन सकिने स्थिति छैन ।

विजय श्रेष्ठ (फुटसल फाइभ)

उत्कृष्ट फिक्सो

व्यक्तिगत रूपमा उत्कृष्ट हुन पाएकामा खुसी छु । अन्तर्राष्ट्रिय नियमअनुसार प्रतियोगिता पहिलोपल्ट भएको हुनाले राम्रै अनुभव भयो । हामीले आफूले सकेजति प्रयास गरेका थियौं । लिगको अन्तिम तथा निर्णायक खेलमा कार्डको समस्याले मुख्य खेलाडीहरू बाहिर हुनुपर्‍यो । यो प्रतियोगितामा रेफ्रीका पनि कमजोरीहरू रहे । सामान्य फाउलहरूमा कार्ड देखाउने, अपिल गर्न जाँदा पनि कार्ड देखाइदिने गर्दा हामीलाई त्यसले निरुत्साहित बनाएको थियो । हाम्रो टोली दाबेदार टोली थियो तर अन्तिम खेलमा सम्हालिन सकेनौं ।

प्रकाशित : आश्विन २३, २०७८ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?