१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : शंखमूल र क्यासलको उपाधि भेट

शंखमूलले राइजिङसँग बिहीबार खेलेको दोस्रो क्वालिफायर लिगकै सबैभन्दा लामो खेल बन्यो

पोखरा — ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा देशभरबाट छनोट प्रक्रिया पूरा गरी १० टोलीले प्रतिस्पर्धा गरेका थिए । उपत्यकाको प्रतिनिधित्व गर्दै शंखमूल फुटसल र मोफसलको प्रतिनिधित्व गर्दै घरेलु टोली स्पोर्ट्स क्यासलले शुक्रबार उपाधि प्रतिस्पर्धा गर्नेछन् ।

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : शंखमूल र क्यासलको उपाधि भेट

बिहीबार दोस्रो क्वालिफायरमा शंखमूलले धरानको दी राइजिङ क्लबलाई अतिरिक्त समयमा पराजित गरी फाइनल तय गरेको हो । क्यासल भने राइजिङलाई हराएर सिधै फाइनल पुगेको हो । वास्तविक फुटसलको नियममा आधारित रही पहिलोपल्ट आयोजना भएको राष्ट्रिय लिगमा खेलाडी, प्रशिक्षक र रेफ्रीका लागि परीक्षण नै थियो ।

तीमध्ये तुलनात्मक रूपमा व्यावसायिक प्रशिक्षकले सम्हालेको दुई टोलीले फाइनल खेल्न लागेका छन् ।

सुरुदेखि नै आक्रामक रहँदै त्यसलाई अन्तिमसम्म कायम राखेर फाइनल पुगेको क्यासलको जिम्मा प्रशिक्षक विष्णु गुरुङले लिएका थिए । उनी पछिल्लो राष्ट्रिय फुटसल टिमका प्रशिक्षकसमेत हुन् । सुस्त सुरुआत गरी लय समाउान थालेको शंखमूलका प्रशिक्षक प्रकाश परियारसँग विष्णुको जति अनुभव छैन । पूर्व खेलाडी हुँदै प्रशिक्षण सुरु गरेका उनी फुटसललाई फुटसलकै शैलीबाट अगाडि बढाउन रणतीनिक रूपमा चतुर छन् ।

दुई वर्षअघि राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका गोलरक्षक अनिश श्रेष्ठ, अरुज सिंह र मणि लामा शंखमूलका मुख्य हतियार हुन् । दोस्रो क्वालिफायरमा राइजिङलाई हराउन तीन खेलाडीले आफ्नो पोजिसनबाट सानदार योगदान गरे । राइजिङलाई ४–३ गोलले हराउँदा चारै गोल मणिले गरेका थिए ।

क्यासलसँग फुटसलको अन्तर्राष्ट्रिय अनुभवी खेलाडी छैनन् । तर, उनीहरूसँग एक आक्रामक प्रशिक्षक छन् । फुटबल पृष्ठभूमिबाट आएका खेलाडीको स्टामिनाले उनीहरूलाई तीव्र खेलमा सहयोग गरेको छ । १७ वर्षीय सुमित श्रेष्ठ, ३६ वर्षीय फुटबलका पूर्व सुपरस्टार विजय गुरुङ मुख्य खेलाडी हुन् । खिमराज गुरुङको चोटले टिमलाई केही कमजोर पारेको छ । तर, पहिलो क्वालिफायरमा क्यासलले खिमको अभाव महसुस गरेन । अहिलेसम्म १० खेलमा क्यासलले ५६ गोल गरेको छ भने २४ गोल खाएको छ । एक खेल बढी खेलेको शंखमूलले ४३ गोल गर्दा २३ गोल सामना गरेको छ । यसर्थ आक्रामक फुटसलका लागि क्यासल टोली परिचित छ । शंखमूलले प्राविधिक खेलमा ध्यान दिँदा धेरै गोल गर्न नसकिएको स्वीकारेको छ । दुवैले लिगमा १–१ हार बेहोरेका छन् । यसअघि लिग चरणमा यी दुई टोलीले २–२ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

पोखरा रंगशालास्थित कभर्डहलमा शुक्रबार क्यासललाई उल्लेख्य घरेलु समर्थकको साथ हुनेछ । जुन अहिलेसम्मका खेलमा देखिँदै आएको छ । क्यासलका सहायक प्रशिक्षक अर्बिन गुरुङले पहिलो क्वालिफायरमा राइजिङलाई हराउँदा दर्शकको साथ नै निर्णायक भएको बताएका थिए । त्यसविपरीत शंखमूललाई भीडको अगाडि खेल्ने बानी छैन । त्यो भीड आफ्नो विरुद्धमा लाग्दा खेलाडीको मनोवल खस्किएको महसुस प्रशिक्षक परियारले गरेका छन् ।

‘हामीले यसबारेमा खेलाडीलाई पहिले नै जानकार गराएका हुन्छौं । हामीलाई घरेलु दर्शकअगाडि धेरै नै गाह्रो हुनेवाला छ किनभने होहल्ला र बाजाको धुनले बोलेको सुनिँदैन । फुटसलमा सानो सानो कुरा पनि टचलाइनमा बसेर भन्न पाइन्छ । भोलि त्यो सम्भव छैन । त्यसमाथि खेलाडीहरूलाई यति धेरै मान्छेको अगाडि खेल्ने बानी छैन,’ प्रशिक्षक परियारले कान्तिपुरसँग भने, ‘तर हामीले निश्चित योजनामा काम गरिरहेका छौं । क्यासलसँग यसअघि बराबरी खेलेका थियौं र त्यसका आधारमा थप योजना बनाउने छौं ।’

क्यासलसँगको फाइनल शंखमूलका लागि कठिन हुनुको अर्को कारण छ, लगातारको खेल । शुक्रबार मैदानमा उत्रँदा शंखमूलले लगातार चौथो दिन खेलिरहेको हुनेछ । त्यसमा पनि बिहीबार राइजिङविरुद्ध दोस्रो क्वालिफायर अतिरिक्त समयमा जाँदा झन्डै तीन घण्टासम्म चलेको थियो । रिकोभरी टाइम नपुग्दा खेलाडीले शतप्रतिशत प्रदर्शन गर्न नसकेको प्रशिक्षक परियारले बताएका छन् । तर, शंखमूल टिम फाइनलमा पुगेर आफ्नो शाखलाई कायम राख्न सकेकामा खुसी छ ।

यसअघि काठमाडौंमा आयोजित राष्ट्रिय फुटसल लिगका दुवै संस्करणमा शंखमूल विजयी थियो । नेपालमा फुटसल व्यवसायलाई खेलका रूपमा अगाडि बढाउने श्रेय पनि शंखमूल र ढुकु फुटसललाई नै जान्छ ।

‘खेलाडीले रिकोभरी पाएर खेल्नु र नपाएर खेल्नुमा धेरै फरक छ । मैले पनि खेलाडीलाई यसरी पेलाउनु पापजस्तो भइसक्यो । उनीहरूले यत्तिको खेल्न सक्नु नै हाम्रा लागि धेरै ठूलो हो,’ उनले थपे, ‘पहिलोपल्ट आयोजित ‘ए’ डिभिजन लिगमा केही गर्न भनेर यति टाढा आएर खेलेका छौं । त्यसले हामी सबैलाई अतिरिक्त शक्ति दिएको छ । आज पनि उनीहरूले त्यही मनोबलले खेले । भोलि पनि यही प्रदर्शनलाई निरन्तरता दिउन् भन्ने कामना छ । सुरुदेखि अहिलेसम्म आउँदा सबै उत्साहित छन् ।’

शंखमूलले राइजिङसँग बिहीबार खेलेको दोस्रो क्वालिफायर खेल प्रतियोगिताकै सबैभन्दा लामो खेल थियो । फुटसल ४० मिनेटको हुन्छ । स्टपेज टाइम प्रणालीले केही लम्बिनु स्वभाविक हो । तर करिब २ घण्टा ५१ मिनेटसम्म चलेको यो खेल अतिरिक्त समयमा पुग्यो । नियमित समयमा ३–३ गोलको बराबरी खेलेपछि थपिएको १० मिनेटको अतिरिक्त समयको तेस्रो मिनेटमा मणि लामाले शंखमूलबाट निर्णायक गोल गरे । नियमित समयको अन्तिम मिनेटमा मणिले नै बराबरी गोल फर्काएपछि शंखमूलको आशा जगाएका थिए । उनले खेलको पहिलो, १५, ४० र अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गरे । राइजिङका विसन श्रेष्ठले २ र हेमन्त थापामगरले १ गोल गरे । राइजिङका प्रशिक्षक युवेन्द्र गुरुङले आफ्नो टोलीले अविस्मरणीय प्रदर्शन गर्न सकेकोमा गर्व गरे ।

‘हामी कस्तो ठाउँमा कसरी तयारी गरेर यहाँ आएका थियौं भनेर धेरैलाई विश्वासै हुँदैन । तर यहाँ आएपछि मेरा खेलाडीले जसरी खेले, त्यसमा उनीहरूप्रति मेरो सदैव सम्मान रहनेछ,’ गुरुङले भने, ‘हामीले सधैं जित खोजेर हुँदैन । आजको हारबाट पनि म सन्तुष्ट छु । कमसेकम मेरा खेलाडीले उनीहरू को हुन् भनेर आफैंलाई चिनाएका छन् ।’ उनले धरान फर्केर वास्तविक फुटसल कभर्डहल निर्माणमा पहल गर्ने योजना सुनाए ।

प्रकाशित : आश्विन २२, २०७८ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?