१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पोखराले चितवनसँग फाइनल खेल्ने

विनोद पाण्डे

काठमाडौँ — पोखरा राइनोजले बिहीबार क्वालिफायर्स १ मा भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गरी बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

पोखराले चितवनसँग फाइनल खेल्ने

पोखराले १ सय २० रनको लक्ष्य १८.२ ओभरमा १ सय २३ रन बनाउँदै पूरा गर्‍यो । पोखराले शनिबार हुने फाइनलमा चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्नेछ । अघिल्लो दिन क्वालिफायर्समा चितवनले पोखरालाई नै ९ विकेटले पराजित गरेको थियो ।

सहान अराचिगे र विपिन रावलले अविजित ८८ रनको साझेदारी गरि पोखरालाई विजय दिलाए । रिचर्ड लेभी १४, रित गौतम ६ र लोकेश बम शुन्यमा आउट भएपछि अराचिगे र विपनले पोखरालाई उकासेका हुन् ।

अराचिगे ५३ र विपिन ४० रन बनाई अविजित रहे । अराचिगेले ४४ बल खेली ७ चौका र विपिनले ३४ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।

यसअघि पोखराले टस जितेपछि ब्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय १९ रनमात्र बनाउन सकेको थियो ।

पोखराले सुरुआत मै दुई क्याच फुत्काए पनि भैरहवाले त्यसको फाइदा उठाउन सकेन । रोहित पौडेलले खेलको दोस्रो बलमै गरेको प्रहार विपिन रावलले फुत्काउन पुगेका थिए । ओपनिङ ब्याटिङमा आएका रोहित १७ बलमा २ छक्का प्रहार गर्दै १८ रनमै आउट भए ।

बंगलादेशका ब्याटर तामिम इकबाल बिनै खेलेको भैरहवाका अर्का ओपनर प्रदीप ऐरी १० रनमा आउट भए । श्रीलंकाका उपुल थाराङ्गाले १२ बलमा १० रनमात्र बनाउन सके । मलेसियाका सर्भिन मुनिआन्डी ३ र कुशल मल्ल १ रनमै आउट भएपछि भैरहवा १० औं ओभरमा ५१–५ को नाजुक स्थितिमा पुगेको थियो ।

कप्तान शरद भेषावकर र आरिफ शेखले स्थिति सुधार्ने प्रयास गरेका थिए । आरिफले २४ बल खेली १ चौका र १ छक्का प्रहार गरी २७ रन बनाए । शरद ३३ बलमा २ चौका र १ छक्का प्रहार गरी ३२ रन तथा धम्मिका प्रसाद ६ बलमा ४ रन बनाई अविजित रहे ।

प्रकाशित : आश्विन २१, २०७८ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?