२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ईपीएल : भैरहवाद्वारा पोखरालाई १ सय २० रनको लक्ष्य

विनोद पाण्डे

काठमाडौँ — भैरहवा ग्लाडियटर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको क्वालिफायर्स १ मा पोखरा राइनोजलाई १ सय २० रनको लक्ष्य दिएको छ । पोखराले टस जितेपछि ब्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १ सय १९ रनमात्र बनाउन सक्यो ।

ईपीएल : भैरहवाद्वारा पोखरालाई १ सय २० रनको लक्ष्य

पोखराले सुरुआत मै दुई क्याच फुत्काए पनि भैरहवाले त्यसको फाइदा उठाउन सकेन । रोहित पौडेलले खेलको दोस्रो बलमै गरेको प्रहार विपिन रावलले फुत्काउन पुगेका थिए । ओपनिङ ब्याटिङमा आएका रोहित १७ बलमा २ छक्का प्रहार गर्दै १८ रनमै आउट भए ।

बंगलादेशका ब्याटर तामिम इकबाल बिनै खेलेको भैरहवाका अर्का ओपनर प्रदीप ऐरी १० रनमा आउट भए । श्रीलंकाका उपुल थाराङ्गाले १२ बलमा १० रनमात्र बनाउन सके । मलेसियाका सर्भिन मुनिआन्डी ३ र कुशल मल्ल १ रनमै आउट भएपछि भैरहवा १० औं ओभरमा ५१–५ को नाजुक स्थितिमा पुगेको थियो ।

कप्तान शरद भेषावकर र आरिफ शेखले स्थिति सुधार्ने प्रयास गरेका थिए । आरिफले २४ बल खेली १ चौका र १ छक्का प्रहार गरी २७ रन बनाए । शरद ३३ बलमा २ चौका र १ छक्का प्रहार गरी ३२ रन तथा धम्मिका प्रसाद ६ बलमा ४ रन बनाई अविजित रहे ।

यो खेल जित्ने टोली फाइनल पुग्ने छ । चितवन टाइगर्स यसअघि नै फाइनलमा सुरक्षित भइसकेको छ । अघिल्लो दिन क्वालिफायर्समा चितवनले पोखरालाई ९ विकेटले पराजित गरेको थियो । प्रतियोगिताको अपराजित टोली भैरहवाले बुधबारकै खेलमा काठमाडौं किंग्स ११ लाई १६ रनले पराजित गरेको थियो ।

प्रकाशित : आश्विन २१, २०७८ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?