कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : स्पोर्ट्स क्यासल उपाधि नजिक

राइजिङ क्लबले बिहीबार शंखमूल फुटसलविरूद्ध दोस्रो क्वालिफायरमा खेल्ने

पोखरा — घरेलु टोली स्पोर्ट्स क्यासलले धरानको राइजिङ क्लबमाथि ८–६ गोलको जितसाथ ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको फाइनल तय गरेको छ । पहिलो क्वालिफायरमा पराजित भए पनि राइजिङले फाइनल पुग्नका लागि काठमाडौंको शंखमूल फुटसलसँग दोस्रो क्वालिफायर खेल्न पाउनेछ । बुधबारै इलिमिनेटर खेलमा शंखमूलले अर्को स्थानीय टोली सविन मेमोरियललाई हराएको थियो ।

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : स्पोर्ट्स क्यासल उपाधि नजिक

पोखरा रंगशालास्थित कभर्डहलमा उल्लेख्य घरेलु दर्शकमाझ क्यासललाई जित निकाल्न निकै कठिन भयो । लिग चरणको अन्तिम खेलमा राइजिङसँग ‘रणनीतिक हार’ भोगेको क्यासल खेलमा अधिकांश समय दबाबमा रह्यो । दोस्रो हाफको अन्तिम दुई मिनेटमा तीन गोल सम्भव हुँदा क्यासल फाइनलमा पुगेको हो ।

फिक्सो पोजिसनबाट खेल्ने बिकु तामाङ र दोर्जे तामाङ चोटग्रस्त भएपछि खेलको अन्त्यतिर राइजिङ लड्खडाएको हो । अग्रता जोगाउन नसक्नुको कारण राइजिङका प्रशिक्षक युवेन्द्र गुरुङले पनि खेलाडीको चोट मुख्य मानेका छन् । दोस्रो क्वालिफायरमा बिहीबार दुई प्रमुख खेलाडीबिना कठिन हुने उनको भनाइ छ ।

‘यो खेल समग्र प्रतियोगिताकै सबैभन्दा उत्कृष्टमध्ये एक भयो । विडम्बना हाम्रा दुई फिक्सो चोटग्रस्त भए । बिकुको चोट गम्भीर छ । फुटसलमा लागेर केही गर्नुपर्छ भनेर आएका खेलाडी यसरी घाइते हुँदा म आफैं भावुक भएँ,’ प्रशिक्षक गुरुङले भने, ‘अधिकांश समय खेल हाम्रो नियन्त्रणमा थियो । खेलाडी घाइते भएपछि हामी मनोवैज्ञानिक रूपमा कमजोर भयौं ।’

प्रशिक्षक गुरुङले स्पोर्ट्स क्यासलका खेलाडीको तीव्र गति र उत्कृष्ट सन्तुलनले उनीहरूलाई रोक्न कठिन भएको बताए ।

स्पोर्ट्स क्यासलका सहायक प्रशिक्षक अर्बिन गुरुङले फाइनल पुग्न निकै नै कठिन भएको स्वीकारे । आफ्ना खेलाडीले जुनसुकै समय खेलमा फर्कन सकिन्छ भन्ने विश्वास कायमै राखेको उनले बताए । ‘यो खेलमा हामीले एक सेकेन्ड पनि आरामको महसुस गर्न पाएनौं । हाम्रो टिम धेरै नै दबाबमा खेल्यो । यति हुँदाहुँदै पनि मैले टिममा विश्वास गरेको थिएँ । उनीहरू कुनै पनि समयमा खेलमा फर्किन्छन् भन्ने लागेको थियो,’ गुरुङले कान्तिपुरसँग भने ।

शुक्रबार हुने फाइनलअघि स्पोर्ट्स क्यासललाई एक दिनको आराम मिल्नेछ । यसबाट खेलाडीले रिकोभरी समय पाउनेछन् । पराजित टोली र इलिमिनेटरमा जित पाएका टोलीलाई भने फाइनलसम्ममा कुनै दिन आराम छैन ।

क्यासलका किशोर गुरुङले चौथो र विजय गुरुङले छैटौं मिनेटमा गोल गरेपछि टोली सुरुमै दोहोरो अग्रता लिन सफल भयो । तर नवौं मिनेटमा हेमन्त थापामगर, १२ औं मिनेटमा मिलन राई र एक मिनेटपछि सुदीप गुरुङले गोल फर्काएसँगै पहिलो हाफमा राइजिङले ३–२ को अगाडि रह्यो ।

दोस्रो हाफको तेस्रो मिनेटमै हेमन्तले गोल गरेपछि राइजिङले अग्रता अझै बढायो । त्यसयता क्यासलका किशोर र सुमित श्रेष्ठले एक मिनेटभित्र दुई गोल गरेपछि खेल ४–४ को अवस्थामा पुग्यो । ३१ औं मिनेटमा मिलन राई र ३२ औं मिनेटमा सुदीप गुरुङले गोल गरेपछि राइजिङले पुनः दुई गोलले अग्रता बनायो । ३४ औं मिनेटमा सुमितले अग्रता छोट्याए पनि क्यासल हार नजिक पुगिसकेको थियो ।

जिततर्फ उन्मुख खेलको ३७ औं मिनेटमा आफ्नै टोलीका गोलरक्षक केशर लिम्बुसँग जुध्दा बिकु घाइते भए । उनको अनुपस्थितिमा क्यासलले अन्तिम दुई मिनेटमा ३ गोल फर्कायो । अन्तिम मिनेटमा गोल गरेका किशोर गुरुङ र सुमित श्रेष्ठले ह्याट्रिक पूरा गरे ।

शंखमूलले लियो बदला

इलिमिनेटर खेलमा सविन मेमोरियलमाथि ३–२ गोलको जित निकाल्दै शंखमूल फुटसल हब फाइनल यात्रामा एक कदम अघि बढेको छ । टोलीले राइजिङसँग बिहीबार खेल्नेछ । लिग चरणको अन्तिम खेलमा शंखमूलले सविन मेमोरियलसँग बेहोरेको हारको बदला लिएको छ ।

शंखमूलका प्रशिक्षक प्रकाश परियारले अघिल्लो खेलबाट विपक्षीको शैली बुझ्दा यो खेलमा सजिलो भएको बताए । ‘बलियो टिमसँग खेल्दा सहज त पक्कै हुँदैन । तर हामीले हिजोमात्र उनीहरूसँग खेलेका हुनाले रणनीतिक तयारीमा समय पायौं । यो जित त्यसैको उपज हो,’ प्रशिक्षक परियारले भने ।

लगातारको खेलका कारण खेलाडीको रिकोभरी समय नपुग्नु शंखमूलको समस्या हो । फाइनलसम्मको यात्रामा शंखमूलले चार दिन लगातार खेल्नुपर्नेछ । अन्तिम लिगमा भोगेको हारको बदला बुधबार लिएको शंखमूलले बिहीबारै राइजिङ र त्यो खेल जितेमा शुक्रबार क्यासलसँग फाइनल खेर्ल्नुपर्नेछ ।

‘लगातारको खेलतालिकाबीच यत्तिको खेल्न सकेकामा मेरा खेलाडीप्रति गर्व गर्छु,’ उनले थपे, ‘खेलाडीलाई रिकोभरी पुगिरहेको छैन । यद्यपि हामी फाइनलमा शतप्रतिशत प्रयास गर्नेछौं ।’

११ औं मिनेटमा जेनिश प्रजापतिले गोल गरेपछि शंखमूलले पहिलो हाफमा अग्रता बनाएको थियो । कृजल खड्काले २४ औं मिनेटमा २–० को अवस्थामा पुर्‍याए । सविनका सरोज गुरुङले २७ औं मिनेटमा एक गोल फर्काए पनि कृजलले ३० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा शंखमूल ३–१ को स्थितिमा पुग्यो । खेल सकिन ५ मिनेट बाँकी छँदा मनोज गुरुङले सविनका लागि दोस्रो गोल गरे पनि त्यसयता गोल हुन नसक्दा शंखमूल विजयी भयो । शंखमूलका गोलरक्षक अनिश श्रेष्ठ म्यान अफ द म्याच चुनिए ।

‘लगातारको खेलका कारण मैले नयाँ खेलाडीलाई अवसर दिएको थिएँ । नयाँ खेलाडीबीच सन्तुलन नहुँदा हामीले हार्नुपर्‍यो,’ सविन मेमोरियलका प्रशिक्षक राजेन्द्र तामाङले भने, ‘हामीले गोलका केही अवसर पनि उपयोग गर्न सकेनौं ।’

प्रकाशित : आश्विन २१, २०७८ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?