३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

घरेलु दर्शकको ‘पावर’

पोखरा — पोखरामा जारी ‘ए’ डिभिजन राष्ट्रिय फुटसलमा लिग चरणको अन्तिम दिन मंगलबार तीन खेल भए । पहिलो खेलमै फुटसल फाइभले प्रभातफेरी युथसँग ६–२ गोलको हार बेहोरेपछि घरेलु टोली सविन मेमोरियललाई प्लेअफमा पुग्न शंखमूल फुटसलविरुद्ध जित्नैपर्ने भयो ।

घरेलु दर्शकको ‘पावर’

यो खेलअघिसम्म प्लेअफको आस मारेको सविन मेमोरियलको व्यवस्थापन टोलीले अन्तिम सम्भावनालाई अवसरमा प्रयोग गर्न एक बन्डल टिकट बुक गरेर आफ्ना शुभचिन्तक र समर्थकको फोन घुमाउन थाल्यो । ‘टिमको हौसला बढाउन तपाईंहरू कभर्डहल आउनुपर्‍यो, आज जिते प्लेअफ पुग्छौं,’ व्यवस्थापन टोलीको अनुरोध थियो ।

सयौंको संख्यामा घरेलु समर्थक ड्रम बजाउँदै कभर्डहल आइपुगे । खेलको सुरुदेखि अन्त्यसम्म आफ्ना खेलाडीलाई समर्थन गरिरहे । प्रतियोगिताकै उपाधि दाबेदार र लिगमा अहिलेसम्म नहारेको शंखमूललाई सविन मेमोरियलले ३–१ गोलमा हरायो । दुवै टोलीका प्रशिक्षकले यो नतिजामा दर्शकको समर्थनलाई कारक मानेका छन् ।

पोखरा रंगशालास्थित कभर्डहलमा पोखरेली टोलीहरू स्पोर्टस क्यासल र सविन मेमोरियलका प्रायः खेलमा दर्शक यसैगरी आउँछन् । आफ्नो टिमको हौसलामा कुनै कसर बाँकी राख्दैनन् । यी टोलीहरूका लागि दर्शकले छैटौं खेलाडीको भूमिका निभाएका छन् ।

‘हामी लिगमा अपराजित रहने भन्ने सोचसाथ आएका थियौं । अन्तिम खेल हार्नुपर्दा निरास भएका छौं,’ प्लेअफ पुगिसकेको शंखमूलका प्रशिक्षक प्रकाश परियारले कान्तिपुरसँग भने, ‘हामीसँग यति ठूलो दर्शकमाझ खेलेको अनुभव छैन, त्यसमा पनि घरेलु दर्शकको यो उपस्थितिले हामीलाई कठिन भएकै हो ।’ शंखमूलले बुधबारको खेलमा पनि घरेलु दर्शककै कारण नतिजामा असर पर्न नदिन रणनीतिक तयारी गर्ने जनाएको छ ।

मंगलबारको खेल जितेको वा बराबरी गरेको भए शंखमूख अंकतालिकाको दोस्रो स्थानमा पुग्थ्यो । यसो हुँदा टोलीले बुधबार हुने पहिलो क्वालिफायरमा स्पोर्टस क्यासलसँग खेल्ने थियो । अब पहिलो क्वालिफायरमा क्यासल र धरानको राइजिङ क्लब तथा इलिमिनेटरमा शंखमूल र सविन मेमोरियलले खेल्नेछन् । पहिलो क्वालिफायर विजेता सोझै फाइनल पुग्नेछ । पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग फाइनल पुग्नका लागि दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । बुधबार, बिहीबार र शुक्रबार लगातार प्लेअफ र फाइनल चरणका खेल छन् । बुधबार पहिलो क्वालिफायर विजेताले शुक्रबार हुने फाइनललाई एक दिनको आराम पाउनेछ भने अन्य टोलीका लागि फाइनलसम्मको यात्रामा लगातार खेल्नुपर्नेछ । कम्तीमा एक दिनको आराम दिने गरी खेलतालिका हुनुपर्नेमा सबै क्लबको एकै स्वर रह्यो । तर नहुँदा उनीहरूले असन्तुष्टि जनाएका छन् । लिग र प्लेअफ चरणबीचमा कुनै दिन ‘रिजर्भ डे’ नभएपछि मंगलबार प्रतिस्पर्धा गरेका सविन मेमोरियल र शंखमूलमध्ये कुनै एक टोलीले फाइनलसम्म यात्रा तय गर्न लगातार ४ खेल खेल्नुपर्नेछ ।

शंखमूलका प्रशिक्षक परियारले रिकोभरी टाइमको अभावका कारण शतप्रतिशत प्रदर्शनलाई निरन्तरता दिन नसकिने बताए । हारका बाबजुद उनले आफ्नो टिमको प्रदर्शनप्रति गर्व गरे । ‘हाम्रो चिन्ता रिकोभरी टाइममै हो । किनभने खेलाडीले आज पनि शतप्रतिशत प्रदर्शन गरेका हुन् । समयमा गोल निस्किन नसकेको मात्र हो,’ उनले थपे, ‘हामीले भोलि नै खेल्नुपर्नेछ र यही टोलीविरुद्ध केही रणनीतिक सुधार गर्नुपर्नेछ । आजको खेलमा उहाँहरू काउन्टर एट्याकमा जानुभयो । त्यसैले पनि पछि परेको हो । भोलिको खेलमा शंखमूल फुटसलले जित्नेछ भन्नेमा विश्वास गरेको छु ।’

पोखरेली टोली सविनका समर्थकको उत्साह । तस्बिर : केशव थापा/कान्तिपुर

सविन मेमोरियलका प्रशिक्षक राजेन्द्र तामाङका अनुसार आफ्नो टोलीले प्लेअफ पुग्ने लक्ष्य राखेको थियो । त्यसलाई सफल बनाउन उनले आफ्नो फुटबलको अनुभव प्रयोग गरे । ‘विपक्षी टिम र खेलाडीको नामले केही हुँदैन, त्यो दिन, त्यो समय जसले राम्रो खेल्छ त्यसैले जित्छ भनेर मैले खेलाडीलाई आश्वस्त बनाएँ,’ पूर्व फुटबलर र अहिले एन्फा कास्कीका ग्रासरुट प्रशिक्षक तामाङले भने, ‘उनीहरूले त्यहीअनुसार खेले । शंखमूल धेरै नै बलियो टोली थियो । उनीहरू सबै कुरामा राम्रो छन् । त्यसैले हामीले जित्ने एउटै रणनीति थियो, काउन्टर एट्याक । हामीले डिफेन्सिभ खेलेर काउन्टरमा गोल गर्न सक्यौं ।’

सविन मेमोरियलले चोटग्रस्त मुख्य स्कोरर अविनाश तामाङलाई सुरुआती सेटमै राखेको थियो । सुरुमै चोट बल्झेपछि उनलाई मनीष क्षेत्रीले प्रतिस्थापन गरे । छरितो कदका मनीषको प्रदर्शन नै शंखमूलमाथिको जित आधार बन्यो । त्यसबाहेक समिर प्रधानले पनि अग्रपंक्तिमा लोभलाग्दो प्रदर्शन दिए । अघिल्ला खेलमा प्रभावकारी नदेखिएका यी दुई खेलाडी सरप्राइज्ड प्याकेज बनेर निस्किए । प्रशिक्षक तामाङ दुवै खेलाडीको प्रशंसा गर्न चुकेनन् ।

सविन मेमोरियलले मंगलबार ६ खेलाडीमात्र मैदान पठाएको थियो । पाँचजना एकैपल्ट मैदानमा हुँदा एउटा खेलाडीले मात्र सब्स्टिच्युटमा पालो दिइरहेका थिए । टिमले राम्रो प्रदर्शन गरिरहेको स्थितिमा तामाङले कम अनुभवी खेलाडी उतार्ने जोखिम लिएनन् । तर, भोलि सोही टिमविरुद्ध खेल्नुपर्ने भएपछि नयाँ खेलाडीलाई पनि अवसर दिने उनले बताएका छन् । ‘आज सीमित खेलाडीले जित दिलाए । भोलि नै खेल्नुपर्दा उनीहरूलाई रिकोभरी टाइम पुग्दैन । त्यसैले नयाँ खेलाडी खेलाउने छु,’ प्रशिक्षक तामाङले भने, ‘भोलि नै हामीले शंखमूलसँग खेल्नुपर्नेछ । त्यो खेल आजभन्दा कठिन हुनेछ ।’

मंगलबार पहिलो खेलमा फुटसल फाइभले प्रभातफेरीसँग हारेपछि प्लेअफमा पुग्ने सुनौलो अवसर गुमायो । स्पोर्ट्स क्यासलसँगको अघिल्लो खेलमा प्रशिक्षक र गोलरक्षकले रातो कार्ड पाएको मूल्य फुटसल फाइभले यो खेलमा चुकायो । फुटसल फाइभले पाँचौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

दोस्रो खेलमा सबैभन्दा कमजोर टोली झरना क्लबलाई ५–३ गोलले पराजित गरी ढुकु फुटसलले छैटौं स्थानमा रहेर लिग टुंग्यायो । ढुकुलाई उपाधिको मुख्य दाबेदार मानिए पनि लिगमा अपेक्षाकृत प्रदर्शन सकेन । प्रशिक्षक राज महर्जनले टोलीले अपेक्षाअनुरुप प्रदर्शन नसकेकोमा सबैसँग माफी मागेका छन् । झरना भने लिग चरणका सबै खेलमा पराजित रह्यो । टोली एक अंक पनि जोड्न सकेन ।

प्रकाशित : आश्विन २०, २०७८ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?