कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

१३ गोलको रेकर्ड तोड्ने अञ्‍जन विष्टको चाहना

हिमेश

माले, मालदिभ्स — अञ्जन विष्टले भने जस्तै, नेपाली राष्ट्रिय टिमका लागि सर्वाधिक १३ गोलको कीर्तिमान त्यतिकैमा अड्केको पनि धेरै वर्ष भयो । कसले त्यसलाई बराबरी गर्ने र उछिन्ने त ? उनकै भाषामा भन्दा यस्तो इच्छा उनकै पनि रहेछ ।

१३ गोलको रेकर्ड तोड्ने अञ्‍जन विष्टको चाहना

श्रीलंकालाई साफ च्याम्पियनसिप २०२१ मा नेपालले श्रीलंकालाई ३–२ ले पराजित गरेपछि उनी पनि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगै पोस्ट म्याच कन्फ्रेन्समा आए ।

नेपालले गरेका तीन गोलमा दोस्रो गोल उनको थियो । मिडियासामु प्रस्तुत हुने क्रममा उनले सबैभन्दा पहिले टिम र प्रशिक्षकलाई धन्यवाद दिए, अनि भने, ‘खेलाडीका रूपमा मेरो पनि त्यो कीर्तिमान छुने र त्यसलाई उछिन्ने इच्छा छ ।’ श्रीलंकाविरुद्धको दोस्रो गोल उनको व्यक्तिगत छैटौं गोल रह्यो । उनले थपे, ‘तर मलाई के पनि थाहा छ भने यसका लागि मैले अझै धेरै मिहिनेत गर्नुछ र अझै धेरै लामो यात्रा गर्नु छ ।’

सोमबारको खेलमा म्यान अफ द म्याच बनेमा अञ्जन विष्ट । तस्बिर : एन्फा

नेपालका लागि सर्वाधिक धेरै १३ गोल गरेको कीर्तिमान संयुक्त रूपमा दुई खेलाडीको नाममा रहेको छ, हरि खड्का र निराजन रायमाझी । दुवैले फुटबल खेल्न छाडिसके । अहिलेको पुस्तामध्ये जुमनु राईको नाममा ११ गोलको कीर्तिमान छ । जुमनु पनि लगभग सक्रिय फुटबलबाट टाढा छन् ।

अझै पनि नेपाली टिममा प्रवेशका लागि चुनौती पेस गरिरहेकामध्ये भरत खवासले १० गोल गरेका छन् । यस्तै भर्खरै खुट्टाको शल्यक्रिया गराएर फुटबलमा फर्कन मिहिनेत गरिरहेका विमल घर्ती मगरले आठ गोल गरिसके । साफ च्याम्पियनसप-२०२१ खेलिरहेको अहिलेको टिमका खेलाडीमध्ये नवयुग श्रेष्ठले सर्वाधिक सात गोल गरेका छन् ।

उमेर र नेपालका लागि पहिलो रोजाइमा बढी खेल्ने अवसरका आधारले हरि तथा निराजनको कीर्तिमान छुने सबैभन्दा बढी सम्भावना भने अञ्जनकै हुन सक्छ, अथवा नवयुगको । अञ्जन आफै भने लयमा छन् । उनले पछिल्ला आठ खेलमा चार गोल गरिसके । उनले विश्वकप छनोटको सन् २०१९ को खेलमा चिनियाँ ताइपेईविरुद्ध एकै खेलमा दुई गोल गर्दै खाता खोलेका थिए ।

प्रकाशित : आश्विन १९, २०७८ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?