ईपीएल : पोखरा र भैरहवाको क्वालिफायर होड

भैरहवाका प्रदीप ऐरी र तमिम इकवालले पहिलो विकेटमा शतकीय साझेदारी
विनोद पाण्डे

काठमाडौँ — चितवन टाइगर्सको पहिलो हार र काठमाडौं किंग्स इलेभेनमाथि पोखरा राइनोजको विजयसँगै बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको क्वालिफायर समीकरण रोचक बनेको छ । पहिलो ४ खेल जितेर क्वालिफायरमा सुरक्षित भइसकेको चितवनलाई सोमबार भैरहवा ग्लाडियटर्सले ६ विकेटले पराजित गरेको थियो ।

ईपीएल : पोखरा र भैरहवाको क्वालिफायर होड

वर्षाले प्रभावित अर्को खेलमा पोखराले काठमाडौं किंग्सलाई १४ रनले पन्छायो । १ सय ८३ रनको लक्ष्य पाएको पोखराले १५ ओभरमा ५ विकेट गुमाई १ सय ४२ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिन पुगेको थियो । जतिखेर पोखरा डकवर्थ लुइस पद्धतिका आधारमा १४ रनले अगाडि थियो । पोखराको यो जितपछि ७ अंक भएको छ । अहिलेको स्थितिमा पोखरा दोस्रो स्थानमा छ । शीर्षस्थानको चितवन टाइगर्ससँग क्वालिफायरका भेटका लागि नजिकिएको छ ।

शीर्ष दुई टोलीले फाइनलमा स्थान पाउन क्वालिफायरमा खेल्नुपर्ने प्रावधान छ । ६ अंक बोकेको भैरहवा ग्लाडियटर्सले मंगलबार बिहान हुने खेलमा काठमाडौंलाई पराजित गरेमा भैरहवा नै क्वालिफायरमा पुग्नेछ । तर सोमबार साँझ ५ बजेपछि परेको भारी वर्षाले मंगलबार खेल हुने सम्भावना कम छ । खेल नभएको अवस्थामा दुवै टोलीलाई १–१ अंक प्रदान गरिने छ । यस्तोमा पोखरा र भैरहवाको समान ७ अंक हुनेछ । तर बढी खेल जितेको आधारमा पोखरा क्वालिफायरमा पुग्नेछ । काठमाडौं किंग्सलाई पनि प्लेअफमा पुग्न भैरहवामाथि जित पाउनुपर्ने दबाब छ । तर, वर्षा वा मैदान भिजेकाले खेल हुन नसकेमा काठमाडौं किंग्सले एक अंक थप्दै ३ अंक बनाउने छ र टोली ललितपुर प्याट्रियट्सलाई नेट रनरेटमा उछिन्दै चौथो टोलीको रूपमा प्लेअफमा पुग्नेछ ।

सोमबार वर्षाले खेल रोकिँदा पोखराका विवेक यादव २८ बलमा ४१ र लोकश बम ८ बलमा १८ रन बनाई अविजित थिए । विवेकले ४ चौका र २ छक्का तथा लोकेशले ३ चौका प्रहार गरिसकेका थिए । पोखराबाट रित गौतम २, रिचर्ड लेभी १७, कप्तान विनोद भण्डारी ५, सहन अराचिगे २३ बलमा ४३ र असेला गुणरत्ने शून्यमा आउट भएका थिए । काठमाडौंका जितेन्द्र मुखिया र गुलशन झाले २–२, कप्तान सन्दीप लामिछानेले १ विकेट लिएका थिए ।

यसअघि अमित श्रेष्ठ र रायन बर्लको अर्धशतकमा काठमाडौं किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ८२ रन बनाएको थियो । अमितले ४१ बल खेली ६ चौका र २ छक्कासहित ५६ र बर्लले ४३ बल खेली २ चौका र ३ छक्का प्रहार गरी ५० रन बनाए । सन्दीपले ११ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३१ रन बनाए । रहमनुल्लाह गुरबाज १२, सुवास खकुरेल २, असान प्रियन्जन ५, अमर राउटेला ७ र राजु रिजाल शून्यमा आउट भए । पोखराका विवेकले १ ओभर बलिङ गर्दै ३ विकेट लिएका थिए । विक्रम सोब, नन्दन यादव, किशोर महतो र अराचिगेले १–१ विकेट लिए ।

चितवनको पहिलो हार

प्रदीप ऐरी र तमिम इकवालले पहिलो विकेटमा शतकीय साझेदारी गरेपछि भैरहवाले सोमबार पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएर क्वालिफायर पुग्ने सम्भावना बलियो बनाएको हो । चितवनले दिएको १ सय ६५ रनको लक्ष्य भैरहवाले १७.५ ओभरमा पूरा गरेको थियो । प्रदीप र तमिमले १ सय ६ रनको साझेदारी गरे । तमिमलाई ११ औं भीम सार्कीले बोल्ड गरेपछि साझेदारी टुटेको थियो । तमिमले ३० बल खेल्दै ५ चौका र १ छक्कासहित ४० रन बनाए ।

प्रदीपले ४३ बलमा ७२ रन बनाए । ८ चौका र ३ छक्का प्रहार गरेका उनलाई सागर ढकालले आउट गरे । रोहित पौडेल ६ र आरिफ शेख १ रनमै आउट भए पनि उपुल थारङ्गाले १९ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ३९ रन जोडेर जित दिलाए । चितवनका करिम जन्नतले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ६४ रन बनायो । ओपनर खडक बोहरा १ रनमै आउट भए पनि अफगान खेलाडीद्वय मोहम्मद साहजाद र कमिर जन्नतले क्रमशः ३२ र ३५ रन बनाए । साहजादले २४ बल खेली ३ चौका र २ छक्का तथा जन्नतले ३७ बल खेली १ चौका र २ छक्का प्रहार गरे । देव खनाल ५, भीम १६, सेकेगु प्रसन्नले ११ बलमा ३ छक्कासहित २४, राजेश पुलामी १४, दिलीप नाथ दुई छक्कासहित १३ रन बनाई आउट भए । कमलसिंह ऐरी ७ रनमा अविजित रहे ।

भैरहवाका अविनाश बोहराले ४ ओभरमा ३८ रन खर्चेर ३ र कुशल मल्लले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । धम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले १–१ विकेट लिए ।

प्रकाशित : आश्विन १९, २०७८ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?