कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८
साफ च्याम्पियनसिप

श्रीलंकालाई हराएसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो

हिमेश

माले, माल्दिभ्स — नेपालले साफ च्याम्पियनसिप-२०२१ मा सोमबार श्रीलंकालाई ३–२ ले हराएको छ । जितसँगै नेपाल फाइनलनजिक पुगेको छ ।

श्रीलंकालाई हराएसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो

जितसँगै नेपाल लिग तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । नेपाल पछाडि बंगलादेश चार अंकसहित दोस्रो स्थानमा रहेको छ । भारतको एक अंक छ भने आयोजक माल्दिभ्स र श्रीलंका अंकविहीन छन् ।

लगातारको जितले नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ, त्यहीं प्रतियोगितामा श्रीलंकाको चुनौती लगभग सकिएको छ । नेपालका लागि सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एक- एक गोल गरे । सुमनले ३३ औं मिनेटमा गोल गरे । उनले श्रीलंकाली पोस्टको गोल लाइनबाट गोल गरे ।

यसअघि पुजन उपरकोटीको प्रहार पोस्टमा लागेर फर्किएको थियो र त्यसमै सुमनले ‘प्वाइन्ट ब्ल्यान्क’ बाट गोल गरे । नेपालका लागि १६ औं क्याप जित्दै सुमनले पहिलो अन्तर्राष्ट्रिय गोल गरे र आफ्नो उपयोगिता सिद्ध गरे । सन् २०१६ को बंगबन्धु गोल्डमा डेब्युको अवसर पाएका सुमनले राष्ट्रिय टिमबाट भित्र बाहिर हुँदै पाँच वर्षको अन्तरमा पहिलो गोल गरे ।

यो उनको खेल जीवनकै सबैभन्दा सजिलो गोल पनि रह्यो । अञ्जनले ५१ औं मिनेटमा दोस्रो गोल थपे । उत्कृष्ट ढंगले बल अगाडि बढाउँदै निकालेको क्रममा अञ्जनले गोल गरेका हुन् । यो नेपालका लागि उनको छैटौं गोल रह्यो । श्रीलंकाका तर्फबाट मार्वन ह्यामिल्टनले ५७ औं मिनेटमा गरे ।

उनले पेनाल्टी एरियाको ठीक बाहिरबाट शक्तिशाली प्रहार गर्दै उत्कृष्ट गोल गरेका थिए । आयुषले ८६ औं मिनेटमा गोल गरे । यो पनि उनको डेब्यु गोल थियो । श्रीलंकाका तर्फबाट डेलन डिसिल्भा ले पेनाल्टीबाट इन्जुरी समयमा श्रीलंकाका लागि दोस्रो गोल गरे । गौतम श्रेष्ठले बल ह्यान्ड गरेपछि श्रीलंकाले पेनाल्टी पाएका हो ।

त्यसको ठीक अगाडि सुमन अर्यालले गोल लाइनबाट बल क्लियर गरेका थिए । दोस्रो हाफको मध्यभागमा मनीष डाँगी र आयुष घलान गोल गर्ने राम्रो अवसरमा चुके । खेलको दोस्रो हाफ पहिलोको तुलनामा रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो ।

नेपालले आफ्नो पहिलो खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई पराजित गरेको थियो । त्यसमा मनीष डाँगीले गोल गरेका थिए ।

प्रकाशित : आश्विन १८, २०७८ २३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?