साफ च्याम्पियनसिप : प्रशिक्षकका ‘माइन्ड गेम’

हिमेश

माले — साफ च्याम्पियनसिप फुटबल २०२१ सोमबार ‘म्याच डे टु’ मा प्रवेश गर्नेछ । अहिलेसम्मकै सबैभन्दा बढी चर्को प्रतिस्पर्धा हुने विश्वास गरिएको यस संस्करणमा अहिले नै प्रशिक्षकको ‘माइन्ड गेम’ सुरु भएको छ ।

साफ च्याम्पियनसिप : प्रशिक्षकका ‘माइन्ड गेम’

मंगलबार पहिलो खेल कीर्तिमान सातपल्टको विजेता भारत र बंगलादेशबीच हुनेछ । दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । त्यसको अघिल्लो दिन आयोजित प्रि–म्याच कन्फ्रेन्समा सबै टिमका मुख्य प्रशिक्षकले ‘माइन्ड गेम’ खेल्ने प्रयास गरे ।

एक प्रकारले आरोप प्रत्यारोप, आलोचना र अनुमानमा चारै टिमका प्रशिक्षक केन्द्रित रहे । संयोगले चारै टिमका प्रशिक्षक विदेशी छन् । आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सका प्रशिक्षकमात्र आफ्नै देशका छन् । यी पाँच प्रशिक्षकमध्ये सबैभन्दा हाइप्रोफाइल प्रशिक्षक भारतका छन्, इगोर स्टिमेक । सन् १९९८ को विश्वकपमा क्रोएसियाले तेस्रो स्थान हात पर्दाका खेलाडी हुन् उनी । एक समय उनले क्रोएसियाली टिम पनि सम्हाले ।

सन् २०१९ यता भने उनी भारतमा छन् । यसपल्टको साफ संस्करणका लागि भारतले आफ्नो पहिलो रोजाइका खेलाडीसम्मिलित बलियो टिम उतारेको छ । उनी मान्छन्, भारत नै उपाधिका लागि बलियो टिम हो । तर उनी आफ्नो टिमबारे धेरै दाबी गर्न छाडेर बंगलादेश र श्रीलंकाबीचको पहिलो खेलमै केन्द्रित हुन चाहे । त्यो खेल बंगलादेशले १–० ले जितेको थियो । निर्णायक गोल पेनाल्टीबाट आएको थियो अनि यो विवादास्पद रह्यो ।

त्यसै क्रममा डसकन पुल्सार योगेन्द्रनलाई रातो कार्ड पनि देखाइएको थियो । उनीमाथि आरोप थियो बल ह्यान्डलको । तर भारतीय प्रशिक्षक स्टिमेकले त्यसलाई रेफ्रीको हावादारी निर्णय भएको प्रतिक्रिया दिए । उनको आशय थियो, यही एउटा खराब निर्णयका कारण बंगलादेश विजयी भएको हो । अन्यथा नतिजा जस्तो पनि हुनसक्थ्यो । बंगलादेशी प्रशिक्षक ओस्कार ब्रुजनले भने अधिकांश समय रेफ्रीको त्यो निर्णयको बचाउ नै गरे । उनले दाबी गरे, बंगलादेश जितका लागि पूर्ण हकदार छ । ब्रुजन पनि उत्तिकै अनुभवी प्रशिक्षक हुन् । स्पेनी ला लिगा क्लब रियल मार्लोकामा उनी कुनै समय सहायक प्रशिक्षक थिए । उनले दक्षिण एसियाका तीन देशका क्लब सम्हालिसकेका छन् । त्यसमा भारतको मुम्बई एफसी, माल्दिभ्सकै न्यु रेडियन्ट र बंगलादेशको बसुन्धरा पर्छ । उनी मान्छन्, दक्षिण एसियामा बंगलादेश सबैभन्दा बलियो टिम हो । उनी अझ के पनि भन्छन् भने भारतका सुनील क्षेत्रीभन्दा कुनै अर्थमा कम छैनन्, बंगलादेशका जमाल भुयन ।

श्रीलंकाली प्रशिक्षक आमिर एलगिचसँग पनि बाक्लै अनुभव छ । उनीसन् २००७ मा वेडर ब्रेमनका सहायक प्रशिक्षक थिए । उनी श्रीलंकाली फुटबलका प्राविधिक निर्देशक हुन् । उनी भन्छन्, दक्षिण एसियाली फुटबलमा श्रीलंका आफ्नो बलियो उपस्थिति जनाउने प्रयासमा छ । उनी पनि स्टिमेकसँगै एउटा तथ्यमा के सहमत छन् भने बंगलादेशविरुद्धको खेलमा रेफ्रीको प्रदर्शन निकै कमजोर थियो । अझभन्दा निम्न स्तरकै थियो ।

सम्भवतः उनको एउटा दाबीमा भने स्टिमेक सहमत हुने छैनन् । एलगिच भन्छन्, ‘फुटबलमा सबथोक पैसामात्र हुन्न, हुन्थ्यो त भारतको फुटबल कहाँबाट कहाँ पुगिसक्थ्यो । दक्षिण एसियामै सबैभन्दा ठूलो लिग भारतमा छ, आईएसएलका रूपमा । तर यसको सफलता र लोकप्रियता भारतीय टिममा सर्न सकेको छैन ।’ उनको निचोड हो, श्रीलंकाली फुटबलमा अहिले तत्काल धेरैथोक छैन । तर, यो टिम दक्षिण एसियामा राम्रो खेल्न सक्षम छ ।

प्रि–म्याच कन्फ्रेन्समा सबैभन्दा अन्त्यमा उपस्थित भएका थिए, नेपालका अब्दुल्लाह अल्मुताइरी । यसअघिका तीन प्रशिक्षकभन्दा सबैभन्दा शान्त र कम बोल्नेमा उनी नै रहे । नेपालको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेयता उनी सबैभन्दा नरम भाषामा सुनिए । उनी भन्थे, ‘हामी माल्दिभ्सविरुद्ध प्राप्त जित बिर्सन चाहन्छौं र श्रीलंकाको खेललाई पहिलो प्रतिस्पर्धा मानेर खेल्नेछौं । नेपालका लागि श्रीलंकाविरुद्धको खेल अझ गाह्रो हुनेछ ।’

‘इतिहासकै महत्त्वपूर्ण खेल’

कप्तान तथा गोलरक्षक किरण लिम्बुले श्रीलंकाविरुद्ध सोमबार हुने खेललाई नेपाली फुटबल इतिहासकै सर्वाधिक महत्त्वपूर्ण खेलको संज्ञा दिएका छन् । उनले भने, ‘हाम्रा लागि यो निकै महत्त्वपूर्ण खेल रहेको छ । त्यसैले हामी शतप्रतिशत मिहिनेतसाथ खेल्नेछौं र जितका लागि प्रयास गर्नेछौं । हाम्रो खेल ३ अंककै लागि हुनेछ ।’

माल्दिभ्सलाई पहिलो खेलमा हराएको नेपालले श्रीलंकालाई पनि पराजित गर्न सके, फाइनल प्रवेशको सम्भावना बलियो बनाउन सक्नेछ । साफ च्याम्पियनसिप इतिहासमा नेपाल र श्रीलंकाबीच अहिलेसम्म ५ खेल भएको छ । त्यसमध्ये एकै खेलमा मात्र नेपाल विजयी छ । नेपालले अन्तिम पटक सन् १९९९ को साफ च्याम्पियनसिपमा श्रीलंकालाई हराएको थियो ।

श्रीलंकाको पक्षमा ३ जित छ भने १ खेल बराबरीमा टुंगिएको छ । सन् २०१५ को केरला साफमा नेपालले पछिल्लो पटक श्रीलंकाको सामना गरेको थियो । त्यसमा इन्ज्युरी समयको गोल मदतमा श्रीलंकाले १–० को जित निकालेको थियो । त्यही हारले अन्ततः नेपालको सेमिफाइनल पुग्ने बाटो रोकिएको थियो ।

बंगलादेशविरुद्धको खेलमा रातो कार्ड खाएका टिमका मुख्य खेलाडी डसकन पुल्सार योगेन्द्रन हुने छैनन् । उनी टिमकै मुख्य डिफेन्डर हुन् । श्रीलंकाली प्रशिक्षक एलगिचले पनि मानेका छन्, योगेन्द्रनको अनुपस्थिति टिमका लागि पक्कै ठूलो घाटा हो । नेपाली टिममा भने चोटको कुनै समस्या रहेको छैन ।

प्रकाशित : आश्विन १८, २०७८ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?