कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : रूपन्देहीका दुवै टोली रेलिगेसनमा

पुनरागमन जितसहित शीर्षस्थानको स्पोर्ट्स क्यासल अपराजित

पोखरा — रूपन्देहीको लुम्बिनी फुटसल र झरना स्पोर्ट्स क्लब ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगबाट रेलिगेसनमा परेका छन् । पोखरा रंगशालास्थित कभर्डहलमा जारी लिगअन्तर्गत शनिबार धरानको राइजिङ युथ क्लबसँग ६–५ गोलले पराजित भएपछि लुम्बिनीको पनि रेलिगेसन निश्चित भएको हो । झरना शुक्रबार नै रेलिगेसनमा पर्ने निश्चित भइसकेको थियो ।

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : रूपन्देहीका दुवै टोली रेलिगेसनमा

राइजिङविरुद्ध अग्रता बनाएर पनि पराजित हुनुपरेको लुम्बिनीको ८ खेलबाट ४ अंक छ । अन्तिम खेल जिते पनि टोलीले रेलिगेसन जोगाउन सक्ने छैन । झरना भने आठौं चरणसम्म जितविहीन छ । प्रतियोगिताको शीर्ष चारभित्रै पर्ने लक्ष्य राखेको लुम्बिनीले लिगको आफ्नो पहिलो खेल जितेर सुखद सुरुआत गरेको थियो । त्यसयता टोलीले कुनै पनि खेल जित्न सकेन । फुटसल फाइभलाई बराबरीमा रोकेको थियो ।

बुटवलका प्रशिक्षक प्रज्वल श्रेष्ठले पहिलोपल्ट वास्तविक फुटसलमा प्रतियोगिताबाट धेरै कुरा सिक्न पाइएको बताए । तर एन्फाले रेलिगेसन नहुने भनेर झुक्याएको उनको आरोप थियो । उनले ‘बी’ डिभिजनमा सहभागी हुनेबारे सोचेर मात्र निर्णय गर्ने बताए । ‘फिटनेस भन्ने कुरा धेरै महत्त्वपूर्ण हुने रहेछ । हामीले ‘ए’ डिभिजनमा पहिलोपल्ट खेल्दा धेरै टोलीको व्यवस्थापन राम्रो रहेन । रेफ्रीको कमजोर निर्णय पनि धेरै खेलको नतिजा असर गरेको छ,’ प्रशिक्षक श्रेष्ठले भने, ‘हामी अब ‘बी’ डिभिजन खेल्न आउने सम्भावना कम छ । किनभने एन्फाले सुरुमा रेलिगेसन हुँदैन भनेर झुक्यायो । छनोट भइसकेपछि अन्तिम समयमा मात्र रेलिगेसनको कुरा भएपछि हामीले बलियो टोली बनाउन पाएनौं ।

रूपन्देहीको तिलोत्तमास्थित लुम्बिनी फुटसलका सञ्चालकसमेत रहेका प्रशिक्षक श्रेष्ठले यो प्रतियोगिता फुटसल व्यवसाय गरिरहेकालाई खेलकुदसँग जोड्ने राम्रो अवसरका रूपमा स्थापित हुन सकेकामा खुसी व्यक्त गरे । ‘यस्तो प्रतियोगिताले फुटसल विकासका लागि धेरै नै सहयोग गर्नेछ । फुटसलका खेलाडीले पनि फुटबलरले जत्ति नै पहिचान पाउनेछन्,’ उनले थपे ।

हेमन्त गुरुङले चौथो मिनेट, रफी महर्जन र सुजन थापाले क्रमशः १४ र १५ औं मिनेटमा गोल गर्दा लुम्बिनीले ३–० को अग्रता लियो । तर, पहिलो हाफको अन्तिम ५ मिनेटमा ४ गोल गरी राइजिङ खेलमा नियन्त्रण जमायो । १६ औं मिनेटमा मिलन राई र सुदीप गुरूङले गोल गरे भने बिकु तामाङले १९ औं र दोर्जे तामाङले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरे ।

२२ औं मिनेटमा लुम्बिनीका रुपेन बराइलीले बराबरी गोल फर्काए । रेवस मास्केले २७ र हेमन्त थापामगरले ३० औं मिनेटमा गोल गरेपछि राइजिङले २ गोलको अग्रता बनायो । ३४ औं मिनेटमा देवाशिष शर्माले गोल गरे पनि जितलाई पर्याप्त भएन । लुम्बिनीमाथि रोमाञ्चक पुनरागमन जितसहित धराने क्लब राइजिङ युथले प्लेअफ स्थान लगभग सुरक्षित गरेको छ । ८ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा पुगेको राइजिङको प्लेअफ यात्रामा सविन मेमोरियल क्लबको नतिजाले प्रभाव पार्नेछ । दुई खेल बाँकीमा सविनले दुवै खेलमा जित पाएको अवस्थामा गोलअन्तर निर्णायक हुनेछ । अहिले राइजिङ गोलअन्तरमा अगाडि छ । यी दुई टोलीले लिग चरणमा बराबरी खेलेका थिए ।

राइजिङका प्रशिक्षक युवेन्द्र गुरुङले कठिन जितपछि प्लेअफको यात्रामा सहजता भएको भन्दै खुसी व्यक्त गरे । ‘यो जितले हामीलाई शीर्ष चारमा पुग्न सजिलो भएको छ । अझै अरू टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ । अरू टोलीको नतिजा हेरेर अझै माथिल्लो पोजिसन लिने प्रयास गर्नेछौं,’ उनले भने, हामीले उनीहरूको रणनीति नबुझ्दा पछि परेका थियौं । पछि खेलाडीहरूले सम्हालिएर खेले । अघिल्लो खेलमा रातो कार्ड पाएका कारण हाम्रो मुख्य गोलरक्षक थिएनन् । त्यसैले हामीले धेरै गोल खाएका हौं ।’

स्पोर्ट्स क्यासल अपराजित

धरानको फुटसल फाइभमाथि पुनरागमन जितसहित शीर्षस्थानको स्पोर्टस क्यासलले लिगमा अपराजित यात्रा आठौं खेलसम्म कायम राखेको छ । जितपछि यो टिम शीर्षस्थानमै रहेर प्लेअप खेल्न पाउने भएको छ । क्यासलको ८ खेलबाट २२ अंक भएको छ । टोलीले ७ खेलमा जित पाएको छ । एकमात्र बराबरी उसले शंखमूल फुटसलसँग खेलेको थियो । क्यासलका सहायक प्रशिक्षक अर्बिन गुरुङले खेलाडीको चोटका कारण समस्यामा परेको टिमलाई बोनस जितले राहत मिलेको बताए । उनले आफ्ना नयाँ खेलाडी सुरेन बुढामगर र फोनिस कार्कीको खुलेर तारिफ गरे । ठूलो समस्या नभएकाले प्लेअफसम्म सबै खेलाडीहरू चोटमुक्त भइसक्ने उनको भनाइ छ ।

अन्त्यतिर खेल तनावग्रस्त बनेको थियो । फुटसल फाइभका गोलरक्षक धिरज तामाङले बक्सबाहिर निस्केर ट्याकल गरेपछि रातो कार्ड पाए । त्यसपछि रेफ्रीसँग विवाद गर्न पुगेका प्रशिक्षक विश्वास लामाले पनि रातो कार्ड पाए । खेलमा अन्तिम सिठी बजिसकेपछि विवाद गर्न पुगेका म्यानेजर जीवन आलेमगर र सब्स्टिच्युट खेलाडी सुजन खड्काले पनि रातो कार्ड पाए ।

‘घरेलु टोलीसँग खेल्दा अग्रता जोगाउन सकेनौं । उनीहरूले पाएको अवसर सदुपयोग गरे । खेल प्रतिस्पर्धात्मक नै थियो,’ उनले थपे, ‘ठूलो खेलमा रेफ्रीको निर्णय चित्तबुझ्दो छैन । अन्तिम समयतिर रेफ्रीले फाउल दिएन त्यही काउन्टरमा हामीले गोल खायौं । यो ‘ए’ डिभिजन खेल हो तर रेफ्रीले टोल कपजस्तो गरी खेलाएका छन् ।’

८ खेलबाट १४ अंक भएको फुटसल फाइभका लागि प्रभातफेरीसँगको अन्तिम खेल जित्नैपर्नेछ । त्यो खेल जितेमा टोलीले सिधै प्लेअफमा स्थान बनाउने छ । हारेको अवस्थामा अरू टोलीको नतिजामा भर पर्नुपर्छ । फुटसल फाइभबाट पहिलो मिनेटमै किरण चौधरीले गोल गरेपछि घरेलु टोली सुरुमै पछि परेको थियो । सुरेन बुढामगरले क्यासलबाट दसौं मिनेटमा बराबरी गोल गरे । २४ औं मिनेटमा किरणले व्यक्तिगत दोस्रो गोल गरी पुनः टिमलाई अग्रता दिलाए । तर अन्तिम तीन मिनेटमा दुई गोल गरी क्यासलले अपराजित यात्रा कायम राख्यो ३७ औं मिनेटमा सुमित श्रेष्ठ र ४० औं मिनेटमा कप्तना अञ्जन देवकोटाले गोल गरेका थिए ।

प्रकाशित : आश्विन १७, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?