कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : स्पोर्ट्स क्यासल प्लेअफमा

पोखरा — पोखरा डर्बीमा सविन मेमोरियलमाथि जित हासिल गर्दै स्पोर्ट्स क्यासल ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको प्लेअफमा प्रवेश गरेको छ । प्रभातफेरीमथि ३–० को अग्रता बनाएर पनि जोगाउन नसक्दा रूपन्देहीको झरना स्पोर्टस क्लब रेलिगेसनमा पर्ने निश्चित भएको छ ।

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : स्पोर्ट्स क्यासल प्लेअफमा

पोखरा रंगशालास्थित कभर्डहलमा शुक्रबार स्पोर्ट्स क्यासलले सविन मेमोरियललाई २–० गोलले हरायो । अपराजित क्यासलको यो कम गोलअन्तरको जित हो । टोलीले दुई हाफमा गोल गरेको थियो । देशभरबाट छनोट भएका १० टोलीबीच प्रतियोगिता भइरहेको छ । शीर्ष चार टोलीले प्लेअफ खेल्नेछन् भने पुछारका दुई टोली ‘बी’ डिभिजनमा झर्नेछन् । दुईमध्ये झरनाको रेलिगेसन निश्चित भएको छ । झरना सातौं खेलसम्म जितविहीन छ । टोलीले एक अंक पनि जोड्न सकेको छैन । झरनामाथि पुनरागमन जित पाएको प्रभातफेरीले रेलिगेसन संकट लगभग टारेको छ । तर, सम्भावना सकिएको छैन ।

क्यासलबाट १७ औं मिनेटमा सुरज गुरुङ र ३४ औं मिनेटमा किशोर गुरुङले गोल गरे । टोलीले थप केही अवसर उपयोग गर्न सकेन । सहरी प्रतिद्वन्द्वीले पनि उत्तिकै अवसर पाएको हो । त्यसलाई गोलमा परिणत गर्न नसक्दा घरेलु समर्थक निराश बने । दुवै टोलीका उल्लेख्य समर्थकको उपस्थितिले कभर्डहल लगभग पूर्ण क्षमतामा पुगेको थियो ।

सविन मेमोरियलका प्रशिक्षक राजेन्द्र तामाङले यो हारपछि प्लेअफको सम्भावना कमजोर बनेको स्वीकारे । उनले आफ्ना मुख्य गोलस्कोरर अविनाश तामाङको अनुपस्थितिले टिमको सन्तुलन बिग्रिएको बताए । लिगमा सर्वाधिक १२ गोल गरेका अविनाशले गोलीगाँठाको चोटले गर्दा डर्बी खेल गुमाए ।

क्यासलका सहायक प्रशिक्षक अर्बिन गुरुङले पोखरा डर्बी अपेक्षाअनुसार नै प्रतिस्पर्धात्मक भएको र आफ्नो टोलीले ३ अंक जोड्न सकेकामा खुसी व्यक्त गरे । उनले खेलाडीको चोट र लगातारको खेलले रिकोभरी समय नपुगेका कारण टिमले शतप्रतिशत प्रदर्शन गर्न नसकेको बताए । क्यासलका भेट्रान खेलाडी विजय गुरुङले ह्यामस्ट्रिङका कारण दुई खेल गुमाएका छन् ।

पुछारको झरनाले प्रभातफेरीमाथि ३–० को गोल अग्रता लिएर पनि खेल ७–३ ले गुमायो । यो हारले झरना ‘बी’ डिभिजनमा झर्ने निश्चित भएको छ । पहिलो मिनेटमै सृजेश पुरीको आत्मघाती गोलबाट अग्रता बनाएको झरनाका लागि चौथो मिनेटमा प्रेम छन्त्याल र नवौं मिनेटमा कप्तान जितेश गुरुङले गोल थपेका थिए ।

‘ए’ डिभिजन फुटबल खेलाडी डोना थापा र नवीन लामालाई वैकल्पिक कोटाबाट अनुबन्ध गरेको प्रभातफेरी लयमा फर्कियो । १४ औं मिनेटमा सिजन गुरुङ, १८ औं मिनेटमा अखिलेश कार्की र पहिलो हाफको अन्तिम मिनेटमा सृजेशले गोल गरी बराबरीमा ल्याए ।

दोस्रो हाफमा प्रभातफेरीले ४ गोल थप्यो । सन्तलाल गुरुङ, नवीन लामा, धिरज जोशी र सिजन गुरुङले गोल गरे । जितपछि प्रभातफेरीको ७ खेलबाट ७ अंक भएको छ । रेलिगेसनमा पर्ने अर्को टोलीको टुंगो लुम्बिनी फुटसलको बाँकी खेलले लगाउने छ । लुम्बिनीको ६ खेलबाट ४ अंक छ । प्रभातफेरी र ढुकु फुटसल हबको समान ७ अंक छ ।

प्रभातफेरीका प्रशिक्षक सरोज थापाले टिममा नयाँ खेलाडीको आगमनले सन्तुलन मिलाउन कठिन भएको र लयमा आएपछि पुनरागमनबाट जित निस्किएको बताए । झरनाका सहायक प्रशिक्षक सिजन थापाले प्रतियोगिताबाट फुटसलको धेरै ज्ञान लिएर फर्कने बताए  ।

बराबरीले दुवैलाई घाटा

अर्को खेलमा काठमाडौंका शंखमूल र मछिन्द्र स्काइ गोल्सले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । बराबरीले दुवैलाई फाइदा भने भएन । दोस्रो स्थानको शंखमूल शीर्षस्थानको स्पोर्ट्स क्यासलसँग दुरी छोट्याउन असफल रह्यो भने स्काइका लागि यो बराबरीले शीर्ष चारको यात्रामा नराम्रो धक्का लागेको छ ।

७ चरण सकिँदा अपराजित शंखमूलको १५ अंक छ । टोली क्यासलसँग ४ अंकको दूरीमा छ । गोल्सको १० अंक भएको छ । प्लेअफमा पुग्न टोलीले बाँकी दुवै खेल जितेर मात्र पुग्दैन, अरू टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ । उनीहरूभन्दा एक खेल कम खेलेका फुटसल फाइभको १४ र द राइजिङ युथको १३ अंक छ ।

शंखमूलका कृजल खड्काले आठौं मिनेटमा गोल गरेपछि टोलीले अग्रता लियो । २२ औं मिनेटमा आशिष सुनामले स्काइबाट बराबरी गोल फर्काए । २७ औं मिनेटमा अरुज सिंहले पुनः अग्रता दिलाए पनि ३० औं मिनेटमा स्काइका मिसन लामाले बराबरी गोल गरे ।

प्रकाशित : आश्विन १६, २०७८ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?