साफ च्याम्पियनसिप : नेपाल र माल्दिभ्स भिड्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — कतारमा तयारी गरेर ओमानविरुद्ध अभ्यास खेल खेलेपछि माले पुगेको नेपाली राष्ट्रिय टोलीले आयोजक माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्दै शुक्रबार साफ च्याम्पियनसिप २०२१ सुरु गर्दै छ ।

साफ च्याम्पियनसिप : नेपाल र माल्दिभ्स भिड्दै

पहिलोपल्ट साफ च्याम्पियन बन्ने अभियानमा रहेको नेपाली टिमले दक्षिण एसियाली फुटबलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको तयारीमा दशरथ रंगशालामा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल पनि खेलेको थियो । यस आधारमा कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका टिम राम्रो तयारीसाथ माले पुगेको भन्न मिल्छ । अल्मुताइरीको मुख्य लक्ष्य पनि साफको उपाधि नै हो, जहाँ नेपाली टिम हालसम्म सेमिफाइनलभन्दा माथि उक्लिएको छ ।

डिफेन्डिङ च्याम्पियन पनि हो माल्दिभ्स । ढाकामा भएको साफ २०१८ को उपाधि यात्रामा माल्दिभ्सले नेपाललाई सेमिफाइनलमा ३–० ले हराएको थियो । टोलीले फाइनलमा भारतलाई २–१ ले पन्छाउँदै दोस्रोपल्ट साफको ट्रफी कब्जा गरेको थियो । यस प्रतियोगितामा नेपालले हालसम्म माल्दिभ्सलाई हराएको छैन ।

मालेमा बिहीबार आयोजित प्रि–म्याच प्रेस कन्फ्रेन्समा नेपाली कप्तान किरण चेम्जोङले भने, ‘माल्दिभ्सलाई घरेलु मैदान र समर्थकको फाइदा छ । हामी सबै समर्थकलाई सम्मान गर्छौं तर ती अवसरले हामीलाई केही गर्ने छैन । हामी यहाँ नतिजा हात पार्न मैदानमा प्रतिस्पर्धा गर्न आएका हौं ।’ नेपाल र माल्दिभ्सको राति ९ः४५ बजे प्रतिस्पर्धाअघि उद्घाटन खेलमा श्रीलंका र बंगलादेश भिड्नेछन् ।

प्रकाशित : आश्विन १५, २०७८ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?