२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : रेफ्रीको निर्णयले तनाव

कुशल तिमल्सिना

पोखरा — ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगअन्तर्गत बिहीबार धरान डर्बीमा राइजिङ क्लब र फुटसल फाइभबीचको खेल तनावपूर्ण रह्यो । पहिलो हाफ सकिन ५७ सेकेन्ड बाँकी हुँदा राइजिङका गोलरक्षक तथा कप्तान सचिन श्रेष्ठले बक्सबाहिर निस्केर बल क्लियर गर्दा फुटसल फाइभका रञ्जित गुरुङमाथि ट्याकल गरे ।

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : रेफ्रीको निर्णयले तनाव

करिब एक मिटर दूरीबाटै देखिरहेका मुख्य रेफ्री राजकुमार श्रेष्ठले तत्कालै सचिनलाई रातो कार्ड देखाए । त्यसपछि सुरु भयो, राइजिङको गैरव्यावसायिक हर्कत । उनीहरूको टोली रेफ्रीमाथि जाइलाग्यो । फिल्डभित्रै सुरक्षाकर्मी प्रवेश गराउनुपर्ने स्थिति आयो । करिब १० मिनेट खेल रोकियो ।

बुधबार स्काई गोल्ससँग ४–३ गोलको हार बेहोरेपछि प्रभातफेरीका टिम म्यानेजर कृष्ण श्रेष्ठले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै अफिसियलसँग झगडाकै तहमा प्रस्तुत भएका थिए । उनीहरूको आरोप रेफ्रीले पक्षपाती निर्णय लिएर विपक्षीलाई जितायो भन्ने थियो ।

उक्त खेलको अन्तिम मिनेटमा प्रभातफेरीका धिरज जोशीलाई गोल्सका गोलरक्षक लक्ष्मण थापाले बक्सबाहिर ट्याकल गरेको र हातले बल छोएकामा रेफ्रीले फाउल नदिएको भन्दै खेल सकिएपछि प्रभातफेरीका अफिसियल रेफ्रीसँग झगडा गर्न उत्रिएका थिए । यो घटनामा एन्फाले मुख्य रेफ्री सन्तोष तामाङसहित थर्ड रेफ्री राजन थापा र टाइमकिपर सुवास तामाङलाई समेत पाँच खेलको प्रतिबन्ध लगाएको छ ।

असोज ८ मा खेलाइएको लिगको १८ औं खेल काठमाडौंको ढुकु फुटसल हब र प्रभातफेरीबीचको थियो । ३७ औं मिनेटमा ढुकुका विक्रान्तको प्रहार पोलमा लागेर फर्किंदा सुमन तामाङको हातमा लागेको थियो । उनले त्यही बल गोलमा परिणत गरेका हुन् । भिडियो फुटेजमा पनि उनले ह्यान्ड गरेको देखिन्छ । तर नजिकै रहेका मुख्य रेफ्री राजकुमार श्रेष्ठ र सेकेन्ड रेफ्री दीपेन्द्र तामाङले देखेनन् । आफ्नै आँखाअगाडि भएको घटनामा निर्णय लिन नसकेका कारण दीपेन्द्र कारबाहीमा परे । यो ढुकुको चौथो र बराबरी गोल थियो । यही गोलमा ढुकुले १ अंक हासिल गर्न सकेको थियो ।

दीपेन्द्र कम अनुभव भएका रेफ्री हुन् । उनले यो प्रतियोगितामा सेकेन्ड रेफ्रीको भूमिका निभाएको त्यो पहिलो खेल थियो । त्यही खेल विवादमा परेपछि उनी पाँच खेलको प्रतिबन्धमा परे । त्यसपछि पनि थर्ड रेफ्रीको भूमिकामा फर्किएका छन् । स्रोतका अनुसार पोखराका स्थानीयसमेत रहेका दीपेन्द्रलाई सेकेन्ड वा मुख्य रेफ्रीको भूमिका दिन ‘माथिल्लो’ निकायबाट दबाबसमेत आएको थियो ।

यो कमजोरी त्यो दिन भएको थियो कि जुन खेल हुनुभन्दा आधा घण्टाअगाडि ढुकुका प्रशिक्षक राज महर्जनको नेतृत्वमा दसवटै क्लबले रेफ्रीविरुद्ध एन्फालाई ज्ञापनपत्र बुझाएका थिए । रेफ्रीको कमजोरीका कारण आफ्नो टोलीले बराबरी खेल्न सक्षम भएको महर्जनले त्यतिबेलै स्वीकारेका थिए ।

यो प्रतियोगिताका लागि एन्फाले ११ जना रेफ्री उपलब्ध गराएको छ । रेफ्री एसेसर सुरज मानन्धरले उनीहरूलाई प्रशिक्षणसहित खेलको अनुभव दिलाइरहेका छन् । रेफ्री मानन्धरले फुटसल फाइभ र राइजिङबीचको खेलमा राइजिङका गोलरक्षकले पाएको रातो कार्ड फुटसलको अन्तर्राष्ट्रिय नियमअनुसार सही निर्णय भएको दाबी गरे ।

‘विपक्षी टोलीले रेफ्रीले रातो कार्ड दिएको विषयमा असहमति राखिएको थियो । रेफ्रीले नियमका आधारमा रहेर खेल खेलाउने हो,’ मानन्धरले थपे, ‘फुटसल नियममा युजिङ एक्सेसिभ फोर्स (आवश्यकताभन्दा बढी शक्ति प्रयोग) गर्नेलाई रातो कार्ड नै हुन्छ । घटना भएलगत्तै हामीले भिडियो पनि हेर्‍यौं । हामी यसबाट के निश्चिन्त छौं भने मेरो रेफ्रीले सही निर्णय लिएका छन् ।’

रेफ्री एसेसर मानन्धरले कमजोरी भएको ठाउँमा आत्मालोचना गरेको बताए । ‘दुई खेलमा रेफ्रीलाई चेतावनीसहित ५ खेलको निलम्बन गरेका छौं । तर यो प्रतियोगितामा रेफ्रीको प्रदर्शनबाट म सन्तुष्ट छु,’ उनले कान्तिपुरसँग भने, ‘सबैका लागि यो पहिलो प्रतियोगिता भएको हुनाले सबैसँग नयाँ अनुभव छ । सबैले सिक्दै जाने हो ।’

राइजिङ क्लबका प्रशिक्षक युवेन्द्र गुरुङले रेफ्रीको निर्णय पक्षपाती भएको बताए । उनले आफूहरू सुरुदेखि नै रेफ्रीको गलत निर्णयको सिकार भइरहेको आरोप लगाए । ‘हामीले पहिल्यैदेखि भन्दै आइरहेको हो । रेफ्रीबाट राइजिङ क्लबमात्र सिकार भइरहेको छ । आजको खेलमा पनि त्यही नै रह्यो हाम्रो । हाम्रो पहिलो गोलरक्षकलाई आफ्नो खुट्टामा बल हुँदा र उसैले बल क्लियर गर्दा अर्को आएर जुध्दा किपरले रातो कार्ड पाउने त्यो कुनै नियम हुन्छ जस्तो लाग्दैन । त्यही गल्तीको परिणाम हामीले त्यति धेरै अग्रता लिएर पनि खेल जित्न सकेनौं,’ उनले भने ।

दुवै कप्तानले रातो कार्ड पाएको खेल

बिहीबार धरान डर्बीमा फुटसल फाइभले ५–२ ले पछि परेको स्थिति उल्टाउँदै ७–५ गोलले खेल जित्दा तीन मिनेटको अन्तरमा ५ गोल गरेको थियो । सुदीप गुरुङले चौथो र आठौं मिनेटमा गोल गरेपछि राइजिङले सुरुमै अग्रता बनाएको थियो । १७ र २० औं मिनेटमा विजय श्रेष्ठले फुटसल फाइभबाट गोल गरे । २० औं मिनेटमा दोर्जे तामाङले पेनाल्टीमा गोल गरी ३–२ को स्थितिमा पुर्‍याए । १८ औं मिनेटमा कप्तान सन्दीप कार्की दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्नुपरेपछि फुटसल फाइभ दबाबमा परेको थियो । त्यसको एक मिनेटपछि नै राइजिङका गोलरक्षक कप्तान सचिनले रातो कार्ड पाए ।

२४ औं मिनेटमा मिलन राई र २९ औं मिनेटमा हेमन्त थापामगरले गोल गरेपछि राइजिङले ५–२ को अग्रता बनायो । अन्तिम ५ मिनेट बाँकीमा खेलले नाटकीय मोड लियो । ३५ औं मिनेटमा फुटसल फाइभका सरोज तामाङले गोल गरे । एक मिनेट नबित्दै दुई गोल थपेर खेल बराबरीमा ल्याए भने

ह्याट्रिकसमेत पूरा गरे । ३७ औं मिनेटमा रञ्जित गुरुङ र ३८ औं मिनेटमा प्रवेश जोशीले गोल गरेपछि फुटसल फाइभले रोमाञ्चक जित निकालयो । जितबाट फुटसल फाइभ ७ खेलमा १४ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा उक्लने अवसर गुमाएको राइजिङ भने समान खेलबाट १३ अंकसहित चौथो स्थानमा झरेको छ ।

‘हामीलाई रेफ्रीले नै गाह्रो बनाइदिएको छ । अब दुई खेल कठिन छन् । अरूको नतिजामा पनि भरपर्छ । यो खेल रेफ्रीकै कारणले घाटा भयो । समग्रमा नालायक अम्पायरको निर्णयले गर्दा हामीलाई शीर्ष चारमा कठिन हुन थाल्यो,’ राइजिङका प्रशिक्षक युवेन्द्र गुरुङले खेलपछि भने ।

विजेताका प्रशिक्षक विश्वास लामा भने लगातार पुनरागमन जितले टोलीमा आत्मविश्वास बढेको भन्दै खुसी देखिए । ‘लगातार खेलमा कमब्याक जित निकाल्न सकेका छौं । यसले राम्रै आत्मविश्वास दिएको छ । गोल खाँदैमा आत्तिनु हुँदैन भनेर खेलाडीले सिकेका छन्,’ लामाले भने, ‘हाम्रो मुख्य स्कोरर नै कप्तान हो । उसले नै रातो कार्ड खाँदा हामी आत्तिएका थियौं । तर अन्य खेलाडी अन्तिमसम्म आस राखेर खेले । कार्डको कारणबारे बुझ्दा रेफ्रीसँग विवाद गरेका कारण पहिलो कार्ड पाएको भनियो । दोस्रो कार्ड चाहिँ सिधा हातले बल रोकेको छ । रेफ्रीसँग विवाद गरेर पनि काम छैन ।’

ढुकु ढुक्क, लुम्बिनी चिन्तामा

दिनको अर्को खेलमा काठमाडौंको ढुकु फुटसलसँग ५–२ गोलले पराजित भएपछि लुम्बिनीलाई रेलिगेसनको चिन्ता अझै बढाएको छ । यो ३ अंकले ढुकु भने रेलिगेसनबाट जोगिनेमा ढुक्क हुन थालेको छ । ढुकुका लागि सातौं खेलमा दोस्रो जित हो भने समान खेलबाट लुम्बिनीको पाँचौं हार हो । ढुकुको ७ र लुम्बिनीको ४ अंक छ ।

लुम्बिनीका प्रशिक्षक प्रज्वल श्रेष्ठले सब्स्टिच्युट खेलाडीहरू स्तरीय नहुँदा एउटै सेटबाट धेरै अपेक्षा गर्न नसकिएको बताए । ‘सब्स्टिच्युट गर्न बेञ्चका खेलाडीमाथि भरोसा पनि भएन । जुन हिसाबका लागि तयारी गरेको र खेलाडी अनुबन्ध गरेको थिएँ, त्योअनुसार प्रदर्शन आएन । सुरुमा रेलिगेसन हुँदैन भनिएको थियो । अहिले रेलिगेसन राखियो,’ लुम्बिनीका प्रशिक्षक प्रज्वल श्रेष्ठले भने, ‘हामीलाई रेलिगेसन जोखिम छ । अझै पनि अवसर त छ, प्रयास गर्नेछौं । हेरौं, भाग्यले कति साथ दिनेछ ।’

लुम्बिनीले अग्रता लिएर हार बेहोर्नुपरेको हो । पहिलो हाफ गोलरहित भए पनि २४ र २९ औं मिनेटमा अनोज गैरेले गोल गरी लुम्बिनीलाई अग्रता दिलाए । तर, अन्तिम १० मिनेटमा ढुकुको प्रदर्शन सानदार थियो । ३१ र ३५ औं मिनेटमा ढुकुका प्रसिद्ध मगरले गोल गरी खेल बराबरीमा ल्याए । त्यसपछि तीन मिनेटमा ढुकुले तीन गोल थप्यो । विक्रान्त नरसिंह राणाले २ र अभय राणाले १ गोल गरे । ढुकुका राज महर्जनले रेलिगेसनबाट जोगिन यो जित निकै नै महत्त्वपूर्ण रहेको बताए । ‘जितले धेरै नै ढुक्क भएको छ । रेलिगेसनमा परिन्छ कि भन्ने डर थियो । जितले बाँकी दुई खेललाई आत्मविश्वास फर्किएको छ,’ उनले भने ।

प्रकाशित : आश्विन १५, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?