२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : क्यासल र शंखमूल नजिकिँदै

पोखरा — पोखराको स्पोर्ट्स क्यासल र काठमाडौंको शंखमूल फुटसलले बुधबार आ–आफ्नो खेल जितेर ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको क्वालिफायर नजिक पुगेका छन् । अंकतालिकामा अगाडि रहेका यी टोलीले पुछारका टोलीमाथि सहज जित निकाले । समान ६ खेलबाट स्पोर्ट्स क्यासल १६ र शंखमूल १४ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् ।

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : क्यासल र शंखमूल नजिकिँदै

तीन चरणको खेल बाँकी हुँदा उनीहरूलाई कम्तीमा एक जितले पनि शीर्ष चारभित्र स्थान सुरक्षित गर्नेछ । यस लिगमा शीर्ष चार टोलीले क्वालिफायर र इलिमिनेटरमा खेल्नेछन् । दुवै टोलीले शीर्ष स्थानमा रहेर लिग टुंग्याउने लक्ष्य राखेका छन् ।

बुधबार दोस्रो खेलमा स्पोर्ट्स क्यासलले पुछारको झरना स्पोर्ट्सलाई ५–१ गोलले हरायो । खेलमा क्यासललाई जितको अधिक आत्मविश्वास र झरनालाई लगातार हारको निराशा प्रस्ट झल्कन्थ्यो । झरनाले लिगको छैटौं खेलसम्म आउँदा अंक बटुल्न सकेको छैन । रेलिगेसन नजिकको झरना हारपछि लिग चरणबाटै घर फर्कने निश्चित भएको छ । ६ खेलबाट १६ अंकसहित क्यासल शीर्षस्थानमा कायमै छ । टोलीले एउटै खेल हारेको छैन । पोखराका सुमित श्रेष्ठ दोहोरो पहेँलो कार्डका कारण यो खेल निलम्बनमा गुमाए । प्रशिक्षक विष्णु गुरुङले दोस्रो रोजाइका खेलाडीबाट खेल सुरु गरेका थिए । कमजोर टोलीसँग सोहीअनुसारको टिम बनाएर अंक लिने रणनीतिमा स्पोर्ट्स क्यासल उत्रियो ।

सुरुमा झरनाले बल पोजेसन लिन थालेपछि खिमराज गुरुङ सब्स्टिच्युड भएर मैदान छिरे । उनी प्रवेश गरेलगत्तै विजय गुरुङले पाँचौं मिनेटमा रिबाउन्ड बलमा गोल गरी अग्रता दिलाए । पहिलो हाफको अन्त्यतिर चार मिनेट अन्तरमा चार गोल थपेर क्यासलले ५–० को अग्रता बनाएको थियो । १४ औं मिनेटमा खिमराज, १५ औं मिनेटमा भीषण गुरुङ, १६ औं मिनेटमा किशोर गुरुङ र १८ औं मिनेटमा पुनः खिमराजले गोल गरे । दोस्रो हाफमा गोल गर्नभन्दा समय बिताउन केन्द्रित क्यासलले गोल थप्न सकेन । झरनाका नारायण थापामगरले २९ औं मिनेटमा एक गोल गरे ।

लगातारको हारबाट झरना टिम निरास छ । तर, हतोत्साही भने भएको छैन । एकनासको प्रदर्शन गर्ने झरनाको शैली स्पोर्ट्स क्यासलसँगको खेलमा पनि कायम रह्यो । धेरैभन्दा धेरै बल पोजेसन लिने तर काउन्टर एट्याकमा ध्यान पुर्‍याउन नसकेका उनीहरू फुटबलको शैलीमा अभ्यस्त देखिन्थे ।

‘हामीले सबै खेलाडीलाई मिहिनेत गर्न भनिरहेका छौं । सबै खेलमा केन्द्रित हुनुपर्छ । हामीलाई नतिजाको प्रवाह छैन । हारे पनि धेरै कुरा सिकेर जाँदै छौं,’ झरनाका टिम म्यानेजर सिजन थापाले कान्तिपुरसँग भने, ‘अरू टिमको तुलनामा हामीले तयारी समय कम पायौं । अर्को वर्ष खेल्दा हामी धेरै तयारी गरेर आउँछौं । फुटबलमात्र खेल्ने खेलाडीका लागि थोरै समय तयारी गरेर आउँदा कमजोर प्रदर्शन भएकै हो ।’ उनले बुटबलमा पनि वास्तविक फुटसल मैदान बनेको खण्डमा स्तरीय खेलाडी उत्पादन गर्न सकिने औंल्याए । ‘यहाँ आएपछि मात्रै हामीलाई फुटसल भनेको के हो भन्ने थाहा भयो । सरकारीस्तरबाट सबै क्षेत्रमा फुटसल मैदान भयो भने राम्रा फुटसल खेलाडी उत्पादन गर्न सजिलो हुन्थ्यो ।’

प्रदेश २ को छनोटमा कुनै पनि टोली नआएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन प्रदेशको एकीकृत छनोटको फाइनलमा पराजित झरनालाई असार १७ गते फाइनल प्रतियोगिता खेल्न छनोट गर्ने निर्णय गरेको थियो ।

स्पोर्ट्स क्यासलका सहायक प्रशिक्षक अर्बिन गुरुङले आफ्ना खेलाडीले विपक्षीअनुसार प्रदर्शन गरेको स्वीकारे । ‘कमजोर विपक्षी भएपछि खेलाडीले पनि खेललाई सहज रूपमा लिए । सजिलो जित निस्कियो,’ उनले भने, ‘हाम्रो लक्ष्य शीर्ष दुईभित्र पर्ने हो । हामीले हरेक खेललाई आफ्नो प्रदर्शन सुधार्नमै केन्द्रित गरेका छौं ।’

शंखमूलको सान

लुम्बिनी फुटसलमाथि ३–२ को जितसँगै शंखमूल क्वालिफायर नजिक पुगेको छ । ६ खेलबाट १४ अंकसहित दोस्रोमा उक्लिएको शंखमूल अपराजित छ । मुख्य पिभोट मणि लामाको अनुस्थितिले शंखमूलको खेल खस्कियो । मणिको उपस्थितिमा हुने आक्रामक फुटसल लुम्बिनीविरुद्ध नदेखिए पनि शंखमूलले सन्तुलित खेल भने खेलेको थियो । प्रशिक्षक प्रकाश परियार पनि आफ्नो टिमको प्रदर्शनबाट सन्तुष्ट थिएनन् । ‘यो खेल चित्तबुझ्दो थिएन । तर, हामीले जित्यौं । ३ अंक हाम्रा लागि महत्त्वपूर्ण हो ।’

पुछारका टोलीसँगको खेललाई सहज लिइएको हो भन्ने प्रश्नमा उनले भने, ‘यो प्रतियोगितामा सहभागी सबै टोली आआफ्नो क्षेत्रबाट छनोट प्रक्रिया पूरा गरेर आएका हुन् । सबै उत्तिकै सशक्त छन् । लुम्बिनीका खेलाडीहरू परिचित छन् । विपक्षीलाई बुझेर खेल्दा सजिलो भएको हो ।’

शंखमूलले बाँकी तीनमध्ये एक खेल जितेको स्थितिमा पनि क्वालिफायर सुरक्षित गर्नेछ ।

यसको विपरीत लुम्बिनी टोली भने रेलिगेसनको सन्नीकट छ । रूपन्देहीकै झरना स्पोर्ट्स छैटौं खेलसम्म जितविहीन बन्दा लिग चरणबाटै बाहिरिने निश्चित भएको छ । रूपन्देहीका दुवै टोलीलाई रेलिगेसन खतरा छ । प्रशिक्षक प्रज्वल श्रेष्ठले पनि रेलिगेसनको दबाब बढ्न थालेको बताए । ‘लगातारको हारले हामीलाई रेलिगेसनको खतरा बढ्दै गएको छ । तर बाँकी खेलमा रेलिगेसनबाट जोगिने गरी सन्तुलित प्रदर्शन अपेक्षा गरेको छु ।’ उनले शंखमूलविरुद्ध आफ्ना खेलाडीको प्रदर्शनप्रति असन्तुष्टि व्यक्त गरे । उनले खेलाडीको मानसिकताप्रति नै शंका व्यक्त गरेका छन् । ‘खेलाडीहरू जितको मानसिकतामा खेलेको देखिएन । उनीहरूले आफ्नो क्षमताअनुसार खेलेनन् वा खेल्न सकेनन्,’ उनले भने ।

विवेक पण्डितले गोल गरेपछि शंखमूलले आठौं मिनेटमा अग्रता बनायो । तर एक मिनेटपछि नै रुपेन बराइलीको गोलमार्फत लुम्बिनीले खेल बराबरीमा ल्यायो । कृजल खड्काले १३ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा शंखमूल २–१ ले अगाडि रह्यो । दोस्रो हाफमा दुवै टोलीले १–१ गोल थपे । ३० औं मिनेटमा शंखमूलका सागर थिङले गोल गरे भने खेलको अन्तिम मिनेटमा रफी महर्जनले लुम्बिनीले एक गोल फर्काएको थियो ।

प्रभातफेरीलाई रेलिगेसन डर

स्काइ गोल्ससँग रोमाञ्चक खेलमा ५–४ गोलले पराजित भएपछि प्रभातफेरी क्लबले रेलिगेसन जोखिम रहेको महसुस गर्न थालेको छ । ६ खेलमा १ जित र १ बराबरीसहित ४ अंक जोडेको प्रभातफेरी पुछारबाट तेस्रो स्थानमा छ ।

यो नतिजाबाट गोल्सको भने शीर्ष चारभित्र पर्ने आस बढेको छ । समान ६ खेलबाट स्काइको ९ अंक छ । सन्तलाल गुरुङले आत्मघाती गोल गरेपछि स्काइले पहिलो मिनेटमै अग्रता बनायो । सातौं मिनेटमा विशाल सारु मगरले प्रभातफेरीका लागि बराबरी गोल फर्काए । आठौं मिनेटमा स्काइका कप्तान निर्मल गुरुङ र नवौं मिनेटमा प्रभातफेरीका विशालले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफ २–२ को बराबरी टुंगियो ।

२३ र २४ औं मिनेटमा क्रमशः श्रीकृष्ण श्रेष्ठ र आशिष सुनामले गोल गरेपछि स्काइले पुनः अग्रता बनायो । ३२ औं मिनेटमा अखिलेश कार्कीले प्रभातफेरीका लागि एक गोल फर्काएका थिए ।

खेलको अन्तिम मिनेटमा प्रभातफेरीका धिरज जोशीलाई स्काइका गोलरक्षक लक्ष्मण थापाले बक्स बाहिरबाट ट्याकल र हातले बल छोएकामा रेफ्रीले फाउल नदिएको भन्दै खेल सकिएपछि प्रभातफेरीका अफिसियलहरू रेफ्रीसँग झगडा गर्न उत्रिएका थिए । ‘जहिले पनि एउटै कुरा गर्नुपरेको छ । अन्तिमतिर विपक्षी गोलरक्षकले बाहिर आएर हातले बल छोएर अझ खुट्टा पनि तानिदिएको छ । यसो हुँदा पनि रेफ्रीले फाउल दिएन । सुरुदेखि नै रेफ्रीले हामीलाई पक्षपाती व्यवहार गरिरहेको थियो,’ प्रभातफेरीका प्रशिक्षक सरोज थापाले भने, ‘हामी जित्न भनेर आएका थियौं तर रेफ्रीले हराइदियो । रेफ्रीकै कारणले हारेपछि अब हामीलाई रेलिगेसन डर सुरु भएको छ ।’

गोल्सका प्रशिक्षक रमेश सिन्केमानले पनि रेफ्रीको निर्णय अझै परिपक्व र विश्वासलाग्दो हुन नसकेको गुनासो गरे । मुस्किलले जित निस्किएकोमा भने उनी खुसी थिए । ‘पाएको अवसरमा गोल हुन नसक्दा अन्तिमतिर धेरै नै दबाब भयो । रेफ्रीले पनि राम्रो निर्णय गर्न सकिरहेका छैनन् । आज पनि त्यो देखियो,’ आफ्नो टिमको प्रदर्शनबारे उनले भने, ‘खेलाडीले धेरै फाउल खेलिरहेका छन् । उनीहरूलाई खेलको माहौल बुझेर खेल्न भनिरहेको छ् ु। खेलाडीले अझै वास्तविक फुटसल खेल्न सकिरहेका छैनन् । फुटबलकै शैलीमा फुटसल खेलिरहेका छन् ।’

प्रशिक्षक सिन्केमानले शीर्ष चारभित्र पर्न बाँकी तीनै खेल जित्ने प्रयासमा रहने बताए । स्काइ गोल्सले अब शंखमूल, ढुकु र लुम्बिनी फुटसलसँग खेल्न बाँकी छ ।

प्रकाशित : आश्विन १४, २०७८ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?