'ए' डिभिजन राष्ट्रिय फुटसल लिग : क्यासलको प्रभाव

फुटसल फाइभका कप्तान सन्दीप कार्कीको चार गोल

पोखरा — मछिन्द्र स्काइ गोल्समाथि प्रभावशाली जित दर्ता गराउँदै घरेलु टोली स्पोर्ट्स क्यासल पोखरामा जारी प्रथम ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको शीर्षस्थानमा फर्किएको छ । लिगमा आधाभन्दा बढी खेल सकिँदा स्काइले शीर्ष चारमा रहने सम्भावना बलियो पारेको छ ।

'ए' डिभिजन राष्ट्रिय फुटसल लिग : क्यासलको प्रभाव

गण्डकी प्रदेशको छनोट प्रतियोगिता जितेर फाइनल प्रतियोगिताका लागि छनोट भएको क्यासलले पोखरा रंगशालास्थित कभर्डहलमा घरेलु समर्थकमाझ अभूतपूर्व प्रदर्शन गरिरहेको छ । उपाधि दाबेदार मानिएका शंखमूल, ढुकुलगायतका टोलीलाई सशक्त चुनौती दिएको क्यासलले ४ खेल खेल्न बाँकी छ । टिमले जित हासिल गरे पनि स्पोर्ट्स क्यासलका सहायक प्रशिक्षक अर्बिन गुरुङ भने प्रदर्शनबाट सन्तुष्ट देखिएनन् । ‘प्राविधिक रूपमा कमजोर प्रदर्शन भएको थियो । र, पनि खेलाडीको जोसले खेल जितियो,’ गुरुङ स्विकार्छन्, ‘ठूलो दबाब अब कम भएको छ ।’

क्यासलले झरना स्पोर्ट्स, पोखरा डर्बीमा सविन मेमोरियल, धरानका फुटसल फाइभ र राइजिङ क्लबसँग प्रतिस्पर्धा गर्न बाँकी छ । प्रशिक्षक गुरुङले पनि टिमको एकता नै महत्त्वपूर्ण पक्ष भएकाले लगातार जित्दा त्यो झन् बलियो भएको बताए । क्यासलका सुमित श्रेष्ठ र खिमराज गुरुङले २–२ गोल गरे । किशोर गुरुङ, दिपेश घले, विजय गुरुङ र भीषण गुरुङले १–१ गोल गरे । स्काइ गोल्सबाट मनोज राई र रोशन अधिकारीले गोल गरेका थिए । क्यासलका योगेश गुरुङले आत्मघाती गोल उपहार दिए ।


स्काइका प्रशिक्षक रमेश सिन्केमानले रेफ्रीको गलत निर्णयका कारण खेलमा पराजित हुनुपरेको दाबी गरे । ‘हामीले अग्रता लिएका थियौं, त्यो गोल दिइएन । त्यस्तै गोल विपक्षी टोलीले गर्दा त्यसलाई मान्यता दिइयो,’ उनले शीर्ष चारको दाबेदारिता कठिन भएको स्वीकार्दै भने, ‘क्वालिफायरमा प्रवेश गर्न हामीले बाँकी चारै खेलमा शतप्रतिशत नतिजा ल्याउनुपर्नेछ ।’ गोल्सले लिगको पाँचौं स्थानमा उक्लने अवसर गुमाएको छ । ५ खेलमा २ जित र ३ हारसहित ६ अंकसाथ स्काइ तालिकाको छैटौं स्थानमा छ ।

प्रभातफेरीको पहिलो जित

रूपन्देहीको लुम्बिनी फुटसललाई ६–१ गोलले पराजित गरी काठमाडौंको प्रभातफेरीले राष्ट्रिय फुटसल लिगको पाँचौं खेलमा पहिलो जित निकालेको छ । यसअघि तीन खेल हारेको प्रभातफेरीले ढुकु फुटसलसँग बराबरी खेलेको थियो ।

लगातारको खराब प्रदर्शनबाट रेलिगेसन खतरामा परेको प्रभातफेरीका लागि जितले राहत मिलेको छ । ५ खेलबाट ४ अंकसहित प्रभातफेरी आठौं स्थानमा छ । हारपछि लुम्बिनी भने समान अंक भए पनि हेड टु हेडका आधारमा पछि पर्दै नवौं स्थानमा झरेको छ । प्रतियोगितामा १० टोली सहभागी छन् । त्यसमध्ये दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

‘हाम्रो लागि यो निकै प्रतीक्षित ३ अंक हो । खेलाडीको मनोबलका लागि भए पनि कम्तीमा एक खेल जित्नैपर्ने थियो,’ प्रभातफेरीका प्रशिक्षक सरोज थापाले भने, ‘रेलिगेसन जोन त छाडियो तर खतरा टरेको छैन । एक खेल जित्दैमा हामी ढुक्क भएर बस्दैनौं । ४ खेलमा अधिकतम अंक ल्याउने प्रयास गर्नेछौं र रेलिगेसनबाट टिम जोगाउने छौं ।’ उनले लुम्बिनीविरुद्ध आफ्ना खेलाडीले रणनीतिअनुसार खेलेर ३ अंक हासिल गर्न सफल भएको सुनाए ।

यो नतिजाले लुम्बिनीका लागि भने खतराको घण्टी बजेको छ । पाँचौं खेलमा तेस्रो हार बेहोरेको लुम्बिनी रेलिगेसन जोनमा पुगेको छ । रूपन्देहीकै झरना स्पोर्ट्स सुरुदेखि नै रेलिगेसनको खतरामा छ । कार्डको नियम र खेलाडीको इन्ज्युरीले समस्यामा परेको लुम्बिनी बाँकी चार खेलका लागि अझै आशावादी भने छ ।

‘आजको खेल सोचेजस्तो भएन । खेलाडीको फिटनेसमा समस्या भइरहेको छ र खेल पनि एक दिन बिराएर नियमित खेल्नुपरेको छ । रिकोभरी टाइम पुगेको छैन,’ लुम्बिनीका प्रशिक्षक प्रज्वल श्रेष्ठले भने, ‘हामीलाई दबाब बढेको छ । ४ खेल बाँकी छ । सबै खेल बलियो टोलीसँग छ । खेलाडीहरू फिट भए भने आस गर्न सकिन्छ ।’

लुम्बिनीविरुद्ध प्रभातफेरीका ६ खेलाडीले १–१ गोल गरे । धिरज जोशी (७), विशाल सारुमगर (९), सन्तलाल गुरुङ (९), सृजेश पुरी (१८), सुविल श्रेष्ठ (२७) र कप्तान आशिष दंगाल (२३) ले गोल गरेका हुन् । लुम्बिनीका रुपेन बराइलीले खेलको अन्तिम मिनेटमा एक गोल फर्काए ।

झरनाको लगातार हार

भाग्यवश छनोट भएको झरना स्पोर्ट्सले यो संस्करणको सहभागिता अनुभवकै रूपमा टुंग्याउने लगभग निश्चित भएको छ । सोमबार धरानको फुटसल फाइभसँगको हारसँगै प्रतियोगितामा एकमात्र जितविहीन टोलीको रेलिगेसन पर्ने सम्भावना बढिरहेको छ ।

सुरुआती पाँच खेलमा झरनाले अंक जोड्न सकेको छैन । बुटवल डर्बीमा लुम्बिनी फुटसलसँगको हारबाट प्रतियोगिताको सुरु गरेको झरनाले ५ खेलमा ३५ गोल खाएको छ भने ११ गोल गरेको छ । रूपन्देहीको सबैभन्दा पुरानो र प्रतिष्ठित फुटबल क्लबको रूपमा रहेको झरनाले शीर्ष चारभित्र पर्ने लक्ष्य राखेको थियो । प्रदेश २ मा छनोट प्रतियोगिता हुन नसकेपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम छनोटको फाइनल पुगेको झरनालाई यस प्रतियोगिता खेल्ने अवसर दिइएको थियो ।

‘प्रतियोगितामा छनोट हुन पाउनु नै हाम्रा लागि ठूलो अवसर थियो,’ झरनाका टिम म्यानेजर सिजन थापाले भने, ‘लगातारको हारले टिममा धेरै नै निराशा छाएको छ । तर चार खेल बाँकी छ । हामी रेलिगेसनबाट जोगिन प्रयास गर्नेछौं ।’ चोटको समस्याबाट झरना पनि अछुतो छैन । त्यसैले तीन वैकल्पिक खेलाडीलाई बोलाएको टोलीले सुरुमै अग्रता बनाएको थियो । तर, त्यसलाई धेरैबेर जोगाउन सकेन । झरनाका गंगा गुरुङले तेस्रो मिनेटमा गोल गरेका थिए । उनले छैटौं मिनेटमा पनि गोल थपे । नारायण थापामगरले २० र ३१ र ३७ औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे ।

फुटसल फाइभका कप्तान सन्दीप कार्कीले ह्याट्रिकसहित ४ गोल गरे । उनले खेलको ५, २८, ३३ र ३६ औं मिनेटमा गोल गरेका हुन् । रञ्जित गुरुङले चौथो र नवौं मिनेटमा गोल थपे । नीरव खड्का, सुजन खड्का र विश्वजित राईले १–१ गोल गरे ।

पाँचौं खेलमा दोस्रो जित हासिल गरेको फुटसल फाइभ ८ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । शीर्ष चारको लक्ष्यमा यो जित निकै नै महत्त्वपूर्ण रहेको प्रशिक्षक विश्वास लामाले बताए । आफ्ना खेलाडी धेरै आत्मविश्वासी हुँदा सुरुमै गोल खाएर पछि परेको उनको बुझाइ छ ।

‘तीन अंक हामीलाई महत्त्वपूर्ण थियो । गाह्रो गरेर भए पनि हामीले जित निकाल्न सक्यौं । मेरा खेलाडीले सुरुमा विपक्षीलाई सहज रूपमा लिएजस्तो लागेको थियो,’ उनले भने, ‘हामी शीर्ष चारकै लक्ष्यसहित आएका हौं । बाँकी खेलहरू जितेर हामी लक्ष्य पूरा गर्ने प्रयास गर्नेछौं ।’

नियमअनुसार खेलाइने प्रतिबद्धता

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा सहभागी सबै टोलीले रेफ्रीको निर्णयप्रति आपत्ति जनाउँदै प्रतियोगिता नै छाड्नेसम्मको चेतावनीसहित ज्ञापनपत्र पेस गरेकामा अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीले क्लबका प्रतिनिधि र रेफ्रीसँग सामूहिक छलफल गरेको छ । सबै क्लबले रेफ्रीमाथि आरोप लगाउनुलाई गम्भीर रूपमा लिँदै एन्फाले आफ्ना रेफ्री र क्लबका प्रशिक्षक तथा प्रतिनिधिलाई खेलको नियमबारे जानकारीसहित अन्तरक्रिया गरेको हो ।

छलफलबाट रेफ्रीले फुटसलको अन्तर्राष्ट्रिय नियमको अधिनमा रहेर प्रतियोगिता सञ्चालन गर्ने सहमति भएको एन्फा फुटसल प्रमुख विनोद गुरुङले जानकारी दिए ।

यसअघि शुक्रबार ढुकु फुटसलका सञ्चालक तथा प्रशिक्षक राज महर्जनको नेतृत्वमा सबै क्लबका प्रतिनिधि तथा प्रशिक्षकले रेफ्रीको निर्णयप्रति आपत्ति जनाउँदै ज्ञापनपत्र पेस गरेका थिए । एन्फाले पहिलोपल्ट आयोजना गरेको ‘ए’ डिभिजन फुटसल वास्तविक फुटसलको नियमअनुसार सञ्चालन भइरहेको छ । ‘मैले धेरैअघिदेखि भन्दै आएको छु कि यो प्रतियोगिता खेलाडी, प्रशिक्षक, सहभागी टोली र रेफ्रीका लागि पनि नयाँ हो । त्यसैले सबैले आ–आफ्नो मर्यादामा रहेर जिम्मेवारी पूरा गर्नेबारे छलफल भएको हो । हामीले सिनियर रेफ्री माग गरेका थियौं । तर उहाँहरू उपलब्ध नहुने कुरा थाहा पाएँ,’ राष्ट्रिय फुटसल व्यवसायी संघका अध्यक्षसमेत रहेका महर्जनले भने, ‘रेफ्रीले नियमअनुसार खेल खेलाउने भन्ने सहमति भएको छ ।’

प्रकाशित : आश्विन १२, २०७८ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?