ईपीएल : विराटनगरमाथि चितवनको जित

विनोद पाण्डे

काठमाडौँ — राजेश पुलामीले संयमपूर्ण ब्याटिङ गरेपछि चितवन टाइगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आइतबारको खेलमा विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको छ ।

ईपीएल : विराटनगरमाथि चितवनको जित

राजेशले ४३ रन बनाएपछि चितवनले १ सय ५२ रनको लक्ष्य अन्तिम बलमा पुरा गरेको थियो । ३९ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे । शाहव आलम १ रनमा अविजित रहे ।

ओपनर मोहम्मद साहजादलाई चितवनले एक रनमै गुमाएको थियो । इशान पाण्डे १०, भिम सार्की ११ बलमा ३०, दीलिप नाथ २१ बलमा २३, करिम जन्नत १८ बलमा १९, कप्तान सोमपाल कामी ९ र कमलसिंह ऐरी एक रन बनाइ आउट भए ।

विराटनगरका सिकन्दर राजाले ४ ओभरमा ३४ र कप्तान करण केसीले ४ ओभरमा ३० रन खर्चेर २–२ विकेट लिए । प्रतिस जिसी, अनिल खरेल र रायन पठानको नाममा १–१ विकेट रह्यो ।

यसअघि जिम्बावेका पूर्वकप्तान राजाले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५१ रन बनाएको थियो ।

राजाले ४७ बल खेल्दै २ चौका र ७ छक्का प्रहार गरी ६७ रन बनाए । सौरभ खनाल १९ बलमा ३ चौका र २ छक्का प्रहार गरी ३० रन बनाई अविजित रहेका थिए ।

विराटनगरको सुरुआत निकै खराब थियो । चितवनका कप्तान सोमपाल कामीले खेलेको पहिलो ओभरमै आसिफ शेखलाई शून्य र हेमराज चन्द्रपाललाई २ रनमा आउट गरी दुवै ओपनरलाई पेभेलियन फर्काएका थिए ।

अर्को ओभरमा कमलसिंह ऐरीले रायन पठानलाई ४ रनमा बोल्ड गरे । राजेश पुलामीले १ रनमा अनिल शाहको क्याच छाड्नु चितवनलाई महँगो पर्‍यो । अनिलले ३१ बलमा ३२ रन बनाए । सागर ढकालले अनिल र सुमित महर्जनलाई लगातार बलमा आउट गरे ।

कप्तान करण केसी १ रनमात्र बनाई शाहव आलमको बलमा आउट भए । सागरले ३ ओभरमा १४, कमलले ४ ओभरमा १९, करिम जन्नतले ४ ओभरमा ३२ र सोमपालले ४ ओभरमा ३४ रन खर्चेर २–२ विकेट लिए ।

प्रकाशित : आश्विन १०, २०७८ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?