‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : स्पोर्ट्स क्यासलको फड्को- खेलकुद - कान्तिपुर समाचार

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : स्पोर्ट्स क्यासलको फड्को

कुशल तिमल्सिना, दीपक परियार

पोखरा — रूपन्देहीको लुम्बिनी फुटसलमाथि फराकिलो जित निकाल्दै घरेलु टोली स्पोर्ट्स क्यासल ‘ए’ डिभिजन राष्टिय फुटसल लिगको शीर्षस्थानमा उक्लेको छ । पोखरा रंगशालास्थित कभर्डहलमा शनिबार क्यासलले १२–१ गोलमा एकपक्षीय जित निकाल्यो ।

घरेलु समर्थकको साथ पाएको क्यासलले सन्तुलित आक्रामक खेल प्रस्तुत गरेको थियो । चोटले सताएको लुम्बिनीमाथि सुरुदेखि नै हाबी भएको क्यासलका दुई खेलाडीले ह्याट्रिक पूरा गरे ।

भेट्रान फुटबलर विजय गुरुङको प्रेरणामा रहेको क्यासलमा फुटसलका राष्ट्रिय टोलीको प्रशिक्षक भइसकेका विष्णु गुरुङले नेतृत्व लिएका छन् । चौथो खेलसम्म आउँदा स्पोर्टस क्यासलले हरेक खेलमा सुधारिएको प्रदर्शन गरिरहेको छ । बिहीबार उपाधि दाबेदार मानिएको ढुकु फुटसल हबमाथि ३–० ले पछि परेको स्थिति उल्टाउँदै ५–३ ले जितेपछि क्यासलको आत्मविश्वास बढेको छ । त्यो उनीहरूले शनिबार लुम्बिनीविरुद्ध पनि देखाए ।

तेस्रो चरणसम्म निकै नै आक्रामक प्रदर्शन गरिरहेका टिमहरूले अहिले रणनीतिक खेल खेल्न थालेका छन् । अन्तर्राष्ट्रिय नियमको अधिनमा रही वास्तविक रूपमा पहिलोपल्ट आयोजित प्रतियोगिताका सुरुआती खेलहरू आवश्यकताभन्दा धेरै आक्रामक थिए । धेरै फाउलहरू भइरहेको छ भने डरलाग्दो ट्याकल अत्यधिक हुँदा हरेक टिममा खेलाडीको चोट मुख्य समस्या बन्न थालेको थियो ।

तर, शनिबारको दुवै खेल टेक्निकल र रणनीतिक देखियो । फाउल धेरै भएन भने कुनै चोटको समस्या पनि देखिएन । प्रतियोगितामा निकै नै विवादित बनेका रेफ्रीहरूलाई खेल नियन्त्रणमा लिन सहज भयो । त्यसैले त शनिबार दुवै खेलमा कुनै टिमले रेफ्रीप्रति आलोचनाको आवाज निकालेनन् ।

शनिबार दोस्रो खेलमा लुम्बिनीविरुद्ध म्यान अफ द म्याच बनेका सुमित श्रेष्ठ र भेट्रान विजय गुरुङले ह्याट्रिक पूरा गरे । सुमितले ५, २३ र २५ औं मिनेटमा गोल गरे भने विजयले ६, ७ र ३७ औं मिनेटमा गोल गरेका थिए । किशोर गुरुङले १० र २८, सुरेन बुढामगरले २९, भीषण गुरुङले १३ र कप्तान क्षितिज गुरुङले ३९ औं मिनेटमा गोल गरे । लुम्बिनीका सुजन थापाले एक आत्मघाती गोल उपहार दिए । लुम्बिनीका भने २७ औं मिनेटमा रुपेन बराइलीले गरेको गोल सान्त्वनामा परिणत भयो ।

स्पोर्ट्स क्यासलका सहायक प्रशिक्षक अर्बिन गुरुङले सुरुदेखि चौथो खेलसम्म आउँदा टिमको एकता राम्रो भएको र खेलाडीले परिस्थितिअनुसार प्रदर्शन गर्न थालेकामा खुसी व्यक्त गरे । ‘यो खेलमा अपेक्षाअनुसार नै प्रदर्शन भयो । खेल सजिलो भयो । हामीले ठूलै जितको अपेक्षा गरेका थियौं,’ सहायक प्रशिक्षक गुरुङले थपे, ‘पछिल्लो खेलमा ढुकुमाथि जुन जित हासिल गर्‍यौं । त्यसले एउटा छुट्टै खालको उत्साह थपिएको छ ।’ उनले शीर्षस्थानमा पुगेपछि दबाबमा रहने र त्यसलाई चुनौतीका रूपमा लिएर अझ राम्रो प्रदर्शन गर्दै अगाडि बढ्ने बताए ।


स्पोर्ट्स क्यासलका क्यासलका खेलाडीलाई उत्साहित पार्दै पोखरेली समर्थक (दायाँ) । तस्बिर : केशव थापा/कान्तिपुर

लुम्बिनीका प्रशिक्षक प्रज्वल श्रेष्ठले आफूले यति ठूलो अन्तरको हार अपेक्षा नगरेको बताए । ‘यो खेल सोचेजस्तो भएन । खेलाडीको फिटनेसमा कमी रह्यो । स्पिड र स्टामिनादेखि बलको तालमेलमै पनि हामीले कमजोर प्रदर्शन गर्‍यौं,’ उनले थपे, ‘लगातारको हारले दबाब भइरहेको छ । हाम्रो सम्भावना अझै सकिएको छैन । बाँकी पाँच खेलमा राम्रो प्रदर्शन गर्नुपर्छ ।’

दिनको पहिलो खेलमा स्काइ गोल्सले धरानको फुटसल फाइभलाई ७–३ ले हराउँदै लयमा फर्केको संकेत गरेको छ । अघिल्ला तीनमध्ये २ खेल हारेको स्काइ गोल्सलाई यो जित शीर्ष चारको यात्रामा निकै नै महत्त्वपूर्ण थियो । अनुभवी खेलाडीको जमघट भए पनि अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेकामा प्रशिक्षक रमेश सिन्केमान निराश थिए ।

फुटसल फाइभविरुद्ध दुई खेलाडीको उपस्थिति स्काइ गोल्सका लागि फाइदाजनक रह्यो । वैकल्पिक सूचीमा रहेका मिसन लामालाई टिममा समावेश गरिएको थियो । उनले पहिलो खेलमै २ गोल गरी टिमको जितमा निर्णायक प्रदर्शन गरे । त्यस्तै कक्षा १२ को परीक्षा सकेर दीपसेन ठकुरी पनि टिममा सामेल भएका छन् ।

‘नयाँ दुई खेलाडीको प्रदर्शनले हामीलाई अझै सहज भयो । पूरै टिमले जितको विश्वाससहित पूर्ण टिमवर्क देखायो,’ उनले थपे, ‘यो खेलमा हामीले पूरा सेट नै सब्स्टिच्युट गरेर खेल्यौं । त्यसो हुँदा विपक्षीलाई पनि कन्फ्युज बनाउन सकिने र पूरै सेटले आराम पनि आउने भएकाले त्यो रणनीति अपनाएको हो ।’

फुटसल फाइभका प्रशिक्षक विश्वास लामाचाहिँ फिनिसिङ राम्रो गर्न नसकेको दुःखी देखिए । उनले आफ्ना खेलाडीको प्रदर्शनबाट सन्तुष्टि व्यक्त गरे । ‘मेरा खेलाडीहरूले राम्रै खेलेका हुन् । तर हाम्रोभन्दा उनीहरूको खेल राम्रो भयो । खेल त प्रतिस्पर्धात्मक नै थियो । तर उनीहरूको फिनिसिङ राम्रो थियो,’ उनले थपे, ‘हामी फिनिसिङमा चुक्यौं । हामीले आक्रामक खेल्ने रणनीति बनाएका थियौं । त्यसलाई सुधार गर्नुपर्नेछ ।’

स्काइका लागि मिसनले ९ र १५ औं मिनेटमा गोल गरेका हुन् । कप्तान निर्मल गुरुङले ११ र १२ औं मिनेटमा गोल गरे । श्रीकृष्ण श्रेष्ठ, अमित तामाङ र रोशन अधिकारीले १–१ गोल गरे । फाइभका कप्तान सन्दीप कार्कीले दुई गोल फर्काए । रञ्जित गुरुङले १ गोल गरे ।

प्रकाशित : आश्विन १०, २०७८ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्

चाडबाडले ततायो अटोबजार

चारपांग्रे सवारीको माग धेरै, आयात कम
मोटरसाइकल र स्कुटरको माग पनि चुलिँदै
विमल खतिवडा, नुमा थाम्सुहाङ

काठमाडौँ — दसैंको चहलपहल सुरु भएको छ । दसैं सकिँदा–नसकिँदै तिहारको रौनक पनि सुरु हुन थाल्छ । सँगै छठ त छँदै छ । यही मेसोमा अटो व्यवसायीले दुईपांग्रे र चारपांग्रे सवारीमा विभिन्न छुट र अफर योजना ल्याएका छन् । कोभिडका कारण गत वर्ष सुस्ताएको अटो व्यवसाय यस वर्ष भने उत्साहजनक रहेको व्यवसायी बताउँछन् । 

कम्पनीहरूका बिक्री कक्ष यति बेला सजिसजाउ छन् । छुट र नयाँनयाँ योजनाले ग्राहक लोभ्याइरहेका छन् । गत वर्षको तुलनामा यस वर्ष चारपांग्रे सवारीको माग बढी छ । ‘अघिल्लो दसैंमा कोभिडले व्यवसायीलाई गाह्रो पारेको थियो,’ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले भने, ‘अहिले जोखिम कायमै रहे पनि बजार बढेको छ । तर चारपांग्रे सवारीको मागअनुसारको आयात छैन ।’

गत वर्षको तुलनामा यो वर्ष व्यापार दोब्बर छ । त्यसमा पनि सबैभन्दा धेरै माग विद्युतीय सवारीको रहेको अध्यक्ष दुलालले जानकारी दिए । ‘५ सय वटा गाडीको माग हुँदा ५० वटाको मात्र आयात छ,’ उनले भने, ‘माग धेरै भयो, कोभिडका कारण भारतलगायत विदेशी मुलुकमा उत्पादन कम हुँदा आयात हुन सकेन ।’ अब विस्तारै उत्पादन बढ्दै जाने र अनुसार पनि बढ्ने उनको भनाइ छ । गत असार मसान्तसम्मको तथ्यांकअनुसार गत वर्षको तुलनामा आयात ७० प्रतिशत बढेको दुलालले जानकारी दिए ।

चारपांग्रे मात्र होइन, चाडबाडका बेला दुईपांग्रेको बजार पनि राम्रो छ । ‘दुईपांग्रे आयात पनि गत वर्षको तुलनामा करिब ८० प्रतिशत बढेको छ,’ उनले भने, ‘चाडबाडले बजार तातेको हो ।’ एक/दुई महिनामा थप उत्पादन बढ्ने उनले सुनाए । चाडपर्वको मौका पारेर विभिन्न अटो कम्पनीहरूले थरीथरीका छुट योजना ल्याएका छन् । दुईपांग्रेअन्तर्गत बजाज, टीभीएस, हिरो, सुजुकी र बेनेलीका मोटरसाइकल तथा स्कुटरमा छुट योजना राखिएको छ । त्यस्तै ड्याट्सन, हुन्डाई र ग्रेट वाल मोटर्सका गाडीमा दसैंतिहार लक्षित छुट तथा उपहार योजना अघि सारिएको छ ।

बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द्र एन्ड कम्पनीले ‘बजाज खुसीको ३ डोज’ योजना ल्याएको छ । टीभीएस दुईपांग्रे मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस छ प्राइजको सरप्राइज’ र हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले ‘हिरोको बेला हिरोको मेला’ अफर ल्याएको छ ।

सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बित्रेता भीजी अटोमोबाइल्सले ‘दसैं आयो, उमंग छायो, क्यासब्याका साथै बम्पर पायो’ र बेनेलीको आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले ‘थ्री एक डिस्काउन्ट फिएस्टा’ नामक उपहार तथा छुट योजना ल्याएका हुन् । कम्पनीका यी योजना छठसम्म लागू हुने जनाइएको छ ।

बजाजका मोटरसाइकल खरिद गर्नुअघि १० हजार रुपैयाँसम्मको अग्रिम नगद छुट पाउन सकिन्छ । मोटरसाइकल किन्दा एक लाख रुपैयाँसम्मको नगद छुट र बम्परमा १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म जित्न सक्ने अवसर राखिएको छ । हरेक दिन रियलमी सी २० स्मार्टफोनसमेत हात पार्न सक्ने कम्पनीले जनाएको छ । हिरोले भने आफ्ना मोटरसाइकल तथा स्कुटरमा फाइनान्सको सुविधा राखेको छ, जहाँ शून्य प्रतिशत ब्याजमा ५० प्रतिशत फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले बताएको छ । हिरो कम्पनीका मोटरसाइकल तथा स्कुटर खरिदमा ६ हजार रुपैयाँ र स्क्र्याच कार्डमार्फत १ लाख रुपैयाँसम्म नगद छुट पाइनेछ । बम्पर लक्की ड्रमार्फत एक जनाले एक लाख रुपैयाँ नगद उपहार पाउने कम्पनीले जनाएको छ ।

सुजुकीको मोटरसाइकल तथा स्कुटर खरिदमा एक वर्षका लागि सवारी कर, फाइनान्स र एक्सचेन्ज सुविधा छ । योजनाअनुसार सुजुकीका मोटरसाइकल तथा स्कुटर किन्दा १० हजार रुपैयाँ नगद छुट पाइनेछ । बेनेलीको मोटरसाइकल किन्नुअघि, किन्दा र किनेपछि तीन पटकसम्म छुट पाइन्छ । पहिलो ई–डिस्काउन्टअन्तर्गत मोटरसाइकल किन्नुअघि नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिनेछ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले जनाएको छ ।

चारपांग्रेतर्फ ड्याट्सनको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले ‘ड्याटसन फेस्टिभ हट डिल’, हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई फेस्टिझ डिलाइट २०७८’ र ग्रेटवाल मोटर्सको आधिकारिक बित्रेता भीजी इम्पेक्सले ‘चाडपर्वको उमंग ‘हेभल र पोयर चढी दंग’ योजना ल्याएका छन् ।

ड्याट्सन गाडी किन्दा २० लाख ४ हजार १ सय ५२ रुपैयाँ बराबरको विशेष छुट सुविधा, १ लाख २५ हजार रुपैयाँ नगद छुट र २७ हजार ९ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी नोट १० एस पाइन्छ । त्यस्तै एक वर्षको बिमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङ सुविधा उपलब्ध गराउने कम्पनीले बताएको छ । ड्याटसनको गाडीमा फाइनान्स र एक्सचेन्जको सुविधा पनि छ । हुन्डाई गाडीको खरिदमा लक्की ड्रमार्फत एक जनाले बम्पर उपहारमा नयाँ हुन्डाई आई २० गाडी, ३ लाख रुपैयाँसम्म थप नगद छुट र एक वर्षसम्मको बिमा निःशुल्क तथा सडक कर पाउने कम्पनीको भनाइ छ ।

ग्रेटवालले ल्याएको योजनाअनुसार दुई एसयूभी सवारी तेस्रो जेनेरेसनको हेभल एच ६ र हेभल जुलियनका साथै पोयर पिकअपमा ६ लाख रुपैयाँसम्मको फाइदा लिन सकिनेछ । यी सवारी खरिदमा एक वर्षको निःशुल्क सडक कर, विस्तृत बिमा र फाइनान्सको सुविधा रहेको कम्पनीले जनाएको छ ।

नेपालका लागि प्रोटोन सागाको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले पनि ‘दसैं दक्षिणा’ योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स ७० गाडी खरिदमा एक लाखदेखि ६ लाख रुपैयाँसम्मको अफरयुक्त ‘दक्षिणा’ पाउने कम्पनीले जनाएको छ । यसअन्तर्गत कुनै पनि ब्रान्डका पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरे ग्राहकले ५० हजारदेखि २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउने पनि कम्पनीको भनाइ छ ।

नाडा अटो सो फागुनमा

यसैबीच एसोसिएसनले यस वर्षको नाडा अटो सो आगामी फागुनमा गर्ने तयारी रहेको बताएको छ । आउँदो मंसिरमा हुने एसोसिएसनको साधारणसभाले यसबारे निर्णय गर्ने अध्यक्ष दुलालले जानकारी दिए । ‘कोभिडका कारण गतवर्ष अटो सो हुन सकेन,’ उनले भने, ‘अब भने कोभिडको अवस्था हेरेर अटो सो गर्नेछौं ।’

त्यसका लागि भृकुटीमण्डपस्थित प्रदर्शनी स्थल बुकिङ गरिसकिएको उनको भनाइ छ । अटो सोमा सहभागिताका लागि व्यवसायीलाई नाडाले रजिस्ट्रेसन खुलाइसकेको उनले बताए । नाडा अटो सो व्यवसायीका लागि आफ्ना उत्पादन प्रदर्शन र व्यवसायको प्रवर्द्धन गर्ने माध्यम हो ।

प्रकाशित : आश्विन १०, २०७८ ०७:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×