चेल्सीसँग सिटीको बदला- खेलकुद - कान्तिपुर समाचार

चेल्सीसँग सिटीको बदला

एएफपी

लन्डन — म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फाइनलमा बेहोरेको हारको बदला लिँदै चेल्सीविरुद्ध शनिबार स्टामफोर्ड ब्रिजमा १–० को जित निकाल्दै प्रिमियर लिगमा ३ अंक जोडेको छ ।
ग्याब्रियल जेससले प्रहार गरेको बल डिफ्लेक्ट हुँदै दोस्रो हाफको आठौं मिनेटमा भएको गोलले खेलमा दुई टिमबीचको फरक छुट्याइदियो । तर, यसअघि लगातार तीन जित निकालेको चेल्सीमाथि सिटीले योभन्दा सहज जित हात पार्न सक्थ्यो ।

गत सिजन सिटीको चेल्सीविरुद्ध सबैभन्दा पीडादायी हार पोर्टोमा भएको थियो । जसलाई अबुधाबीले सन् २००८ मा स्वामित्व लिएपछि पहिलोपल्ट च्याम्पियन्स लिगको उपाधि जित्नबाट वञ्चित गरिदिएको थियो ।

पछिल्लोपल्ट गत मेमा भएको भेटमा होल्डिङ मिडफिल्डरबिना टिमलाई उतार्ने पेप ग्वार्डिओलाको निर्णयको खुबै आलोचना भएको थियो । त्यो गल्तीलाई फेरि प्रतिस्पर्धामा फर्कंदा रोड्रीमार्फत् सुधार गर्ने प्रयास गर्दै ग्वार्डिओलाको टिम बल पोसेसनमा पूर्णतः हाबी भयो । तर, सिटीको यस्तो वर्चस्वमा पनि फेरि राम्रो गोलकर्ताको अभाव खड्कियो । ग्वार्डिओलाले चेल्सीका रोमेलु लुकाकु वा म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोजस्ता बक्स (पेनाल्टी क्षेत्र) मा खेलको निर्णय गर्न सक्ने हतियार नभएकामा शुक्रबार पश्चाताप गरेका थिए ।

तैपनि सिटीले राम्रो टिममा केभिन डी ब्रुयन, फिल फोडेन, ज्याक ग्रेलिस र बर्नार्डो सिल्भालाई पहिलो रोजाइमा राख्दै समग्रमा सबैलाई अवसर दिएर खेलाए । धैर्य भएको सिटी पहिलो हाफमै अग्रता नजिक पुगेको थियो । रोड्रीले गोलकिपर एडुवार्ड मेन्डीको परीक्षण गरे । तर, त्यसमा बेल्जियन डे ब्रुयनले बल बाहिर प्रहार गरिदिए । सर्जियो अग्युरो गएपछि उनको स्थानमा यो सिजन जेससलाई खेलाइएको छ ।

ब्राजिलियन खेलाडीले पहिलो हाफमै सिटीको सबैभन्दा राम्रो अवसर पाएका थिए । तर, सिल्भाको क्रसमा उनको प्रहार पोस्टभन्दा टाढा गयो । तर, जस्तोसुकै भए पनि सिटीको प्रदर्शन योग्य अग्रता दिलाउने काम जेससले ५३ औं मिनेटमा गरे । उनले प्रहार गरेको बल जोर्गिन्होसँग डिफ्लेक्ट हुँदै मेन्डीलाई उछिनेर गोलमा परिणत भयो । थोमस टचेल चेल्सीको प्रशिक्षक भएयता प्रिमियर लिगका २५ खेलमा उनको टिमले बेहोरेको १५ औं गोल हो त्यो ।

गोल स्कोररका लागि भन्दा पनि ग्रेलिसमाथि गत समरमा सिटीले १० करोड पाउन्ड लगानी गरेकोमा प्रश्न तेर्सियो । तर, मध्यान्तरपछि इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडीले एकपल्ट सनसनीपूर्ण प्रहार गरे, जसलाई मेन्डीले रोकिदिए । उनको अर्को उत्कृष्ट प्रदर्शनमा थियागो सिल्भाले बल गोललाइनबाट क्लियर गरिदिए । टचेलले पोर्टोको एकमात्र गोलकर्ता काई हार्भटेजलाई उतारे पनि उनी लुकाकुसँग सहकार्य गर्दा अफसाइड भइदिए । सिटीले निरन्तर अवसर सिर्जना गर्‍यो । यस्तो फेरि एकपल्ट ग्रेलिसलाई मेन्डीले असफल पारिदिए ।

सिटीलाई अर्को फाइदा के पनि भयो भने म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाले १–० ले स्तब्ध पार्‍यो । ग्वार्डिओलाको टिमले चेल्सी, युनाइटेड र शीर्षस्थानको लिभरपुलसँग समान १३ अंक बनायो ।

प्रकाशित : आश्विन १०, २०७८ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस अधिवेशन : कतै निर्विरोध, कतै मतदान

प्रदेश ब्युरो

हेटौंडा — नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत वाग्मती प्रदेशका केही पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । केही पालिकामा आइतबार मतदानको तयारी छ, कतै विवादका कारण स्थगित भएको छ ।

शनिबार काभ्रेको नमोबुद्ध, पनौती, पाँचखाल नगरपालिका र रोशी, चौरीदेउराली, खानीखोला र भुम्लु गाउँपालिकामा कांग्रेस गाउ–नगर समितिमा सर्वसम्मत नेतृत्व चयन भएको हो । नमोबुद्धमा कुन्साङ लामा, पनौतीमा रामशरण भण्डारी, पाँचखालमा सञ्जय तामाङ र रोशीमा दुधराज तामाङ, भुम्लुमा दावा लामा चौरीदेउरालीमा शेरबहादुर तामाङ, खानीखोलामा दोर्जेमान जिम्बा सर्वसम्मत चयन भएका हुन् । बनेपा, धुलिखेल र मण्डनदेउपुर नगरपालिका, बेथानचोक, तेमाल गाउँपालिकामा निर्वाचन भए पनि अबेरसम्म परिणाम आइसकेको छैन । विवादका कारण महाभारत गाउँपालिकामा प्रक्रिया अघि बढ्न सकेको छैन ।

चितवनका सातवटै पालिकामा नया कार्यसमिति चयनका लागि मतदान हुने भएको छ । भरतपुर महानगरका मतदान अधिकृत श्रीराम दवाडीले सभापति पदका लागि पाँच जनाको उम्मेदवारी परेको बताए । वर्तमान सभापति भरत अधिकारीसहित चित्रसेन अधिकारी, हिरामणि अधिकारी, बच्चन कार्की र अर्जुन रिजालले उम्मेदवारी दर्ता गरेका छन् । भरतपुरमा १५२ जनाको कार्यसमिति निर्वाचित हुनेछन् । आइतबार मतदान हुने दवाडीले बताए । जिल्ला मतदान अधिकृत कोमल मोहन पोख्रेलका अनुसार रत्ननगर नगरपालिका र इच्छाकामाना गाउँपालिकामा पनि आइतबार नै मतदान हुने भएको छ । यीबाहेक अरु पालिकामा शनिबार साँझसम्म मतदान सकिएको उनले जानकारी दिए ।

मकवानपुरमा ४ वटा गाउपालिकाको अधिवेशन शनिबार सकिएको छ । इन्द्रसरोबर गाउँपालिकाको सभापतिमा विश्व लामा सर्वसम्मत भएका छन् । बकैया गाउँपालिका सभापतिमा दिलबहादुर भोम्जन, मनहरीमा प्रकाश बर्तौला र भीमफेदीको सभापतिमा सञ्जिव श्रेष्ठ विजयी भएका छन् । मकवानपुरमा १० पालिका छन् । तीमध्ये कतै मतदान भइरहेको छ भने हेटौंडा उपमहानगरमा उम्मेदवारी दिने काम सकिएको छ ।

सिन्धुलीको सुनकोसी गाउँपालिकामा चन्द्र श्रेष्ठ सर्वसम्मत सभापति चुनिएका छन् । कमलामाई र दुधौली नगरपालिकाको सभापतिमा ७ जना युवा आकांक्षीले उम्मेदवारी दर्ता गराएका छन् । नगर सभापतिलाई स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको प्रत्याशीका रूपमा हेरिन्छ । सिन्धुलीका ७ गाउँपालिकामध्ये हरिहरपुरगढी, मरिण, घ्याङलेख, गोलन्जोर, फिक्कल, र तीनपाटन गरी ६ वटा गाउँपालिकामा पनि सभापतिलगायत पदका लागि उम्मेदवारी परेको छ । निर्वाचन समितिका प्रमुख लेखतबहादुर खड्काका अनुसार सर्वसम्मत हुन नसकेको पालिकामा सहमतिअनुसार आइतबार बिहानबाट मतदान प्रारम्भ हुनेछ ।

नुवाकोटको किस्पाङमा रणबहादुर तामाङ र लिखुमा विनोद पाठक सभापतिमा सर्वसम्मत चयन भएका छन् । अन्य गाउँपालिका र नगरमा मतदान गरिएको छ । बेलकोटगढी नगरपालिका ४ मा विवादका कारण वडा अधिवेशन नै हुन सकेको छैन । सिन्धुपाल्चोकमा केन्द्रीय निर्वाचन समितिले तोकेको मितिमा जिल्लाका तीन वडामा अधिवेशन गर्न नसक्दा अन्योल बढेको छ । शुक्रबार जिल्ला निर्वाचन कार्यालयले पालिकाको अधिवेशन स्थगित भएको सूचना जारी गरेको थियो ।

दोलखाका ८ वटा पालिकामा सहमतिमा सभापति चयन भए पनि कालिञ्चोक गाउँपालिकामा विवादका कारण शनिबार निर्वाचन हुन सकेन । ९ वटा स्थानीय तहमध्ये शनिबार ३ वटामा निर्वाचन तय भएको थियो । त्यसमध्ये जिरी नगरपालिका र मेलुङ गाउँपालिकामा पालिकाको सभापति सहमतिमा टुंग्याइएको छ । कालिञ्चोक गाउँपालिकामा भने संस्थापन र इतरपक्षको विवादका कारण अधिवेशन हुन सकेन । सहमति हुन नसकेपछि अधिवेशन स्थगित भएको निर्वाचन समितका संयोजक गोविन्द मानन्धरले वताए । सहमति नजुटे आइतबार निर्वाचन गरिने उनले बताए । ६ वटा पालिकामा भने भदौं २७ गते नै सहमति गरेर अधिवेशन गरिएको थियो । रसुवामा विवादका कारण कुनै पनि पालिकाको अधिवेशन हुन सकेको छैन ।

–नगेन्द्र अधिकारी (काभ्रे), रमेशकुमार पौडेल (चितवन), सुवास विडारी (मकवानपुर), राजकुमार कार्की (सिन्धुली), कृष्ण थापा (नुवाकोट), अनिश तिवारी (सिन्धुपाल्चोक) र केदार शिवाकोटी (दोलखा)

प्रकाशित : आश्विन १०, २०७८ ०७:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×