अफ्रिदीसँग आशा, चम्किए बर्ल

ललितपुर प्याट्रियट्सको ब्याटिङको अन्तिम ओभरमा शाहिद अफ्रिदीले लङअफमा नारायण जोशीको क्याच लिएका थिए, विकेट भने लिएनन्
विनोद पाण्डे

काठमाडौँ — प्रायः सबैको नजर काठमाडौं किंग्स इलेभेनका शाहिद अफ्रिदीमा थियो । उनी बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा शनिबार साबिक विजेता ललितपुर प्याट्रियट्सविरुद्ध उत्रिएका थिए । नेपालमा आएर खेल्ने खेलाडी सूचीमा पाकिस्तानी भेट्रान अलराउन्डर अफ्रिदी सबैभन्दा ठूलो नाम थिए ।

अफ्रिदीसँग आशा, चम्किए बर्ल

त्यसैले हुनसक्छ उनको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बाक्लै दर्शक उपस्थित थिए । ‘बुम बुम अफ्रिदी’ भन्दै दर्शक चिच्याइरहे । बलिङ त गरे, त्यो उनले नै सम्झने खालको थिएन । उनले ४ ओभरमा ३२ रन खर्चेका थिए, बदलामा कुनै विकेट थिएन ।

ललितपुरको ब्याटिङको अन्तिम ओभरमा उनले लङअफमा नारायण जोशीको क्याच लिन पुगे । ब्याटिङमा मौका नै नआएकाले अफ्रिदी खाली हात भएनन् । खेलपछि उनी जालीबाहिर रहेका दर्शकसँग ‘हाइ फाइभ’ गरिरहेका थिए । काठमाडौं किंग्सले ललितपुरविरुद्ध ७ विकेटको विजय हात पार्दा अफ्रिदीको प्रत्यक्ष खासै ठूलो भूमिका नदेखिए पनि दर्शक उनको उपस्थितिमै दंग थिए ।


‘स्पिनरका लागि आज त्यति सजिलो थिएन, बल ग्रिप गर्न गाह्रो परिरहेको थियो,’ ४ ओभरमा ४४ रन खर्चेका काठमाडौं किंग्सका कप्तान सन्दीप लामिछानेले आफ्नो र अफ्रिदीको बचाउ गर्दै भने, ‘मैले विकेट नलिए पनि मेरो टिमले जितेको छ, मेरो प्राथमिकता पनि यही हो । अफ्रिदी टिममै हुँदा मात्र पनि ठूलो फरक पर्छ । उनले क्रिकेट मैदानमा यत्रो वर्ष बिताएका छन्, त्यो अनुभव नै हामीले पाउँदा फरक परिहाल्छ ।’


चम्किए गुरबाज र बर्ल

अफ्रिदी नचम्किए पनि काठमाडौं किंग्सका अर्का दुई विदेशी खेलाडी रहमानुल्लाह गुरबाज र रायन बर्लले आक्रामक इनिङ्स खेले । अफगानिस्तानका गुरबाजले ३६ बलमा ५९ र र जिम्बावेका बर्लले ३४ बलमा अविजित ७३ रन बनाएपछि काठमाडौं किंग्सले १ सय ५८ रनको लक्ष्य सजिलै १५ ओभरभित्र १ सय ६० रन बनाउँदै पूरा गर्‍यो । बर्लले ३ चौका र ७ छक्का प्रहार गरी अविजित रहे । अर्का अविजित ब्याटर राजु रिजालले १३ बलमा २ चौकासहित १९ रन बनाए । सुवास खकुरेल आफूले सामना गरेको पहिलो

बल र अमित श्रेष्ठ ४ रनमा रनआउट भए पनि गुरबाज र बर्ल ललितपुरका बलरमाथि हाबी भएर तेस्रो विकेटमा ७६ रनको साझेदारी गरे । गुरबाजले ४ चौका र ४ छक्का प्रहार गरे । उनलाई पवन सर्राफले स्टम्पआउट गराए ।

टिमलाई राम्रोसँग संगठित गरेका कप्तान सन्दीपलाई धन्यवाद दिँदै बर्लले आफ्नो इनिङ्सबारेमा भने, ‘जब मैले देब्रेहाते बलर देखें, स्ट्राइकमा रहेका साथीलाई मलाई स्ट्राइक दिन भने । कहिले यो सफल हुन्छ, कहिल्यै हुँदैन, आज भयो ।’ दर्शकको समर्थनले पनि आफूहरूलाई राम्रो खेल्न उर्जा दिएको उनले सुनाए ।


घरेलु क्रिकेटका सर्वाधिक सफल बलर देव्रेहाते ललित राजवंशीलाई २७ वर्षे बर्लले १२ औं ओभरमा ४ छक्का र १ चौका प्रहार गरे । काठमाडौं किंग्सको पाँचौं ओभरमा गुरबाजले ललितलाई तीन छक्का प्रहार गरेका थिए । ललितले २ ओभरमै ४८ रन खर्चन पुगे । गुरबाजले २४ बलमा र बर्लले २७ बलमा अर्धशतक पूरा गरेका थिए । गुरबाजले दुईपल्ट जीवनदान पाए । ५३ र ५५ रनमा छँदा उनको क्याच योगेन्द्रसिंह कार्कीले छाड्न पुगे । दुवै पटक अभागी बलर साबित भए पवन ।

बर्लले राजु रिजालसँग चौथो विकेटमा २५ बलमै अविजित ७२ रनको साझेदारी गरे । राजुले १३ बलमा २ चौकासहित अविजित १९ रन बनाए । ‘टसको क्रममै मैले १ सय ५० छेउछाउको स्कोर पछ्याउन सकिन्छ भनेको थिएँ, किनभने हामीले यो विकेटमा खेल्दै पनि आएका छौं,’ ईपीएलमा पहिलो पटक कप्तानी गरिरहेका सन्दीपले भने, ‘राजुले पनि स्ट्राइक दिँदै राम्रो खेले ।’

जितेन्द्रको बल र पवनको ब्याट

यसअघि पवन सर्राफको अर्धशतकमा टस हारेर ब्याटिङमा आएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाई रन १ सय ५७ बनाएको थियो । जितेन्द्र मुखियाले पहिलो ओभरमै २ विकेट लिएको स्थितिमा सम्भवतः ललितपुरले यो स्कोर कल्पना गरेको थिएन ।

४० बलमा अर्धशतक बनाएका पवनले कुल ४४ बल खेल्दै ५ चौका र चार छक्का प्रहार गर्दै ६१ रन बनाए । ललितपुरको सुरुआत निकै दयनीय भएको थियो । जितेन्द्रले पहिलो बलमै ललितपुरका कप्तान कुशल भुर्तेललाई आउट गरेका थिए भने ओभरको अन्तिम बलमा सेन्डोन विराकोडीलाई २ रनमा आउट गरी काठमाडौंलाई निकै उत्कृष्ट सुरुआत दिलाए । कुशलले लेग स्टम्पतिर गएको बल हावामा उडाउन पुगेका थिए ।


शंकर रानाले २७ बलमा १४ रनमात्र बनाए पनि उनले पवनलाई राम्रो साथ दिए । पवनले त्यसपछि योगेन्द्रसिंह कार्कीसँग अर्को राम्रो साझेदारी गरे । योगेन्द्रले २० बलमा तीन छक्कासहित ३३ रन बनाए । पवन र योगेन्द्रलाई बर्लले लगातार बलमा आउट गरे । राशिद खान १ रनमै आउट भए । ईपीएल खेल्ने पहिलो भुटानी खेलाडी बनेका मिक्यो दोर्जी १३ बलमा १ चौका र १ छक्का प्रहार गरी १७ रन बनाई अविजित रहे । नारायण जोशी ४ बलमा १२ रन बनाई अन्तिम ओभरमा आउट भए । जितेन्द्रले ४ ओभरमा १८ रनमात्र खर्चेर ४ विकेट लिए । बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए ।

आफ्नो टोलीले सोचेभन्दा २०–३० रन कम बनाएको कुशलले बताए । ‘हाम्रो टिममा बलिङ राम्रै छ, तर आज केही मिलेन, सोचेजस्तो बलिङ भएन । ललितपुर साबिक विजेता हो, फाइनल खेल्ने नै अपेक्षा गरेका छौं, पहिलो खेल हारे पनि हामीसँग चार खेल बाँकी छ, त्यसमा राम्रो खेल्ने प्रयास गर्नेछौं,’ नियमित कप्तान ज्ञानेन्द्र मल्लले अन्तिम समयमा ईपीएल नखेल्ने निर्णय गरेपछि टिमको नेतृत्व गरिरहेका कुशलले भने ।

प्रकाशित : आश्विन १०, २०७८ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?